यस्तै व्यक्तिगत अर्थात् पारिवारिक गुणस्तरीय जीवनको परिकल्पना गर्दै विशेष गरी विद्यार्थीका रुपमा अर्थात् अन्य पेशागत उद्देश्य बोकेर जापान प्रवेश गरेका नेपाली समुदायको जीवन कसरी गुज्रिरहेको छ ? के उनीहरूले परिकल्पना गरे अनुरूप गुणस्तरीय जीवनयापन गर्न सफल भएका छन् त ? गुणस्तरीय जीवनयापनका निम्ति स्वयम् व्यक्तिले पालना गर्नै पर्ने नियमहरू पालना गरेका छन् त ? अर्थात् नियति र अन्य तत्वहरूलाई दोष दिँदै कम गुणस्तरीय जीवनयापन गरिरहेका छन् ? कतै यही गुणस्तरीय जीवनयापन गर्न नसकेकै कारण आत्महत्या जस्तो जघन्य अपराध तथा आकस्मिक मृत्युका घटना बढेका त होइनन् ? आदि विषयमा मैले भोगेका, देखेका, सुनेका र विभिन्न पत्रपत्रिका तथा पुस्तकहरूमा अध्ययन गरेका केही महत्वपूर्ण विषयहरू यहाँ उठान गर्ने प्रयत्न गरेको छु ।

संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांक (एचडिआइ) द्वारा मूलत: आर्थिक, शैक्षिक, सम्भाव्य आयु सँग सम्बन्धित तथ्यांकलाई आधार बनाएर गरिएको मापन अनुसार, १८८ देशहरूको गुणस्तरीय जीवन मापन गरिएको एक रिपोर्टमा जापान २०औँ स्थान साथै एशियामा प्रथम स्थानमा पर्दो रहेछ । जबकी नेपाल १४६औँ स्थानमा छ । यस तथ्यांकलाई आधार मान्दा पनि नेपालजस्तो विकासशील देशबाट जापान जस्तो विकसित देशमा प्रवेश गर्नासाथ गुणस्तरीय जीवनयापन गरिहाल्ने कुरा पक्कै पनि सजिलो छैन । अब यहाँ केही महत्वपूर्ण विषयहरू बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१-गुणस्तरीय जीवनका आधारहरू:

सन्तुलित भोजन, सुरक्षित बसाइँ, सरसफाइ तथा स्वस्थ्य वातावरण, मनोरंजन,तनाव व्यवस्थापन तथा आराम, आयआर्जन / रोजगार, गुणस्तरीय शिक्षा, स्वास्थ्यकर बानी तथा जीवनशैली, नियमित व्यायाम, कुलतबाट मुक्ति, नियमित स्वास्थ्य जाँच, आत्मसम्मानपूर्ण जीवनयापन, प्राकृतिक वातावरण आदि ।

२-गुणस्तरीय जीवनलाई प्रभाव पर्ने तत्वहरू:

माथि चर्चा गरिएका गुणस्तरीय जीवनका आधारहरूलाई कतै न कतैबाट अप्ठ्यारोमा पार्ने कारक तत्वहरू नै गुणस्तरीय जीवनलाई प्रभाव पर्ने तत्वहरू भित्र पर्दछन् । यिनै विषयमा केन्द्रित रहेर अधिकांश नेपाली समुदायको जनजीवन बारे केही कुरा राख्न चाहन्छु ।

खाना-

अधिकांश नेपालीहरूको भान्सामा प्रायजसो पाक्ने खाना भनेको दाल, भात, रोटी, तरकारी र अवस्था अनुसार अचार, मासु आदि पर्दछ । नेपाली परिकारहरू प्राय नुन र मसालाको स्वादमा हुन्छन् । जापानमा आइसके पछि कार्यव्यस्तताले या आर्थिक व्यवस्थापनमा गाह्रो भएकाले सबै नेपाली प्रकार बनाउन नसक्नु र जापानका सि फुड, सोयुको स्वाद, खानामा प्रयोग हुने प्राय गुलियो स्वाद र धार्मिक कारणले गाइ अर्थात् बंगुरको मासु प्रयोग भएका खानाहरू नखानु वा नरुचाउनु, सजिलो र सस्तोको लागि डिफ्रिज गरिएको मासुको मात्र प्रयोग बढी भएको देखिन्छ । यो तरिका स्वास्थ्यको दृष्टिले त्यति उपयुक्त देखिँदैन ।

बसाइँ-

जापानमा कोठाभाडा निकै महँगो छ । टोकियोको सेरोफेरोमा एउटा किचन सहितको कोठालाई कम्तिमा ४०/५० हजार पर्न जान्छ । एकातिर नेपाली विद्यार्थीहरूलाई नेपाल बाट नै कन्सल्टेन्सी हरूले होस्टेलको नाममा ३ देखि ६ महिनाको रेन्ट असुलेर एउटा कोठामा ७ देखि ८ जना सम्म कोचेको पनि देखिन्छ । यो न्यायसंगत छैन । अर्कोतिर विद्यार्थीले आफ्नै हिसाबले घरको एग्रिमेन्ट गर्दा पनि एउटाकोठाको घरमा धेरै व्यक्ति वस्ने अनुमति हुँदैन । त्यसैले कुनै एक जनाको नाममा घर लिएर आन्तरिक मिलेमतोमा ४/५ जना सम्म बस्ने गरेको पाइन्छ । यसरी मिलेर बस्दा आर्थिक रुपमा केही राहत त होला तर फरक परिवेश,पृष्ठभूमि र परिवाको मान्छे एउटा साँगुरो कोठामा साँगुरिनु पर्दा खानपान, सरसफाइ, शान्त वातावरण लगाएत व्यक्तिगत तथा पारिवारिक गोपनीयता बँचाउन पनि निकै धौ धौ परेको हुन्छ । यसले मानसिक स्वास्थ्य र सिर्जनशील कार्यमा प्रतिकूल असर परिरहेको हुन्छ ।

मनोरंजन,तनाव व्यवस्थापन तथा आराम:

मानवीय स्वाभाव अनुसार फुर्सदिलो समयमा साहित्य लेख्ने, गीत गुनगुनाने, पियानो बजाउने, पुस्तक पढ्ने आदि गरेर मन बहलाउने काम गरेको हुनसक्छ । यस्तो कार्यले तनाव व्यवस्थापनमा ठूलो टेवा पुर्याउँछ । जुन सामूहिक बसाइँले असम्भवप्राय नै हुन्छ ।

त्यसैगरी विद्यार्थीहरूको हकमा रातिको काम तथा दिउसोको स्कुलले सातै दिन फुर्सद नहुने अवस्था अनि रेस्टुरेन्ट व्यवसाय अर्थात् कुकको काम गर्ने कर्मचारीहरूको हकमा सीमित स्टाफको कारण विदा नै नलिइ सधैभरि सीमित तलवमा काम गरिरहनु पर्ने बाध्यता छ । आदि कारणले मान्छेले आराम गर्नै पर्ने न्यूनतम सुविधा पनि लिन नपाउँदा नैराश्य बढ्नु र पूर्वतयारी विना नै अरुको भ्रमजालमा परेर वा बढी महत्वाकांक्षी भइ उचित सल्लाहलाई नै वेवास्ता गरेर हतारमा जापान प्रवेश गर्दा लागेको चर्को लगानीले आर्थिक तनाव उत्पन्न भएका उदाहरणहरू पनि प्रशस्त भेटिन्छन् ।

आयआर्जन/रोजगार

जापान आयआर्जन र रोजगारका हिसाबले अत्यन्तै अवसर भएको मुलुक त हो तर केही चुनौतिहरू पनि अवश्य छन् । भाषागत ज्ञान, कार्यगत सीप , अनुशासन र टाइमिंग रोजगारका प्रमुख आधार हुन । पूर्वतयारी विना जापान प्रवेश गरेका व्यक्तिहरूमा माथिका दुई कुराको कमी हुनु स्वाभाविक कुरा नै हो । अर्को कुरा जापानमा पार्टटाइम जब आवर बेसिसमा पेमेन्ट हुने हुनाले कुनैकारणले विदा बस्नु परेमा पैसा आउँदैन तर दैनिक खर्चमा कुनै कमी आउँदैन । अनि नेपालबाट आउँदा लागेको ऋण र ऋण तिर्नका निम्ति आउने पारिवारिक दबावले झन संकट थप्दै जान्छ । त्यसैले आर्थिक व्यवस्थापन निकै गाह्रो विषय बन्न पुग्छ ।

गुणस्तरीय शिक्षा:

जापानका शैक्षिक संस्थाहरूमा आधारभूत पूर्वाधारहरूको व्यवस्थापन त हुन्छ तर सबैमा गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने छैन । जापानमा आउने विदेशी विद्यार्थीहरू साच्चिकै पढ्न भनेर आउनेको संख्या कम नै छ । शैक्षिक प्रशासनले पनि त्यो कुरा राम्रो सँग बुझेर विद्यार्थीलाई कानुनी दायरामा ल्याउने र फि असुलेर आफ्नो व्यापारिक लक्ष्य पुरा गर्ने गरेको पनि देखिन्छ ।

गुणस्तरीय शैक्षिक संस्थामा प्रवेश पाउनको निम्ति विद्यार्थीहरूले पनि प्रवेश परीक्षा तयारी, रिउगाकु सिकेन, जेएलपिटि, टोइक जस्ता भाषागत परिक्षा पास गर्नु पर्ने हुन्छ । नेपाली विद्यार्थी पनि यी सबै कुरा पूरा गरेर छात्रवृत्तिमै उच्च र गुणस्तरीय शिक्षा हासिल गर्नेहरू पनि छन् र उचित सल्लाह सुझावको कमी र कतै आफ्नै लापरवाही अनि पूर्वतयारीको कमिले हतारमा भिसा जोगाउन कम गुणस्तरीय शैक्षिक संस्थामा प्रवेश गरी समय र पैसाको वर्वादी गर्दै पछुताइरहनेहरू पनि छन् । अनि मेहनत गर्दागर्दै पनि छात्रवृत्ति प्राप्त गर्न नसकेर चर्को शुल्क तिर्न विवश विद्यार्थीहरू पनि प्रशस्त छन् ।

स्वास्थ्यकर बानी तथा जीवनशैली,नियमित व्यायाम,कुलतबाट मुक्ति:

गुणस्तरीय जीवनयापनका निम्ति जीवनशैली, नियमित व्यायाम, कुलतबाट मुक्ति अति नै आवश्यक कुरा हुन् । नेपालमा जति दुख गरे पनि प्राय काम गर्ने, पढ्ने, सुत्ने एक किसिमको नियमित तालिका बनेको हुन्छ । तर जापान आएपछि सुरूका दिनमा यो तालिका नियमित गर्न असम्भवप्राय नै हुन्छ । यसरी सुत्ने र उठ्ने, खाना खाने, आराम गर्ने समय तालिकामा अनियमितता हुनासाथ अनिद्रा,थकावट र मानसिक तनाव बढ्न सक्छ । थकाइ, समय अभाव,उपयुक्त स्थान र वातावरणको अभाव जस्ता कारणले शरीरलाई आवश्यक व्यायाम गर्न नसक्ने अवस्था सृजना हुन्छ । परिवार, साथीभाइ, इस्टमित्र, प्रेमी प्रेमिका आदि सँगको विछोडले निम्त्याएको एक्लोपन, थकाइ र तनाव कम गर्ने विकल्पको रुपमा रक्सी चुरोटको नियमित प्रयोगले नजानिदो गरी कुलतमा फसेको देखिन्छ ।

नियमित स्वास्थ्य जाँज:

नियमित स्वास्थ्य जाँच पनि गुणस्तरीय जीवनका निम्ति अपरिहार्य कुरा हो । जापानमा स्वास्थ्य जाँच अत्यधिक महंगो छ । तर स्वास्थ्य विमा कार्ड भएमा व्यक्तिले ३० प्रतिशत मात्र रकम तिरे हुन्छ र अलिक राहत पुग्दछ । नेपालमा नियमित स्वास्थ्य जाँचको संस्कृति नै विकास नभएकोले जापान आए पनि अधिकांश नेपालीहरू वेस्सरी विरामी नहुँदै हस्पिटल नजाने प्रवृति देखिन्छ । साथै नेपालबाट आउँदा ल्याएका वा मगाएका औषधि प्रयोग गर्नेको संख्या पनि कमी छैन ।

साथै विवाहित जोडिहरूले गर्भनिरोधका साधनको उचित प्रयोग नगर्ने र गर्भ रहन गयो भने गर्भपतनका निम्ति नेपाल पुग्ने सम्मका गैरजिम्मेवारपूर्ण व्यवहार गर्ने व्यक्तिहरू पनि छन् । यस्तो सुन्दा पनि निकै दुख लाग्छ । टोकियोमा नेपाली समुदायलाई लक्षित गरी कहिलेकाही आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा समेत उल्लेख्य उपस्थिति नहुनु स्वास्थ्य सम्बन्धि स्वयम् व्यक्तिले नै गरेको चरम लापरवाही हो कि भन्ने देखिन्छ ।

आत्मसम्मानपूर्ण जीवनयापन:

गुणस्तरीय जीवनको अर्को महत्वपूर्ण आधार आत्मसम्मानपूर्ण जीवनयापन पनि हो । नेपालमा गाउँ टोल, विद्यालय विविन्न ठाउँमा विभिन्न संघसंस्थामा आवद्ध भएर नेतृत्वदायी अर्थात् सहभागितामूलक कार्य गरिरहेका हुन्छन् । जापान आए पछि समय व्यवस्थापन,भाषागत समस्या आदिका कारण लगातार काम,स्कुल र विद्यार्थीबाहेका व्यक्तिले विदा नपाउने कारणले सधै एकलकाटे जीवन विताउन विवश हुनेहरू पनि छन् । यसले व्यक्तिमा नकारात्मक धारणाको विकास हुन पुग्दछ । साथै अनावश्यक रुपमा विभिन्न संघसंस्थामा आवद्ध भएर समय र पैसाको दुरुपयोग गरी आफ्नो मुख्य उद्देश्य नै धरापमा पार्नेहरू पनि छन् । यी दुवै कुराहरू गुणस्तरीय जीवनका बाधक भएको देखिन्छ ।

प्राकृतिक वातावरण:

नेपालको ग्रामीण क्षेत्रमा हुर्केबढेर जापानका अतिविकसित सहरहरूमा प्रवेश गरेका नेपालीहरूका निम्ति यहाँको अतिव्यस्तता र भीडले मानसिकरूपमा असर गरी गुणस्तरीय जीवनमा केही असर गरेको पनि हुन सक्छ ।

३-समस्यालाई केही हदसम्म कम गर्न सकिने उपायहरू:

यसरी गुणस्तरीय जीवनयापनका निम्ति बाह्य कुराले असर त पक्कै गरेको हुन्छ । त्यो भन्दा बढी आफुले आफैलाई व्यवस्थित गर्नु पर्ने देखिन्छ । स्वस्थ्य रहेर गुणस्तरीय जीवनयापन गर्नु भनेको जीवनका केही बढी वर्षहरू थप्ने नभइ ती वर्षहरूमा अझ बढी जीवन्तता थप्न सक्नु हो । धेरै व्यक्तिको सोंचाइ घर छोडेर हिँडे पछि यस्तै हो । डेराको जिन्दगी जेनतेन काम चलाउने त हो नि । हामी त कमाउन पो आएको,सुख काट्न हो र ? समय छैन । फुर्सद छैन । आदि जस्ता कुराबाट अभिप्रेरित भएको देखिन्छ । यी भनाइ सुन्दा अति सामान्य लाग्छन् तर गहिरिएर विचार गर्ने हो भने अति गम्भीर र गैरजिम्मेवारपूर्ण लाग्छन् । किनकि अहिलेको मानवसमाज झन पछि झन जटिल बन्दैछ । अध्ययन, पेशा, जागिर आदि आदि कारणले जीवनको धेरै भन्दा धेरै समय यसरी नै डेरामा बित्ने सम्भावना बढ्दै गएकाले जीवनको छोटो भन्दा छोटो समयलाई पनि अति महत्व दिएर व्यवस्थित गर्ने प्रयत्न गर्नै पर्ने देखिन्छ । किन कि समय सबैको एउटै हो । त्यसैले समय छैन भन्नु भन्दा भएको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा सोंच्नु आवश्यक देखिन्छ ।

जापानको जीवनशैली अति नै व्यस्त छ । थकाइ र कोलाहलले मान्छेको मानसिकतामा नकारात्मकता थप्ने सम्भावना बढी देखिन्छ । त्यसैले पढ्ने र काममा जाने बाहेकको समयलाई अति ध्यान दिन सकिएन भने हाम्रो जीवन अझ जटिल बन्दै जान सक्छ । सामाजिक संजालमा उपस्थित हुने तर धेरै समय दुरुपयोग नगर्ने । फोनमा छोटो र आवश्यक कुरामात्र गर्ने । मितव्ययी बन्ने । थकाइ बढी लागेको वेलामा रक्सी वियर खाएर सुत्नु भन्दा ओफुरो बस्ने (ओन्सेन अलिक महंगो पर्ने भएकाले सेन्तोउ जाने) १/२ महिनामा १/२ पटक भए पनि आफ्नो उद्देश्य मिल्ने कुनै संघसंस्थामा, समुह आदिमा सहभागी भएर विचार आदानप्रदान गर्ने, आफुले सक्ने क्षेत्रमा योगदान दिने । मनोरंजन,व्यायाम,आराम आदिलाई थोरै भए पनि समय छुट्याउने । बढी महत्वाकांक्षी बन्नु भन्दा आफ्नो योग्यता क्षमतामा विश्वास गरी साना साना भए पनि योजना बनाएर निरन्तर मेहनत गरिरहने । आम्दानी,खर्च र बचतको सन्तुलन मिलाउने । अरुले के गर्यो भन्नु भन्दा आफुले के गर्ने भन्ने विषयमा सोंच्दा राम्रो होला । भइसकेका कुरामा पछुताइरहनु भन्दा त्यसलाई शिक्षाका रुपमा लिएर सकारात्मक सोंच्दै अगाडि बढिरहने बानीले पक्कै पनि गुणस्तरीय जीवनयापनका निम्ति कुनै न कुनै रुपमा सहयोग गरेकै हुन्छ ।