काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।
निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रूपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० रूपैयाँ घटाएको छ। मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रूपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७२ रूपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ७० रूपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि निगमको नाफा दुई अर्ब भन्दा माथि छ। तर विगतमा भएको नोक्सानी घटाउन निगमले मूल्य नघटाइ बसेको थियो। निगमले इन्डियन आयल कर्पोरेशनलाई १६ अर्ब रूपैयाँ भन्दा बढी तिर्न बाँकी छ।



