भोलिपल्ट घरमुनि खोल्सीमा ठूला दाइले भेटे। ती किशोर घर फर्किन मानेनन्। एकोहोरो अघिअघि हिँडे, पछिपछि दाइ।
एक ठाउँमा पुगेपछि दाइलाई भने, ‘म यहीँ बस्छु, तपाईं जानू।’
भोलिपल्ट जंगलभित्र एउटा पिपलको रूखमुनि उनी तपस्यारत भेटिए। त्यसअघि उनको तपस्या र ध्यानको खासै पृष्ठभूमि छैन। भारतको देहरादुनमा लामा पढ्न गएका उनी पढाइ नसकी फर्किएका थिए।
तिनै किशोर हुन्, रामबहादुर बमजन।
रतनपुरी जंगलमा ‘तपस्वी’ लाई हेर्न मानिसहरू आउन थाले। विस्तारै घुइँचो बढ्यो। स्थानीय मिडियाले समाचार लेखे। राष्ट्रिय मिडियाले लेखे। आगन्तुकको घुइँचो झनै बढ्यो। धुपबत्ती, खादा, ध्वजा र झन्डाहरूको खात लाग्न थाल्यो। कतिपयले नजिकै फूलगुच्छा, अगरबत्ती र खादाहरूको पसलै खोले। होटल खोले। सुनसान जंगल एकाएक गुल्जार भयो।
बमजन रतनपुरीमा १० महिना बसे। कति तपस्या बसे, कति निराहार बसे, त्यो विवादास्पद नै छ। त्यहाँ उनलाई सघाउने भित्री ‘सर्कल’ मा परिवारका सदस्य मात्र थिए- जेठा दाइ, भाइहरू र मामाका छोरा। यथार्थ उनीहरूले मात्र भन्न सक्छन्।
त्यो बेला रतनपुरीमा सँगै बसेका एक चेला बमजन १० महिना निराहारै ध्यानमा बसेको दाबी गर्छन्। यसमा अविश्वास गर्नेको कमी छैन। त्यति लामो समय नखाई तपस्या बसेका बमजन हृष्टपुष्ट नै देखिन्थे। त्यसैले धेरैले शंका गरे।
बमजन नखाई तपस्या बसेका हुन् वा होइनन् भनी निर्क्यौल गर्न जाँच्ने कुरा आयो। डाक्टरको टोली तयार भयो। तर, उनले परीक्षणका लागि चाहिने रगत नमूना दिन मानेनन्।
यसले धेरैलाई उनको तपस्यामाथि शंका भयो। शंका गर्नेमध्ये एक हुन्, सर्लाही, बाग्मती नगरपालिका वडा नम्बर १ का अध्यक्ष गम्भीरसिंह पाख्रिन।
‘उसले सत्य बोलेको थियो भने परीक्षण गरेर के बिग्रिन्थ्यो?’ पाख्रिनले भने, ‘मलाई पहिल्यैदेखि शंका थियो। त्यो दिनबाट त बमजनमाथिको विश्वास पूरै हट्यो।’
बमजनमाथि शंका गर्नेहरू थोरै भए। उनलाई विश्वास गर्ने, उनको दर्शन गर्ने धेरै। देश-विदेशका दर्शनार्थीको घुइँचो बढ्दै गयो। शंका गर्नेहरू विस्तारै पाखा लागे। चुप बसे।
विश्वास गर्ने कतिले उनलाई भगवान मान्न थाले, कतिले बुद्ध।
दिनानुदिन मान्छेको मेला लाग्न थालेपछि बमजनले ‘भिड धेरै भयो, हल्ला भयो, मलाई शान्ति चाहियो’ भने।
रतनपुरीमा बसेको करिब १० महिनापछि उनी २०६३ फागुन अन्तिम साता तपस्या बसेको ठाउँबाट एकाएक हराए।
‘बुद्ध’ हराएको कुरा आगोसरि फैलियो।
त्यसले राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान तान्यो। केही दिनपछि उनी नजिकैको हलखोरिया जंगलमा भेटिए।
बेलायती समाचार संस्था बिबिसीले उनको ‘स्टोरी’ गर्यो। प्रतिष्ठित डिस्कभरी च्यानलले ‘बुद्ध ब्वाइ’ भनेर बमजनमाथि वृत्तचित्र नै बनायो। उनी तपस्या गरेर, हलचल नगरी ७२ घन्टा एकैठाँउ बसेको भिडियो आफूले खिचेको डिस्कभरीले दाबी गर्यो।
त्यसले अन्तर्राष्ट्रिय रूपमा उनको नाम झनै फैलियो। उनलाई हेर्न विदेशबाट पनि मानिसहरू आउन थाले। एकाएक उनी ‘लिटिल बुद्ध’ बने।
देशभित्रै र बाहिरबाट पनि दान र सहयोग बढ्न थाल्यो। हलखोरियामा उनले आफ्ना सहयोगी र अनुयायीहरूलाई आश्रम बनाउन लगाए। तपस्याका लागि पाताल गुम्बा बनाउन लगाए। त्यो बेला पाताल गुम्बा निर्माणमा काम गरेका एक अनुयायी वरको ठूलो रुखमुनि ६० जना खटेर सात फिट अग्लो र सात फिट चौडा गुफा बनाएको सम्झन्छन्।
‘पहिले सिँढीबाट तल जानुपर्थ्यो। त्यसपछि थोरै माथि उक्लिएर गुम्बाको ढोकामा पुगिन्थ्यो,’ ती अनुयायीले भने, ‘गुम्बाभित्र तीन फिटजति अग्लो ठाउँमा गुरू बस्ने आसन पनि थियो।’
बमजनले पाताल गुम्बामा आफू ६ वर्ष ध्यान र तपस्या बस्ने बताएका थिए। उनको भनाइ थियो, ‘त्यसपछि मेरो तपस्या पूरा हुनेछ।’
त्यहाँ पनि ‘गुरू’ ध्यान बस्ने आश्रम वरिपरि तारबार लगाइयो। सुरक्षाको थप प्रबन्ध भयो।
केही समय पाताल गुम्बामा बसेपछि बमजन बाहिर देखिन थाले। विस्तारै उनले आफ्ना हर्कत पनि देखाउन थालेको एक चेलाले बताए।
२०६४ असारमा आश्रमको एक घटनाले बमजनको आपराधिक प्रवृत्ति झल्काउँछ।
त्यो दिन बमजन नजिकै डाँडामा टहल्न निस्किएका थिए। उनले आफ्नी दिदीलाई त्यहीँबाट अलि चर्को स्वरमा भने, ‘मेरो गुम्बामा कोही हतियार लिएर पसेको छ, चेक गर।’
उनका दिदी, दाजु लगायत वरिपरिका मानिस पाताल गुम्बाको कम्पाउन्डमा आए।
बमजनले भनेको मान्छे पाताल गुम्बाभित्र पस्यो। चुकुल लगायो। बमजनको रिसको पारो चढ्दै गयो। उनले कराँते खेल्ने खेलाडीझैं उफ्रेर ढोकामा धेरैपटक हिर्काए। ढोकामा उनको लात्ती बजारिँदा ठूल्ठूलो आवाज आयो। ढोका भने खुलेन।
त्यो घटनाका प्रत्यक्षदर्शी एक चेलाले भने, ‘त्यसपछि गुरूले तरबार निकालेर ढोकामा कसरी हान्यो कुन्नी, ढोका फ्याट्टै खुल्यो।’
त्यो व्यक्तिलाई बमजनले तानेर कम्पाउन्ड बीचमा ल्याए। उनी त्यही गाउँका स्थानीय युवा थिए। घुँडा टेकेर शिर निहुर्याएर बसे।
‘गुरूले तरबार हावामा कस्तो फिलिली नचाएको,’ बमजनले पहिलोपटक तरबार नचाएको देख्ने ती चेलाले सम्झिए।
उनका अनुसार बमजनले तरबार नचाउँदै शिर निहुर्याएर बसेका ती युवामाथि उज्याए। धन्न दिदी राजकुमारीले रोकिन्। बमजनले तरबार त्यही व्यक्तिको छेउमा गाडे। ‘तँ किन यहाँ आइस्’ भन्दै केरकार गरे। उसले ‘गुरू बसेको ठाउँ दर्शन गर्न आएको’ भन्यो।
‘यो बाहुन किन सित्तै बुद्धिष्टकोमा आउँथ्यो र?’ बमजनले हकारे।
अनि बमजन आफ्ना दाइसँग पनि झोक्किए, ‘तैंले गतिलो तारबार लगाएको भए यो कसरी यहाँ आउँथ्यो?’
त्यति बेलै बमजन बस्ने ठाउँमा तारका तीन तह थिए। दाजु केही बोलेनन्।
बमजनले फेरि तरबार उचालेर हावामा घुमाए।
‘कतिखेर गुरूले तरबार चलाएछ, त्यो व्यक्तिको छालासहित टुप्पी तासियो,’ प्रत्यक्षदर्शी चेलाले भने, ‘उसको टाउकोबाट रगतको धारा छुट्यो।’
बमजनका सहयोगीले त्यो व्यक्तिलाई तुरुन्तै त्यहाँबाट लगे। खोलामा लगेर टाउको धोइदिए। टाउकोमा जंगली झार लगाएर रगत बग्न रोके।
गुम्बामा बसेर तपस्या गरेका, ध्यान गरेका मानिसले कराँते कहाँ र किन सिके? तरबार चलाउन कसरी त्यति निपूर्ण भए? यी प्रश्न अनुत्तरित छन्।
उनमा हिंसाप्रति लगाव थियो र सुरूदेखि नै हातहतियारको मोह थियो भन्ने त्यो र पछिका घटनाले पुष्टि गर्छन्।
हलखोरिया आश्रममै रहँदा बमजनको अर्को पाटो पनि विस्तारै खुल्न थालेको देखिन्छ।
बमजनको आश्रममा एक जना पुरानी आनी थिइन्- विष्णु बल। उनी कहिलेदेखि त्यहाँ थिइन् भन्ने कसैलाई थाहा छैन। उनीसँग हलखोरिया आश्रमको पाताल गुम्बामै यौन दुर्व्यवहार गरेको हल्ला त्यो बेला भित्रभित्रै चलेको एक चेला बताउँछन्।
पछि बमजनका जेठा दाजुले यौन दुर्व्यवहार गर्दागर्दै उनलाई रंगेहात भेटे। दिदी राजकुमारीले पनि अर्की आनीसँग त्यस्तै हर्कत गर्दै गरेको भेटिन्।
दाइले बमजनलाई गाली गरे। दिदीले उसका गतिविधिको विरोध गरिन्। बमजनले विस्तारै दुवैलाई आश्रमबाट पन्छाए।
जंगलमा तारबारको घेराभित्र बस्ने बमजनका विवादास्पद चरित्र क्रमश: वरिपरिका मानिसले देख्न थालिसकेका थिए।
बाहिरको संसारलाई भने यी कुरा थाहै थिएन। ‘बुद्ध ब्वाइ’ र ‘लिटल बुद्ध’ का रूपमा उनको प्रचारप्रसार संसारभर फैलिँदै थियो। उनलाई संसारभरिबाट दान र सहयोग आउने क्रम जारी थियो।
बमजन हलखोरिया बसेको दुई वर्षपछि त्यहाँ दार्जिलिङको मिरिकबाट एक जना अधवैंशे महिला पूजा र दर्शन गर्न आइन्। उनी आउने क्रमले तीव्रता पायो। पछि आश्रममै बस्न थालिन्। केही समयमै उनले बमजनलाई कम्प्युटर र भाषा सिकाउने सहयोगीका रूपमा आफ्नी भान्जीलाई आश्रममा स्थापित गरिन्।
उनकी भान्जी हुन्, दिपशिखा डुमजन। जो केही समयपछि बमजनकी श्रीमती बनिन्। उनीहरूको अहिले एउटा छोरा छ।
हलखोरियामै बस्दा बमजनले एउटा उत्ताउलो प्रण गरे- म यसपालिको गढीमाई मेलामा हुने बलि र रक्तपात रोक्छु। बारा जिल्लाको गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा मेला लाग्छ। नेपाल र भारतका कैयन भक्तालुले मेलामा बलि दिन्छन्। हजारौं पशुपन्छी काटिन्छन्।
मन्दिर छेउको एउटा बत्ती बलेपछि बल्ल पशुबलि सुरू हुन्छ।
बमजनले २०६६ को गढीमाई बलि रोक्ने घोषणा गरेपछि चेला र अनुयायीहरू छक्क परे। उनीहरूले सोधे, ‘गुरु कसरी सम्भव छ?’
उनले भने, ‘मेरो तपस्याको रापले गढीमाई मन्दिरको बत्ती बल्न दिने छैन। बत्ती नबलेपछि बलि सुरु हुने छैन।’
कतिपय शुभचिन्तक, अनुयायी र चेलाहरूले शंका व्यक्त गरे। उनीहरूले एकअर्कासँग छलफल गरे- यत्रो घोषणा गरेपछि बलि रोकिएन भने फसाद पर्छ। गुरूको नाम जान्छ।
एउटा बौद्ध संगठनका महासचिव प्रेम दोर्जेले बमजनलाई सम्झाए, ‘पशुबलि रोक्न सक्ने पक्का छैन भने अहिल्यै विज्ञप्तिमार्फत् घोषणा फिर्ता लिउँ। गुरूको मान रहन्छ।’
बमजन टसमस भएनन्।
पशुबलिको दिन बमजनले कसरी बलि रोक्छन् भन्ने हेर्न मानिसहरू भेला भए। उनको सुरक्षामा ठूलो संख्यामा प्रहरी तैनाथ भयो। तर, साँझसम्म कुर्दा पनि बमजन आएनन्। मन्दिर परिसरमा बत्ती बल्यो। पशुबलि सुरू भयो।
त्यो दिन साँझ पर्नुअघि नै बमजन हलखोरिया जंगलबाटै हराए। उनी त्यो बेला कहाँ गएका थिए भन्ने अहिलेसम्म कसैलाई थाहा छैन। त्यसको तीन महिनापछि मिरिकमा छन् भन्ने खबर आयो। उनी दिपशिखा डुमजनको घरमा भेटिएकाले भागेर सुरूमै त्यहीँ गए भन्ने सबैको अनुमान छ।
तर, उनी हलखोरियाबाट भागेर सिधै मिरिक पुगेका हैनन्। हलखोरियामा आनी बनेर बसेकी रिता वोटको घर पुगेका थिए। सर्लाहीको बाग्मती नगरपालिका-१२ स्थित काजीराम टोलमा रितासँगै झन्डै एक महिना लुकेर बसे।
त्यो एक महिनाले पनि बमजनबारे धेरै कुरा बोल्छ।
उनी खाना नखाई तपस्या गरेका तपस्वी हैनन् भन्ने त्यो समयले पुष्टि हुन्छ। रिता र बमजन सँगै एउटै कोठामा बस्थे र दुवै छाक भात खान्थे। ‘रिताले बिहान बेलुकै कोठामा खाना लैजान्थिन् र दुवै जना त्यहीँ खाना खान्थे,’ रिताकी माइली भाउजूले भनिन्।
उता, बमजन मिरिकमा छन् भन्ने खबर पाएपछि उनका अनुयायी र व्यवस्थापन समितिका मानिसलाई अप्ठ्यारो पर्यो। उनीहरूमध्ये केही बमजनलाई लिन मिरिक गए।
‘धर्म जोगाउन’ नेपाल फर्किनू भनेर बमजनलाई अनुरोध गरे। गुरू नफर्किए आफूहरू बर्बाद हुने भन्दै अनुनयविनय गरे।
गुरूलाई केही हुन्न। हामी समिति बनाएर सबै व्यवस्थापन गर्छौं भनेपछि उनी नेपाल फर्कन मञ्जुर भए,’ त्यो बेलाको समितिका एक सदस्यले भने।
बमजन रितालाई छाडेर कसरी दिपशिखाकहाँ पुगे र रिता कसरी बेपत्ता भइन् भन्ने अझै रहस्यमै छ।