२०७९ सालको निर्वाचनपश्चात सम्पन्न संसदको कार्यकाल पूरा नहुँदै आगामी २०८२ फागुन २१ गते त्यही संसदका लागि नयाँ निर्वाचन तोकिएको छ । अहिले देश २७५ जना प्रतिनिधिसभा सदस्यको लागि नयाँ जनादेश चयनको प्रकृयामा छ । जसले देशमा फेरि नयाँ सरकार र नेतृत्व चयन गर्ने मुख्य माध्यमको रूपमा काम गर्दछ ।
गएको भदौ २३ र २४ मा अप्रत्याशित जेन्जी आन्दोलन भएपछि देशका सबैजसो निकाय तहसनहस भए । तत्कालीन प्रधानमन्त्री केपी ओली नै बालुवाटारबाट भाग्नुपर्ने अवस्था आएर संसद् नै भंग भएपछि देशमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी निर्वाचनको मिति घोषणा गरेको होे । यसपालि विशेष गरी नयाँ मतदाताहरूको बढ्दो भूमिका देखिएको छ, जसले राजनीतिक परिवर्तन र युवाहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गरिरहेको छ । यसै सन्दर्भमा चितवन जिल्लाको निर्वाचन वस्तुस्थितिलाई यहाँ सकेसम्म सुक्ष्म ढंगले केलाउने प्रयास गरिएको छ । देशका हरेक निर्वाचन क्षेत्र उत्तिकै महत्वपूर्ण भएपनि यहाँ चितवनका ३ वटा निर्वाचन क्षेत्रलाई मात्र विशेष रुपमा केलाउने प्रयास गरिएको छ । विगतका निर्वाचनमा भएका तथ्य तथ्याँंक र सम्बन्धित दलका उम्मेदवारले प्राप्त मत प्रस्तुत गर्दै सोहि परिणामलाई आधार मानेर आगामी निर्वाचन बारे पनि यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ ।
संक्षेपमा, फागुन २१ गतेको निर्वाचन नेपालको संवैधानिक, राजनीतिक र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउने एक नियमित र आवश्यक कदम हो, जसले देशमा स्थिरता, जनप्रतिनिधित्व र लोकतान्त्रिक शासन दृढ पार्ने उद्देश्य राख्दछ । यसका लागि चितवन जिल्ला, यहाँका मतदाता र आगामी निर्वाचनबाट चुनिने जनप्रतिनिधिको ठूलो भूमिका रहन्छ ।
लामो समयदेखि ठूला दल अर्थात् एमाले, काँग्रेस र माओवादीका गढ र भोट बैंक भनिने चितवनका क्षेत्रहरुमा २०७९ को निर्वाचनले नयाँ जनप्रतिनिधिलाई अनुमोदन भयो । अर्थात्, उतिबेला सम्पन्न निर्वाचनले चितवनलाई समेत नयाँ जनादेश दिएर गयो । नयाँ दल र उम्मेदवारले बाजी मारे । यसपछि विशेष कारणवश सम्पन्न चितवन २ को उपनिर्वाचनबाट पनि झन् बढि मतका साथ रवि लामिछाने निर्वाचित भए । यस कुराले के पुष्टि गर्छ भने उही र उस्तै प्रकृतिका अनुहारहरु बारम्बार उम्मेदवारको रुपमा प्रस्तुत भएपछि मतदाताले अन्ततः नयाँ र परीक्षण हुन बाँकी उम्मेदवारलाई सहजै विश्वास गरेको अवस्था रहेको कुरालाई यसअघिको निर्वाचनले पुष्टि गरेको छ ।
चितवनको चित्र




निर्वाचन क्षेत्र निर्धारण आयोगले चितवनलाई ३ वटा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा बाँडेको छ । २०७४ अघि यहाँ ५ वटा निर्वाचन क्षेत्र थिए ।
राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिको सबै भूगोल समेटेर क्षेत्र नः १ कायम गरिएको छ । कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरका ९ वटा वडा ( १ देखि ५, ७, १० देखि १२ र २९) समेटेर निर्वाचन क्षेत्र नः २ निर्धारण गरिएको छ । यसैगरी भरतपुर महानगरका १९ वटा वडा (६, ८, ९ र १३ देखि २८) र माडी नगरपालिकाको भूभाग मिलाएर निर्वाचन क्षेत्र नः ३ बनाईएको छ ।
निर्धारण गरिएको निर्वाचन क्षेत्र अनुसार यसपालिको निर्वाचनमार्फत चितवनबाट ३ जना सांसद निर्वाचित हुनेछन् ।
चितवनमा यसपालि चार लाख ४२ हजार ८२ जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगले दिएको तथ्याँक अनुसार क्षेत्र नम्बर १ र ३ मा ७ प्रतिशत र २ मा करिब १० प्रतिशतले मतदाता बढेका छन् ।

नतिजालाई फर्केर हेर्दा
चितवनमा तीनवटा निर्वाचन क्षेत्र कायम भएपछिको नतिजालाई फर्केर हेर्ने हो भने आगामी निर्वाचनका विषयमा आँकलन गर्न केहि सहज पक्कै हुन्छ । ठ्याक्कै परिणाम उही र उस्तै नआएपनि उतिबेला दलले पाएको समानुपातिक मत र उम्मेदवारहरुले प्रत्यक्षमा पाएको मतलाई आधार मानेर आगामी निर्वाचनका विषयमा वहस गर्न पक्कै सजिलो चाहिँ हुनेछ । पछिल्लो २०७९ को निर्वाचनले चितवनबाट तीनजना संघीय सांसद र छजना प्रदेश सांसदलाई एकै दिनको मतदान पक्रियाबाट निर्वाचित गरेर पठाएको थियो ।
२०७४ को निर्वाचनमा एमाले–माओवादी मिलेर बनेको गठबन्धनले चितवनका सबै क्षेत्रमा निर्वाचन जितेको थियो । यसपटक भने यो गठबन्धन छिन्नभिन्न भएकाले नतिजा समेत अर्कै आयो । त्यसमाथि भर्खर खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित नतिजा हात पा¥यो । अझ प्रदेशमा समेत उसले उम्मेदवारी दर्ता गरेको भए नतिजा अर्कै आउन सक्थ्यो ।
२०७९ को निर्वाचन परिणाम केलाउनुअघि २०७४ मा चितवनको नतिजा विश्लेषण गर्नैपर्छ । किनभने २०७४ अघिका निर्वाचनमा प्रदेशको संरचना थिएन । एमाले–माओवादी एक भएर २०७४ को निर्वाचनमा भाग लिएका थिए । नतिजा पनि एमाले माओवादीको पोल्टामै गएको थियो । बाम गठबन्धनको तर्फबाट जो जो उम्मेदवार भए, उनैले फराकिलो मतान्तरले त्यतिबेला निर्वाचन जितेका थिए ।
२०७४ को निर्वाचनमा मूलधारमा रहेका राजनीतिक पार्टीहरुकै बाहुल्यता चितवनमा रह्यो । मुख्य प्रतिष्पर्धामा उनीहरु नै रहे । जसअनुसार २०७४ को निर्वाचनमा चितवन–१ मा सुरेन्द्रप्रसाद पाण्डे, २ मा कृष्णभक्त पोखरेल र ३ मा पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचित भएका थिए ।
निर्वाचन परिणाम आउनुअघि धेरैले २०७४ को निर्वाचन परिणामलाई समेत विश्लेषण गरेका थिए । अझ त्यसमाथि भर्खरै सम्पन्न स्थानीय निर्वाचनको प्रभाव चितवनमा कायम नै थियो । यो निर्वाचनमा सत्ता गठबन्धनमा पाँच दल एकातिर र एमाले आमनेसामने भएर निर्वाचनमा भाग लिएका थिए ।
विगतका निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धनका उम्मेदवारहरुले नै बिजय प्राप्त गर्ने भन्ने धेरैको बुझाइ पनि थियो । जसरी २०७४ मा बाम गठबन्धनले बिजय प्राप्त ग¥यो, उसैगरी २०७९ मा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु बिजय हुन्छन् भन्ने कुरा राजनीतिक विश्लेषकहरुले बताइरहेका थिए ।
स्थानीय निर्वाचनमा यही गठबन्धनलाई कायम राखेर निर्वाचनमा प्रतिष्पर्धा गर्दा पाएको मत परिणामले सत्ता गठबन्धनलाई आफ्नो पक्षमा नतिजा हात पार्न धेरै मेहनत गर्नुपर्ने देखिन्थेन । गठबन्धनका उम्मेदवारहरु यो निर्वाचनको परिणामप्रति ‘ओभर कन्फिडेन्स’ नै देखिन्थे । तर, अवस्था त्यस्तो भएन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चितवन–१ र रवि लामिछानेले चितवन–२ बाट विजय प्राप्त गरे । उनीहरु एक्लै चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए । यसैगरी राप्रपाका बिक्रम पाण्डेले चितवन–३ बाट बिजय प्राप्त गरे । उनी पनि आफ्नो पार्टीबाट एक्लै चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए ।

समानुपातिकको स्थिति
२०७९ को निर्वाचनमा मूलधारमा रहेका राजनीतिक पार्टीहरुकै बाहुल्यता चितवनमा रहेन । जबकी २०७४ को निर्वाचनमा मूलधारका राजनीतिक दलहरुबीच नै मुख्य प्रतिष्पर्धामा थियो । प्रत्यक्षमा मात्र होईन, खासगरी परम्परावादी पार्टीका रुपमा चिनिएका एमाले, काँग्रेस र माओवादीले समेत समानुपातिक मत पाउन सकेनन् । गुण र दोषका आधारमा प्रत्यक्षमा पार्टीले उठाएका उम्मेदवारको मत तलमाथि पर्न सक्ने आँकलन गर्न सकिन्छ । तर, पार्टीलाई जाने मत पनि स्वाभाविक रुपमा नआएपछि ती राजनीतिक दलप्रति जनताको वितृष्णा कतिसम्म रहेछ भन्ने प्रमाणित हुन्छ ।
समानुतिकतर्फ पनि नयाँ दल रास्वपालाई नै चितवनका जनताले रुचाएका थिए । २०७४ को निर्वाचनमा एमाले सहितको माओवादी केन्द्रसँग कांग्रेसले प्रतिस्पर्धा गरिरहेको बेलामा विवेकशिल साझा पार्टीले आफूलाई नयाँ राजनीतिक शक्तिको रुपमा उभ्याउने प्रयत्न गरेको थियो । २०७९मा त्यो हिस्सा ‘घण्टी’ तर्फ आकर्षित भएको देख्न र बुझ्न सकिन्थ्यो । यसैले जुनसुकै निर्वाचनमा पनि मतदाताको एउटा ठूलो हिस्साले विकल्पको खोजी गरिरहेको हुन्छ भन्ने कुरालाई राजनीतिक दलहरुले बुझ्न जरुरी छ ।

चितवनमा समानुपातिकतर्फ दलहरुले पाएको मत परिणामलाई हेर्दा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको देखिन्छ ।
२०७४ को निर्वाचनमा भने चितवनमा एमाले समानुपातिकतर्फ पहिलो दल बनेको थियो । समानुपातिकतर्फ यस निर्वाचनमा एमालेले ९३ हजार ५ सय ३४, काँग्रेसले ८१ ह्जार १०४, माओवादीले ४२ हजार ८ सय ५१ र विवेकशील साझाले ९ हजार ७०७ मत प्राप्त गरेका थिए ।
‘नो नट अगेन’ कि ‘वन्स मोर अगेन‘
चुनावताका सामाजिक सञ्जालमा एउटा ह्वीम आएको थियो,–‘नो नट अगेन ।’ अर्थात् फेरि पुराना नेतालाई मौका नदिउँ । यसको एउटै कारण थियो, हामीले पटक पटक जिताएर पठाएका नेताले हाम्रा लागि केहि गरेनन् । यसैले उनीहरुलाई बहिष्कार गर्नैपर्छ । समाजमा सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा यो नाराप्रति धेरै आकर्षित पनि भए । जसका कारण चितवनले २०७९ मा अपंत्यशित नतिजा प्राप्त गरेको थियो ।
जहिले पनि राजनीतिक दल र नेतृत्वप्रति जनताको एउटै गुनासो रहँदै आएको छ–‘नेताहरुले केहि गरेनन् । आफूमात्रै बने र आफ्नालाई मात्रै बनाए ।’ वास्तवमा ‘नो नट अगेन’ को नारा पनि यही भएर आएको थियो ।
पञ्चायतकालीन अवस्थादेखि नै पटकपटक ‘संस्थापन’ विरुद्धको मानसिकता’ निर्वाचन मार्फत प्रकट हुदै आएको छ । जितेका दलले जतिसुकै राम्रो र अरु सकारात्मक काम गरेपनि मतदाताले स्वीकार नगरेका कयौं उदाहरण भेटिन्छ । यसपालि चितवनमा पनि यही भएको हो भन्ने विश्लेषण छ । नत्र अघिल्लोपटक निर्वाचन जितेका चितवनका जनप्रतिनिधिले यहाँ राम्रै र सन्तोषजनक काम गरेका थिए । तर बामपन्थी गठबन्धन गरेर निर्वाचनमा गएपछि उनीहरुले जनताको अभिमत राम्रै पाएका थिए । यही अभिमत पछि गएर पार्टी एकीकरणसम्म पुगेर टुंगियो । जसअनुसार बामपन्थीको सरकार बन्यो ।
नतिजा फेरबदल हुनुका पछाडि नेपालको राजनीति फेरबदल हुनु पनि एउटा कारण बनेको छ । त्यसमाथि सधैभर गठबन्धन गर्ने र मोर्चा बनाउने कुरालाई पनि जनताले मन पराएनन् । एमाले र सत्ता गठबन्धनको यी दुबै क्रियाकलापलाई जनताले नियालिरहेका थिए । त्यसमाथि पछिल्लो समय राज्यसत्ता सम्हालेका दलहरुले गरेको व्यवहार र अरु यस्ता क्रियाकलापमाथि जनताले निर्वाचन मार्फत प्रतिक्रिया प्रकट गरेको अर्थका रुपमा पनि चितवनको निर्वाचन परिचित भयो ।
रास्वपा यतिबेला ‘नो नट अगेन’ भनेर पुराना दलहरुलाई नकार्न खोजिरहेको छ । ‘वन्स मोर अगेन‘ भनेर आफैलाई मैदानमा उभ्याएको छ । नेपाली काँग्रेस विशेष महाधिवेशनपछि रुपान्तरणको प्रकृयामा सामेल भएपछि अघिल्लो निर्वाचनभन्दा यसपटक उसको जनमत केहि बढ्नसक्ने देखिन्छ । एमाले महाधिवेशनपश्चात रुपान्तरण हुन खोजेपनि सकिरहेको छैन । यसको असर निर्वाचनमा देखिनेवाला छ ।
सम्भावित परिणाम
२०७४ र २०७९ को निर्वाचनमा प्राप्त प्रत्यक्ष तथा समानुपातिकतर्फको मत परिणाम, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचन लक्षित चुनावीप्रचारप्रसार, सामाजिक सञ्जालमा व्यक्त टिप्पणी र केही मतदातासँग गरिएका अनौपचारिक कुराकानीका आधारमा चितवनको चुनावी परिणामबारे केही आंकलन चाहिँ गर्न सकिन्छ ।
चितवनका तीनवटै क्षेत्रमा मुख्यरुपमा चार पार्टीका चारजना उम्मेवारबीच प्रतिष्पर्धा हुने देखिएको छ । अहिलेको अवस्थालाई हेर्दा रास्वपा, काँग्रेस, एमाले र नेकपाबीच नै तीब्र प्रतिष्पर्धा छ । २०७४ मा वाम गठबन्धन थियो । एमाले र माओवादी मिलेर चुनाव लडेका थिए । काँग्रेस एक्लै थियो । रास्वपा मैदानमा थिएन । २०७९ मा एमालेले एक्लै निर्वाचन लड्यो । विरुद्धमा माओवादी, समाजवादी र काँग्रेसको संयुक्त मोर्चा थियो । यसपटक कांग्रेस, एमाले र रास्वपा एकल रूपमा चुनावमा होमिएको छ । माओवादी र समाजवादी मिलेका छन् ।
चितवन १ मा रास्वपाबाट हरि ढकाल, काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी, एमालेबाट दावादोर्जे लामा र नेकपाबाट डा. कृष्णराज पन्त चुनावी मेदानमा छन् । २०५६ सालमा कांग्रेस नेतृ सावित्री बोगटी पाठकले निर्वाचन जिते यता चितवन– १ मा कांग्रेसका उम्मेदवारले जित्न सकेका छैनन् ।
२०६४, २०७०, २०७४ सालमा लगातार एमालेले जितेको यो निर्वाचन क्षेत्रमा २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जितेको हो । समानुपातिक तर्फको मतमा पनि रास्वपा पहिलो स्थानमा थियो ।
दोस्रोपटक चितवन–१ बाट उठेका ढकालले निर्वाचन जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा काम नगरेको आरोप छ । त्यही भएर उनलाई अघिल्लो बेलाको जस्तो सहज अवस्था छैन । तुलनात्मक रुपमा एमालेका लामाले मात्रै उनलाई कडा टक्कर दिँदैछन् । एमाले महाधिवेशनपश्चात केपी ओलीको रोजाइमा नपरेका सुरेन्द्र पाण्डे र उनका पक्षधरहरुले लामालाई खुलेर सहयोग नगरेको स्वयम् दावा निकाटका कार्यकर्ताहरुले गुनासो गरेका छन् । काँग्रैससँग विगतको गठबन्धन नहुँदा समस्या छ । माओवादी र समाजवादी मिलेर नेकपाबाट निर्वाचन लडेका पन्त व्यक्तिगत रुपमा राम्रा मानिएपनि पार्टीको जनाधार नहुँदा समस्यामा पर्ने देखिन्छ । यसैले ढकालले विगतमा आफूले प्रत्यक्षमा र समानुपातिकमा पार्टीले पाएको मतलाई जोगाउन सके भने चितवन १ को जनादेश उनको पक्षमा जाने सम्भावना छ ।
चितवन २ मा यसपटक रास्वपाबाट रवि लामिछाने, काँग्रेसबाट मीना खरेल, एमालेबाट अस्मिन घिमिरे र नेकपाबाट प्रताप गुरुङ चुनावी मेदानमा छन् । २०६४ सालमा क्षेत्र नं ३ मा रहेको यो क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । २०७० र २०७४ को निर्वाचनमा लगातार नेकपा (एमाले)ले जितेको यो क्षेत्रमा २०७९ को निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका थिए । २०८० को उपनिर्वाचनमा लामिछाने पुनः निर्वाचित भए ।
दोहोरो राहदानी सम्बन्धी मुद्दा झेलेका लामिछानेले पछिल्लो समय सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा धरौटी तथा बिगो तिरेर रिहा भएका हुन् । उनी जनताको यो प्रश्नबाट भाग्न सकेका छैनन् । यद्दपि देशव्यापी रुपमा उनीप्रति देखिएको जनलहरलाई नकार्न सकिन्न । जतिसुकै विवादमा तानिएपनि उनीप्रतिको मोह जनताले अझै टुटाएका छैनन् । दुई पटकसम्म भएको निर्वाचनमा उनले आफ्ना प्रतिष्पर्धिलाई ठूलो मतान्तरका साथ उछिनेका थिए । यसपालि यस क्षेत्रमा एमाले र नेकपाका उम्मेदवार पहिलेभन्दा कमजोर छन् । यसको फाइदा सोझै रविलाई जाने निश्चित छ । तुलनात्मक रुपमा काँग्रेसले यसपटक आफ्ना कार्यकर्तालाई सम्हालेको छ । अघिल्ला निर्वाचनमा कांग्रेसभित्र मतभेद, विवाद र असहयोग हुने गर्थे । अहिले भने यसपटक मीनाका बारेमा कांग्रेस चितवनमा एकढिक्का भएको छ । खरेल चितवनकी चर्चित सामाजिक अभियानकर्मी पनि हुन् । यसैले खरेल यसपालि रवी लामिछानेका लागि कडा प्रतिष्पर्धि हुन् । यस क्षेत्रमा एमालेले पहिले पाएको मत पनि गुमाउने सम्भावना छ । नेकपाले आफ्नो मतलाई स्थिर राख्न सक्छ । काँग्रेसले अघिल्लो निर्वाचनको तुलनामा आफ्नो मत बढाएपनि जनादेश रविकै पक्षमा जाने सम्भावना छ । चितवन–२ रास्वपाको प्रभाव क्षेत्र पनि हो ।
चितवन ३ मा यसपटक रास्वपाबाट सोविता गौतम, काँग्रेसबाट टेकप्रसाद गुरूङ, एमालेबाट शंकरराज थपलिया, नेकपाबाट रेणु दाहाल र राप्रपाबाट दिपक थापा मगर चुनावी मेदानमा छन् ।
देशको राजनीतिक प्रभावले स्थानीय नेताहरुलाई समस्यामा पार्ने क्षेत्र हो, चितवन ३ । कांग्रेसलाई २०७० पछि बल्ल संसदीय चुनावमा रुखमा मत हाल्ने अवसर जुरेको छ । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनपछि चितवन–३ मा एमालेले पहिलोपटक प्रत्यक्षमा आफ्नै उम्मेदवार उठाएको छ । यी सबैका फाइदा तुलनात्मक रुपमा यसअघि राप्रपाका बिक्रम पाण्डैलै लिँदै आएका थिए । २०७४ मा राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको कांग्रेसले २०७९ मा माओवादी उम्मेदवार डा. भोजराज अधिकारीलाई सघाएको थियो । भरतपुर महानगरमा भएका २०७४ र २०७९ को निर्वाचनमा पनि मेयरमा रुखमा भोट हाल्न पाएनन्, कांग्रेसका मतदाताले ।
२१ फागुनको निर्वाचनका लागि कांग्रेसले चितवन–३ मा अनुभवी र विवादरहित नेता टेकप्रसाद गुरूङलाई उम्मेदवार उठाएपनि उनको पक्षमा जनादेश जाने सम्भावना छैन । २०७४ सालमा प्रचण्डलाई समर्थन गरेको एमालेले २०७९ मा कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई साथ दिएको थियो ।
दुई पटक भरतपुर महानगरपालिका प्रमुख बनेकी रेनु दाहालले नेकपाको तर्फबाट चितवन–३ मा उम्मेदवारी दिएकी छन् । जताततै रास्वपाकै चर्चा चलेका बेला यसपालि सोविता गौतमलाई रेणु दाहालले कडा टक्कर दिने सम्भावना छ । गौतम र दाहाल दुबैको निर्वाचन प्रचार प्रसार निकै आक्रामक छ । यसको तुलनामा काँग्रेसको प्रचार यस क्षेत्रमा अलि सुस्त देखिन्छ । यद्दपि यो क्षेत्र काँग्रेसको प्रभाव क्षेत्र हो । विगतमा आफ्ना कार्यकर्तालाई समेट्न नसक्दाको परिणाम ती कार्यकर्ता रास्वपातर्फ आकर्षित छन् ।
यसअघि काठमाडौं–२ बाट जितेकी गौतम आएपछि रास्वपाका कार्यकर्ता उत्साहित देखिन्छन् । चुनावी दौरानमा देखिएको प्रचार उपस्थितिले पनि यही देखाउँछ ।
२०७९ सालको निर्वाचनमा रास्वपाले चितवन–३ बाहेक सबै क्षेत्र जितेको थियो । त्यतिबेला जीता बराललाई चुनावमा उठाएको थियो । उनले १४ हजार ८४३ मत प्राप्त गरिन् । जबकी रास्वपाले समानुपातिकमा ल्याएको मत बरालको भन्दा झन्डै दोब्बर थियो । त्यतिबेला रास्वपाले २८ हजार ४०१ मत प्राप्त गरेको थियो ।
पार्टीको कमजोर जनधार भए पनि पटक–पटक जित निकाल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे यसपटक चितवन– ३ मा उम्मेदवार छैनन् । २०७४ मा नेपाली कांग्रेससँग मिल्दासमेत जित निकाल्न नसकेका पाण्डेले २०७९ मा एक्लै निर्वाचन लडेर जित निकालेका थिए ।
गौतमका लागि दाहाल चुनौती बन्ने देखिएपनि चितवन ३ मा रास्वपाकी गौतमकै पक्षमा जनादेश जाने सम्भावना छ ।
२०७९ को निर्वाचनमार्फत रास्वपा चितवन १ र २ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतमा पहिलो भएको थियो । यो मत जोगाउने र बढेको मतदाताको मतसमेत थप्ने कसरतमा रास्वपा छ । यसैगरी चितवन ३ मा प्रत्यक्षमा बढि मत नल्याएपनि समानुपातिकमा बढि मत उसैले ल्याएको थियो । यसपालि चर्चित उम्मेदवारलाई उठाएपछि यसको प्रत्यक्ष र समानुपातिक दुवैको फाइदा रास्वपालाई जाने भएकाले चितवनमा रास्वपालाई सहज जितको ढोका खुल्नसक्ने सम्भावना बढेर गएको छ ।
(निर्वाचनसम्बन्धी परिणाम र अन्य तथ्याँक निर्वाचन आयोगबाट लिइएको हो ।)



