माधवको आकाशमा मडारिएको बादल र तीनखुट्टे ओदानो

0Shares

आज असोजको शुक्ल चतुर्थीसम्म आइपुग्दा काठमाडौंको आकाश खुलेको छ । निश्चल र कञ्चन दृश्यले दशैं बोलाउँदैछ ।

राजनीति चाहिँ अलिक निर्मम छ । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी केपी ओली र शेरबहादुर देउवाको साझेदारीको सत्ता छ । त्यहाँभित्र दुई किसिमका हठ र दम्भको रजगज हुने नै भयो । ज्योतिष अच्युतप्रसाद पौडेललाई पत्याउँदा सरकार कात्तिक उता जाँदैन । घटनाक्रमलाई हेर्दा कात्तिक नै ढिलो होला भन्ने बुझिन्छ ।

मुख्य दुई ठूला दल मिलेको सत्ता राजनीतिले साना दलहरुलाई आफ्नो रुचिअनुसार बर-व्यवहार गर्ने नै भए । ओलीले माओवादीसँगको सत्ता सहकार्यकालमा जसपालाई फुटाए । ओलीका निम्ति जसपा फुटाउनु ‘फुटकर’ मामिला हो । उनको सबैभन्दा बढी मतलबका मानिस हुन्, माधवकुमार नेपाल । माधवहरुले नै बनाएको पार्टीमा एक दिन उनी ‘सत्तारुढ’ भए । त्यहाँदेखि उनले तिनै माधवहरुलाई लखेट्दै लखेट्दै २०७८ सालमा छोडेर हिँड्नुपर्ने बनाए । यतिले पनि ओलीलाई पुगेको छैन । उठ्न नसक्ने गरी माधवलाई ‘बसाउने’ कुरासँग ओलीको सबैभन्दा ठूलो सरोकार छ ।

इतिहास, निष्ठा र समर्पणको चस्मा लगाएर हेर्दा माधव नेपाल जत्तिको अग्लो मान्छे ‘झापाली धार’ बाट विकास भएको कम्युनिष्ट आन्दोलनमा विरलै भेटिन्छ, तर धोकैधोकाको यात्राले उनलाई सुख दिएन । आज अलग्गै पार्टी बनाएका छन् । पार्टीभित्र भरपूर विश्वास गरिएका आधाउधी मान्छे ओलीसँगै मिलेर उनलाई सताइरहेका छन् । हिजो १० बुँदे गरेर जानेहरुले त आफूलाई खुलेआम ‘धोकेबाज’ नै करार गरेका थिए । बाहिर माधवलाई ‘महान’ भन्दै नेपथ्यबाट सल्बलाइरहेका पात्र सबैभन्दा घातक हुन् । माधवले त्यस्ता मान्छे समयमै चिन्ने हो भने उनलाई ‘सिध्याउन’ ओलीले चौधैं भुवन धाए पनि केही चल्नेछैन ।

यसबीच पंक्तिकारले ‘एक्जिट डोर’ का दृश्यबारे तयार पारेको आलेखको अन्तर्यमा नगई केही उपबुज्रुक वा डेढअक्कलीहरु खडा गरी विभिन्न तर्कना पेश भए । ‘हामी सच्चिनुपर्छ’ भन्ने चेत अझै पलाएको छैन ।

माधव नेपालका निम्ति उनको सचिवालयबाट केही नलिई आफ्नो व्यवसाय र इलमबाट घरबारी जोडेका मोहन गौतम र लक्ष्मण केसीहरु बराबरी हुनुपर्थ्यो वा बराबरीमा राखिनुपर्थ्यो । त्यसो नहुँदा उनका नाममा अरुले यति धेरै खेल्ने मौका पाए कि यस्ता घटनाले ओलीहरु नहौसिने कुरै भएन । यी यस्ता इमानदार पात्र हुन्, जसले व्यक्तिगत लाभका निम्ति माधवका नाममा केही लिएनन्, बरु माधवलाई काँध हालेका दिनदेखि व्यवस्थित बनाइरहे । जसरी अहिले कार्यालय सचिवमा रामकुमार भट्टराई र स्वकीय सचिवालयमा लक्ष्मण रेग्मी जस्ता निष्ठावान मानिस आए, हिजो रामकुमार र लक्ष्मणको भूमिकामा मोहनहरु नै थिए । भोलि रामकुमार र लक्ष्मणको झगडा पारेर माधवका नाममा अरुले नै फाइदा लुटे भने त्यसले व्यक्तिहरुलाई भन्दा ठूलो क्षति नेतृत्वलाई नै पुग्छ । माधवले ख्याल गर्न नसकेको यो गम्भीर पक्ष हो ।

सपनाहरुको बिस्कुन लगाएर कोही पनि आफूलाई सिध्याउन राजनीतिमा लागेका हुँदैनन् । सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी खोज्नुपर्छ । मोहन गौतम, दिलु पन्तहरुभन्दा जुनियर मानिस पार्टीमा उपमहासचिव, सचिव बनिसक्दा उनले र उनी जस्ता माधवको सहयोगी भएकै नाममा तल्तिर खुम्चिएरै बस्नुपर्छ भन्ने हुँदैन, तर यही नाममा सघन समूहभित्र जसरी मानिसहरुको खेलो चल्यो, त्यो प्रियकर विषय होइन ।

किनभने अहिले माधव नेपालको राजनीति विभिन्न तहको घेराबन्दीभित्र छ । यस्तो स्थितिमा किन आफूभित्रैका सघन सहयोगीबीच झगडा पारियो ? पंक्तिकारको दाबी छ, दुष्चक्रीहरुको घेराबन्दीले माधवको सघन समूहभित्रै झगडा पारेर फाइदा लुट्न खोजिरहेको छ । अहिले पार्टीमा चुलिएको असन्तुष्टिका बीचमा अर्थात् ‘फलाम तातिरहेकै बेला’ हान्न खोज्नु कुनै पनि शत्रुको कर्तव्य हुन्छ । अहिले एकीकृत समाजवादीका शत्रु यही स्थितिमा छन् । त्यसैले अघिल्लो आलेखमा ‘एक्जिट डोर’ को चर्चा गरिएको हो ।

फेरि पनि प्रश्न छ, आफ्नो पार्टीकी एकजना नेतृको नक्कली भिडियो बनाउने मान्छे पार्टीले पत्ता लगायो ? वा त्यस्तो नक्कली भिडियो बनाउने मान्छे पत्ता लगाउने कानूनी र प्राविधिक प्रक्रियामा कसैलाई पठाइयो ? पठाइएन । त्यो नक्कली भिडियोलाई बहाना बनाएर केही पत्रकारका विरुद्ध विषवमन गर्ने काम भने फटाफट भइरहेको छ । अर्थात् समस्याको जडीमा नपुगी कुनै पनि समस्याको समाधान हुँदैन । नक्कली भिडियो बनाउने मान्छे पत्ता लगाई, त्यस्तो मान्छेलाई दण्डित नगरी त्यसबाट प्रताडित पात्रले कदापि न्याय पाउँदिनन् । पीडितलाई न्याय दिने कसैको इच्छा छैन । त्यसैले त्यसको जडीमा पुगौं भन्ने कोही पनि देखिएनन् ।

यो प्रतिनिधि घटना हो । मूल विषयलाई नजरअन्दाज गर्दै सहायक विषयमा अल्मलियो भने विद्रोहले गन्तव्य भेट्दैन । बरु विद्रोहलाई विद्रोही आवरणमा भित्रिएका धोकेबाजहरुले नै औचित्यहीन बनाइदिन सक्छन् । विद्रोही आवरणका ती मानिस नै माधव नेपालका ‘गुन्टा’ बनेर उफ्रिरहेका छन्, जसले क्षति पुर्‍याइरहेको छ । ‘लाहुरेभन्दा गुन्टा बढी उफ्रिने’ प्रसंगका पात्र तिनै हुन्, जो माधव नेपालको मान्छे जस्तो देखिएर उनैको विद्रोहलाई क्षति पुर्‍याइरहेका छन् । उनको पार्टीको प्रवक्ता बनेर चुकुल लगाई-लगाई मिटिङ गर्नेहरु माधव नेपाल अर्थात् ‘लाहुरेभन्दा गुन्टा’ बढी भएर उफ्रिएका हुन् ।

(विषय वा प्रसंगले ‘गुन्टा’ का नाममा अघिल्लो आलेखमा कोही कसैलाई भ्रम भए स्पष्ट हुन अनुरोध छ, हिजो प्रचार विभागका नाममा चरम गुटबन्दी गर्ने र माधव नेपालको प्रवक्ता भएर उनकै विद्रोहलाई क्षति पुर्‍याउँदै आएका मानिस हुन् ।)

उनीहरु नक्कली भिडियो बनाउने मान्छे खोजौं भन्दा किन डरले थुरथुर कामिरहेका छन् ? भिडियो सर्वत्र फैलिएपछि पात्रको नाम र अनुहार उल्लेख नगरी समाचार लेख्ने पत्रकारलाई सजाय दिएपछि पीडितले न्याय पाउँछिन् भन्ने गलत भाष्य निर्माण गरिँदैछ । न्यायको बाटो त्यो हैन । त्यो नक्कली भिडियो बनाउने ‘अपराधी’ लाई पहिला उभ्याउनुपर्छ । अनि न्यायको बाटो प्रशस्त हुन्छ । यसले भन्छ, ‘दालमे कुछ काला है ।’

तीनखुट्टे ओदानो

नेकपा एकीकृत समाजवादीभित्र शुरुबाटै एउटा ‘तीनखुट्टे ओदानो’ खडा गरिएको छ । त्यो ओदानोले माधव नेपाललाई न हास्न दिन्छ न त रुन नै । ‘ओदानो’ पनि कस्तो भने ओलीलाई चाहिँदा बालिदिने र माधव नेपाललाई हायलकायल पारिदिने । नचाहिँदा निभाएर जिस्क्याइरहने, तर्साइरहने ।

बाढीले देशभर पुगेको क्षतिपछि ओली सरकारले दशैंको बीचमा चलाउन खोजेको राजनीतिक बितण्डा मत्थर भएको छ । यद्यपि त्यस्तो सम्भावना समाप्त भएको छैन ।

कुनै राजनीतिक दलबाट विभाजित भएर निर्माण भएको दल पाँच वर्षसम्म फेरि विभाजित हुन नपाउने कानूनी व्यवस्था छ । त्यसले एकीकृत समाजवादीको संसदीय दलको विभाजनलाई रोक्दै आएको छ । संसदको अधिवेशन अन्त्य गरिएको स्थितिमा अध्यादेशबाट उक्त व्यवस्थालाई संशोधन गर्दै जसपाकै शैलीमा एकीकृत समाजवादी विभाजित गर्ने अभ्यासमा केपी ओलीले आजदेखि हैन, हिजो प्रचण्डसँगको सत्ता सहकार्यदेखि नै थालेका हुन् । उतिबेला प्रचण्डले मानेनन्, अहिले समयले साथ दिएको छैन ।

ओलीले एकीकृत समाजवादीभित्र खडा गरेको ओदानोमा एउटा खुट्टा मधेशबाट, दोस्रो खुट्टा कर्णाली र तेस्रो खुट्टा सुदूरपश्चिमबाट टेकाइएको छ । ती को को हुन्, सबैलाई थाहा छ, तर त्यतिले नपुग्ने भयो ।

भित्रभित्रै…

अब बीचबीचमा भइरहेका सल्बलाहटको चर्चा गरौं ।

ओली समर्थनको प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री थिए । सरकार ढल्ने र नयाँ सरकार बन्ने छनक उनीहरुले पाइसकेका थिए । त्यसमा शेरबहादुरको समर्थन हुने र ओली प्रधानमन्त्री हुने कुरा पनि पक्कापक्की भइसकेको थियो, तर ओदानोले यो कुरा पार्टीलाई भनेन । फलतः पार्टी महाधिवेशनको उद्घाटन हुँदाहुँदै त्यस्तो राजनीतिक घटनाक्रमको विकास भयो ।

उक्त घटनापूर्व एकीकृत समाजवादीका पाँच सांसद तयार पारिएको थियो । ओदानोका तीन खुट्टाबाहेक कर्णाली प्रदेशबाट अर्का एक सांसद पनि त्यसमा गए । ओली र देउवासहित पाँच भाइको छलफल पनि भयो । शर्त थियो, भइरहेका मन्त्री हटाउन नपाइने । अनि बाँकी दुईलाई पनि मन्त्री चाहिने । यदि त्यस्तो भयो भने अर्को पुनर्गठनमा मन्त्री हुने गरी थप एकजना सांसद आउने । यसरी जम्मा ६ जना हुने भए । तत्काललाई पाँच जना ।

ओलीले सबै कुरा माने, ‘चार जना मन्त्री चाहिँ कसरी बनाउने ?’ भनेर अनाकानी गरिरहे । उनको भनाइ थियो, ‘आउने पाँच जना, मन्त्री चाहिँ चार ? यो अत्तिमात्रै हैन, अत्याचारै भयो नि ।’

यसरी त्यस दिनका लागि कुरा टुंगियो । नयाँ सरकार बनेपछि संसदीय दल विभाजन गर्न सकिने गरी अध्यादेश जारी गर्ने र यो काम गर्ने भन्ने कुरा भयो ।

नयाँ सरकार बनेपछि ओलीले एकीकृत समाजवादी फुटाउलान् भन्ने कुरामा उक्त पार्टीका नेता सजग हुने नै भए । माधव नेपालकै तहबाट शेरबहादुर देउवासँग कुरा भयो । उनले त्यस्तो काम हुन नदिने आफ्नो तर्फको प्रयास रहने बताए ।

मौका चाहिँ खोजिँदै रह्यो ।

एकीकृत समाजवादीको महाधिवेशनले मूल नेतृत्व चयन गरेपछि बाँकी केन्द्रीय सदस्य चयनको प्रक्रिया पेचिलो हुने कुरा एमाले वृत्तमा चर्चा चलेकै थियो । ओलीले केही नेताबाहेक अरुलाई जुन जुन जिम्मेवारी हो, त्यही त्यही दिने गरी आफ्नो पार्टीमा आउन आह्वान नै गरे, तर उनले आह्वान गरेरमात्रै भएन ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयन र ती केन्द्रीय सदस्यबाट पदाधिकारी निर्वाचन गराउने कुराले निम्त्याएको चरम विवादका बीच ओलीको खेल चर्को हुने नै भयो । तह तहका नेता लगाएर कुरा गरियो ।

व्यक्तिगत सौदाबाजीमा जाँदा भोलि भूमिका नपाइएला भनेर थुप्रैले पार्टी छाड्न आनाकानी गरे र नयाँ रणनीति बन्यो ।

त्यसअनुसार संसदको चालू अधिवेशन अन्त्य भएपछि (अहिले अन्त्य भइसकेको छ) उपयुक्त समयमा अध्यादेश ल्याउने । त्यसअनुसार कम्तीमा चार सांसद भए पुग्ने गरी संसदीय दल विभाजित गर्ने । उनीहरुले अलग्गै नाममा पार्टी दर्ता गर्ने । यसपछि एमाले र नयाँ दलबाट अलग-अलग वार्ता कमिटी बनाउने । वार्ताको सहमतिअनुसार व्यक्तिहरुको व्यवस्थापन गर्ने र एक महिनाभित्रै पार्टी एकता गर्ने ।

यो रोडम्यापअनुसार प्रदेश सांसद र स्थानीय तहसम्म कुरा चलाइयो । कतिपय कुरा सुन्नेबित्तिकै तयार भए । कतिपयले आनाकानी गरेका छन् ।

यसबीच पार्टीका एकजना सचिव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच विभिन्न चरणमा एकता प्रयासका निम्ति छलफल भयो । यो प्रयास ‘ओदानो समूह’ को नभएर संस्थागत थियो । यसमा माधव नेपालको समेत संकेत रहेको बुझिन्छ । विद्या भण्डारी एकताका निम्ति तयार देखिइन्, तर ओली कम्तीमा पाँच नेता स्वीकार्ने पक्षमा रहेनन् । ती हुन्, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल र राजेन्द्र पाण्डे ।

‘मान्छे चिन्नु, खसी किन्नु’

यो लोकोक्तिअनुसार खसीमात्रै किनेर हुँदैन, मान्छे पनि चिन्नुपर्छ । खसी किनिसकेपछि त्यो बाख्री परेछ वा बोका नै परेछ भने पनि मान्छे चिनेपछि सजिलो हुने मानिन्छ । अहिले माधव नेपालका निम्ति मान्छे चिन्नुपर्ने समय आएको छ ।

महाधिवेशनको बेला माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका घनश्याम भुसालसँग उनको निकट देखिएर त्यता मिल्न गएका को को थिए ? ‘फलानो मान्छेलाई तपाईंको टीमबाट महासचिवमा उठाइदिनुस्, माधव नेपाललाई सर्वमान्य नेता हुन हामी तयार पार्छौं’ भन्ने को थियो ? ‘माधव नेपालको टीमबाट म महासचिवमा उठिनँ भने घनश्यामको टीमबाट कन्फर्म भइसक्यो’ भन्ने को थियो ?

बादल फाटेको छैन

नेकपा एकीकृत समाजवादी एउटा सामान्य राजनीतिक दलमात्रै हैन । यो विद्रोह हो । यसका राजनीतिक आधार र कारण छन् । राष्ट्रिय राजनीति र वामपन्थी आन्दोलनका हकमा निश्चित कार्यभारभित्र यो विद्रोह आधारित छ । अहंकारी र व्यक्तिवादीका लागि यो ‘गुच्चा खेले जस्तो’, तर विद्रोहीका लागि त्यो ‘गुच्चा’ हैन, तातो गोली हो । त्यसले अहंकारीको शीरमा दफन गर्नुपर्छ, गर्छ, तर यसरी हैन ।

अनगिन्ती प्रदूषणले आकाशदेखि जमिनसम्म ढाकेका छन् । त्यसका निम्ति बादल फाट्नुपर्छ, वर्षा हुनुपर्छ । यसपछि विद्रोहको आँधी चल्छ । त्यो आँधीबाट सुन्दर सृष्टिका पक्षमा अगाडि बढ्न तयार पंक्ति त्यहीभित्र छ । माधव नेपालले त्यसलाई चिन्नुपर्छ । आँधीमा भाग्नेहरु आकाशमा बादल मडारिँदा चिनिँदैनन्, तर छिटपुट वर्षामै चाल पाउनुपर्छ, बादल र जमिनमा कस्ता कस्ता प्रदूषण छन् ।

0Shares
Advertisment