काठमाडौं । गैरआवासीय नेपालीको एकल लगानी रहेको होटल कैलाशकुटी औपचारिकरुपमा सञ्चालनमा आएको जानकारी दिइएको छ । मंगलबार आयोजित औपचारिक समारोहमा कैलाशकुटी होटलको विशेषतासहित ‘ग्राण्ड ओपनिङ’ भएको हो ।
ठमेलको चाक्सीबारी रोडमा अवस्थित होटल कैलाशकुटी विदेशी र आन्तरिक दुवैखाले पर्यटकलाई लक्षित गरेर सन्चालनमा ल्याएको लगानीकर्ता गैरआवासीय नेपाली राजेश पाण्डेले जानकारी दिए ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य रामशरण थपलिया, पशुपतिदेव पाण्डे, सांसद गणेश पराजुली, संविधान सभा सदस्य जगदिश नरसिंह केसीलगायतले शुभकामना दिएका थिए ।

पाण्डेले भने- यो नेपालको पर्यटन विकासमा टेवा पुगोस् र गैरआवासीय नेपालीको लगानी नेपालमा फस्टाउन सक्छ भन्ने उद्देश्यले मैले टेकओभर लिएको हुँ । नेपालीले विदेशमा सिकेको सिपमात्र होइन आर्जन गरेको सम्पत्ति पनि आफ्नै देशमा ल्याएर उहाँको अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ कि भन्ने सोचेर मैले कैलाशकुटी खरिद गरेर नयाँ ढंगले सन्चालन गर्दैछु । मध्यमवर्गका विदेशी र आन्तरिक पर्यटकलाई लक्षित गरेर हामीले कैलाशकुटीलाई विकास गरेका छौं ।
कैलाशकुटी होटल थ्रीस्टार स्तरको रहेको छ । मर्स्याङ्दी होटलका सामुन्नेमा अवस्थित होटल कैलाशकुटीको साजसज्जा र सुविधा भने आकर्षक रहेको छ ।