आफ्नै साथीको सून चोरेर बैङ्कमा धितो राखी ॠण

0Shares

पोखरा । लमजुङको बेँसीसहर नगरपालिका- ७ क्याम्पस रोडमा रहेको जमुना रिमालको घरबाट गत वैशाख २५ गते सुनका गरगहना चोरी भयो । उनीहरूले प्रहरीलाई तत्काल खबर गरेनन् ।

‘साँचो पनि केही भएको छैन, घरकै या नजिकैकाले लगेका होलान्, फिर्ता गर्छन् भनेर उहाँहरू (परिवार) त्यतिबेला प्रहरीमा उजुरी दिन आउनुभएन,’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भने ।

पुनः गत साउन ३० गते सोही वडाको न्यू इरा बोर्डिङ स्कुलनजिकै बालकुमारी घिमिरेको घरबाट गरगहना चोरी भयो । बालकुमारीको परिवारले तत्कालै प्रहरीमा निवेदन दिए । त्यसपछि गत वैशाख २५ मा भएको र साउन ३० गते भएको चोरी एउटै प्रकृतिको भएको थाहा भयो । सबैतिर हल्ला फैलियो । त्यसपछि जमुनाले साथी सुजा घिमिरेसँग कुरा गरिन् ।

सुजाले काम गर्ने गैरसरकारी संस्थाको कार्यालय जमुनाको घरमा थियो । त्यसकारण जमुना र सुजा साथीसाथी थिए । सुजाले पनि आफ्नो साढे २ तोला सुन हराएको भनेपछि उनीहरू दुवैजना भदौ १ गते प्रहरीमा चोरीको निवेदन दिए ।

प्रहरीले एउटै प्रकृतिको घटना भएको भन्दै दुवै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्‍यो । अनुसन्धानका क्रममा दुई घटनामा सुजाको कनेक्सन रहेको पत्ता प्रहरीले लगायो । जमुना र बालकुमारीको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी भएको थियो । सुजा बालकुमारीकी छोरीको साथी पनि हुन् । सुजा बालकुमारीको घरमा जाउजाउ गर्थिन् । त्यसपछि प्रहरीले सुजामाथि अनुसन्धान घेरा बढायो ।

‘सुजामाथि टेक्निकल्लि अनुसन्धान गर्‍यौं । कल डिटेल निकाल्नेदेखि लिएर एकाउन्ट डिटेल र सुन कारोबारहरू सबै हेर्‍यौं’ इन्स्पेक्टर सुवेदीले भने, ‘सुनसँग सम्बन्धित विभिन्न कारोबार गरेको र लमजुङको अरु पसलहरूमा पनि सुनको अधिकतम कारोबार गरेको देखिएपछि सुजालाई पक्राउ गरिएको हो ।’

उनले चोरी गरेको सुन नेपाल बैंक लिमिटेडमा राखेर १ लाख ८० हजार गोल्ड लोन लिएकी थिइन् ।

‘गोल्ड लोन भनेर ऋण लिएको थाहा भयो । करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएको पाइयो । त्यो सुन हेर्दा चोरी गरेको सुन भेटिएको छ,’ प्रहरी निरीक्षक सुवेदीले भने ।

कुनै बिलबिना नै बैंकले उक्त सुन धितो राखेर ऋण दिएको पाइएको प्रहरीको भनाइ छ ।

‘सुन परिवर्तन हुने पनि होइन, जस्ताको त्यस्तै हुन्छ । सुन राख्दा तिन पुस्ते विवरण राखिने रहेछ, ऋण लिँदा चाहीँ बिल नहेर्नुहुने रहेछ । धितो राख्ने कुनै पनि सुन बिल नखोज्ने गरेको उहाँहरू (बैंकर) ले भन्नुभएको छ,’ उनले भने ।

पक्राउपछि सुजाको घरमा खानतलासी गर्दासमेत चोरीको गहना फेला परेको सुवेदीले सुनाए ।

उनले भने, ‘पक्राउ गरिसकेपछि पनि हामीले सुजाको घरमा खानतलासी गर्‍यौं । खानतलासी गर्दा साउन ३० गते चोरी भएको बालकुमारी म्याडमको सुन पनि फेला पर्‍यो ।’

अहिले सुजालाई लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares
Advertisment