औषधि उत्पादन परोपकारी व्यवसाय : राष्ट्रपति भण्डारी

0Shares

चितवन, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादन परोपकारी व्यवसाय भएको बताउनु भएको छ । नेपाल फर्मा एक्स्पो २०२२ को आज शुक्रबार भरतपुरमा उद्घाटन गर्दै उहाँले जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताउनु भएको हो ।

औषधिजन्य उत्पादनले बहुआयामित प्रभाव पारेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पु-याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ ।”

सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको उहाँले बताउनुभयो । कोभिड १९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन, वितरण प्रणालीलाई ठूलो चुनौती दिएको उहाँले बताउनुभयो ।

विश्वव्यापीकरणको प्रक्रिया तीब्र बनिरहेको वर्तमान परिस्थितिमा महामारी रोगको नियन्त्रण एवं उपचारमा एउटा देशको प्रयास मात्रै पर्याप्त नहुने राष्ट्रपतित भण्डारीको भनाई छ । उहाँले भन्नुभयो “ रोगको उपचार र नियन्त्रणका लागि मुलुकहरुबीच आपसी सहयोग र सहकार्यको आवश्यक भए जस्तै औषधि उत्पादनको क्षेत्रमा पनि राष्ट्रहरुबीच पारस्परिक सहयोग अभिबृद्धि हुनु पर्दछ ।” समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधारको विकासको प्रयास औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनु पर्ने टड्कारो आवश्यकता रहेको उहाँले बताउनुभयो ।

औषधि तथा स्वास्थ्य सामग्रीको समतामूलक वितरणका लागि स्थानीय उत्पादनलाई बढावा दिनु पर्ने खाँचो रहेको आफूले महसस गरेको भन्दै उहाँले भन्नुभयो “जीवनशैलीमा आएको परिवर्तन शुद्ध र स्वस्थ खानाको अभाव तथा बढ्दो प्रदुषणका कारण नसर्ने रोगहरुले ठूलो जनसंख्यालाई प्रभावित गर्दै लगेकाले पनि औषधि विज्ञानका क्षेत्रमा लगानी आवश्यक देखिएको छ ।” यस प्रकारका प्रदर्शनीहरुले त्यसतर्फ अगाडि बढ्न राज्य, निजी क्षेत्र र समुदायलाई प्रेरणा प्रदान गर्ने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको भन्दै उहाँले स्वास्थ्य सामग्री र औषधिको आवश्यकता अत्याधिक हुँदै जाँदा आयात बृद्धि भई मुलुकको व्यापार घाटामा थप चाप परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान स्वदेशमा भएका जडिबुटीहरुको व्यवसायिक खेती गरी कतिपय औषधिका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरी आयात प्रतिस्थापन गर्न सकिन्छ ।”

निजी क्षेत्रको ठूलो लगानी सहितको औषधि उत्पादनमा आत्मनिर्भर बन्ने संकल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पु¥याउनु पर्ने उहाँको भनाई थियो । औषधि उत्पादनका क्षेत्रमा विश्वभरी निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भईरहेको भन्दै उहाँले विज्ञान र प्रविधिको गतिसँगै आफूलाई अध्यावधिक राख्न सकेमा मात्रै हाम्रो उद्योगहरुको प्रतिस्पर्धी क्षमता सृदृढ हुने बताउनुभयो ।

मुलुकमा औषधि उद्योगको विकासबाट वर्षेनी हजारौंको संख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी उपलब्ध हुने र प्रतिभा पलायनको समस्या न्यूनिकरण गर्न सकिने उहाँको भनाई छ । अन्य उद्योगहरुको सापेक्षमतामा औषधि उद्योगको सामाजिक, प्राविधिक एवं राष्ट्रिय दायित्व बहुआयामिक र संवेदनशील हुने भन्दै उहाँले यसै यथार्थतालाई मनन गरी औषधि उत्पादन तथा औषधि आयात निर्यात सम्बन्धी नीति एवं कानुनहरुमा समय अनुकूल सुधारलाई आत्मसात गर्न सम्बन्धित निकाय सक्षम हुने आफूले विश्वास लिएको बताउनुभयो ।

नेपाली औषधि उत्पादकहरुले विभिन्न प्रकारका चुनौतीहरुको सामना गर्दै आएको भन्दै उहाँले भन्नुभयो “समग्र उपभोग मध्ये आधा औषधि स्वदेशमै उत्पादन गरिरहेको र हालैका वर्षहरुमा नेपाली औषधिको निर्यात समेत हुन थालेको जानकारी पाउँदा मलाई असाध्य खुशी लागेको छ ।”

कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि उद्योगलाइ प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हाल नेपालमा कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भइरहेको छ । जसको मुख्य कारण औषधि उद्योगमैत्री नीति नहुनु हो ।”

संघका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाली औषधि थोरै भएपनि निर्यात हुन थालेको भन्दै यसले नेपाल औषधिमा आत्मनिर्भरताको बाटोमा हिड्न थालेको बताउनुभयो । उहाँले नेपालमा ५० प्रतिशत बजार भारतले, ४५ नेपालले र ५ प्रतिशत अन्य देशले धानेको जानकारी दिनुभयो ।

संघका निवर्तमान अध्यक्ष जि नारायण छेत्रीले नेपाल पनि औषधि उद्योगको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउँदै औषधिमा आत्मनिर्भर हुन धेरै लबिङ गरेको भएपनी सफल हुन नसकेको बताउनुभयो । कोरोना कालमा भारतले औषधि निर्यातमा निषेध गरेको भन्दै त्यो बेला पनि नेपाली उद्योगले धानेको बताउनुभयो । उहाँले नेपाली औषधि पनि अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कार्कीले औषधि व्यवस्था विभागले औषधि उद्योगमा सहजताका लागी काम गर्नुपर्ने बताउनुभयो । विभागको कार्यक्षेत्र र क्षमता बढाउनुपर्ने उहाँले जोड थियो ।

नेपाल उधोग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उधोग व्यवसाय क्षेत्रमा ठुलो घाटा ब्यहोरेको अवस्थामा औषधि उद्योगमैत्री नीति तर्जुमा गर्नुपर्ने बताउनुभयो । कोरोनाले उत्पादन बढाउनुपर्छ भन्ने कुरा सिकाएको भन्दै उहाँले औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको बताउनुभयो । एक्स्पोकै क्रममा पुर्वअध्यक्षहरु प्रदिपमान वैद्य, प्रदिपजजङ्ग पाण्डे, महेष गोर्खाली, उमेशलाल श्रेष्ठ, संकर घिमिरे, दिपक प्रसाद दाहाल र जी नारायण क्षेत्रीलाई सम्मान गरिएको छ । एक्स्पो वैशाख ११ गतेसम्म संचालन हुनेछ ।

 

0Shares
Advertisment