पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान

बयान फेर्नेमाथि यस्तो छ सजायको व्यवस्था

0Shares

४ वैशाख, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् ।

प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् ।

तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् । शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले पीडित उनकै बयानलाई आधार मानेको थियो ।

‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको थियो ।

जिल्ला अदालत, तनहुँमा आइतबार साँझसम्म पनि जाहेरीकर्ता र पीडितको बकपत्र लिने क्रम चलिरहेको छ । ‘आइतबार पीडितको बकपत्र भयो, यसमा उनलाई प्रलोभन दिइएको देखिएको छ’ अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘उनको अहिलेको बयानलाई मात्र अन्तिम सत्य मान्नु हुँदैन, अदालतले पीडितलाई कसरी संरक्षण गर्छ भन्ने त्यो ठूलो कुरा हो ।’

उनले बलात्कारका थुप्रै घटनामा नाबालिका होस्टाइल भएको धेरै उदाहरणहरु रहेको बताउँदै भनिन्, ‘पीडितको मनोवैज्ञानिक पक्षसँग खेलबाड गरेर वा विभिन्न सपना देखाएर होस्टाइल बनाउने प्रयास हुन्छ, यस्तो कुरालाई अदालतले पनि विचार पुर्‍याउँछ ।’

पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, उनले दिएको भिडियो बयान जस्तो कुरालाई पनि अदालतले आधार बनाउने हुँदा उनको बयान फेरिँदैमा मुद्दामा धेरै असर नहुने उनी बताउँछिन् ।

जबरजस्ती करणी मुद्दामा पीडितले अदालतमा बयान फेरेको अवस्थामा आरोपी निर्दोष ठहर हुने सम्भावना बलियो हुन्छ । यद्यपि, अदालतले पीडितको बकपत्रकै आधारमा मात्रै फैसला गर्छ भन्ने होइन । यो घटनामा पीडित नाबालिग भएकाले उनको बयानभन्दा जाहेरीकर्ता उनका बुवाको बयान महत्त्वपूर्ण हुन्छ । यदि बुवाले पनि बयान फेरेमा अदालतले उनैलाई सजाय सुनाउन सक्ने कानूनी व्यवस्था छ ।

नेपालको कानून बमोजिम बलात्कारको मुद्दामा जाहेरीकर्ताले बयान फेरेमा आरोपीलाई माग गरिएको न्यूनतम सजायको आधा सजाय हुन्छ । गत चैत २२ गते राजपत्रमा प्रकाशित यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा भनिएको छ, ‘जबरजस्ती करणी सम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबरजस्ती करणी सम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय हुने छ ।’

जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो । यस आधारमा यदि जाहेरीकर्तालाई ६ देखि ७ वर्ष सजाय हुनसक्छ । तर, यो सजाय नाबालिग गायिकालाई दिइने छ वा उनको बुवालाई भन्ने चाहिँ अदालतको तजबिजमा भर पर्ने देखिन्छ ।

एक प्रहरी अधिकृत भन्छन्, ‘नाबालिगले यसअघि प्रहरी र सरकारी वकिलसँग आफूमाथि बलात्कार भएको भनेर बयान दिएको हुँदा उनीमाथि पनि सजाय हुन सक्छ । साथै, जाहेरीकर्ता बुवामाथि पनि ।’

नाबालिग गायिकाको उमेर १७ वर्ष भनिएको छ । नेपालको कानून अनुसार १६ वर्षदेखि १८ वर्षको व्यक्तिले कुनै कसुर गरेमा उसलाई उमेर पुगेको व्यक्तिलाई हुन सक्ने सजायको दुई तिहाइ सजाय हुन सक्छ । १४ वर्षको उमेरसम्मको नाबालिगलाई सुधार गृह राख्न सकिने विकल्प भए पनि १६ वर्षमाथिका लागि यो विकल्प छैन । त्यसैले गायिकामाथि ६ वर्षको दुई तिहाइ अर्थात् ४ वर्षसम्म सजाय हुन सक्ने ती अधिकृतको तर्क छ ।

0Shares
Advertisment