पोखराका पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी नवलपरासी,चितवन र तनहुँका धार्मिक क्षेत्रका भ्रमण र छलफलमा

त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्दै छलफलमा सहभागीहरुले आवागमन सहज बनाउन सडक सञ्जाल जाँडै जोडिनुपर्ने बताए

0Shares

पोखरा, २५ मङ्सिर । नेपाल पर्यटक यातायात व्यवयासी संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, पोखराले वरिपरिका जिल्लाबाट पर्यटक ल्याएर कोरोनाले सुस्ताएको पोखरेली पर्यटनलाई पुनर्ताजगी दिन विभिन्न जिल्लाको धार्मिक क्षेत्रको भ्रमण गरेका छन् । त्यहाँ पुगेर उनीहरुले पर्यटन साझेदारीको लागि सरोकारवालासँग छलफल गरेका छन । त्यसलाई उनीहरुले सहकार्यमा धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण भनेका छन् । तीन दिने सो भ्रमणका क्रममा सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, सास्वत धाम, कैलाश आश्रम, चितवनको वाल्मिकी आश्रम, तनहुँको देवघाट लगायतका स्थानमा सरोकारवालासँगको छलफल सम्पन्न भएको छ । यसले कोरोनापछिका दिनमा पर्यटक आदानप्रदानमा बल पुग्ने विश्वास लिइएको छ ।

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले प्रदेश सरकारले नवलपुरको समग्र विकासका लागि पनि प्राथमिकता दिएको धारणा राख्नुभयो । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले यो भ्रमणबाट आपसमा पर्यटक साटासाट गर्न र अन्तर जिल्ला भ्रमणसहित पर्यटन साझेदारीको खाका कोरीएको छ भन्नुभयो । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसी र अर्का पूर्व अध्यक्ष सोमबहादुर थापाले आगामी दिनमा पर्यटन चलाएमान बनाउन कार्यक्रम फलदायी भएको बताउनुभयो । परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जिवी पोखरेलले यो कार्यक्रमबाट पर्यटकीय नगरी पोखरासँग नवलपुरको पर्यटकीय साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिनुभयो । त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्दै छलफलमा सहभागीहरुले आवागमन सहज बनाउन सडक सञ्जाल जाँडै जोडिनुपर्ने बताए ।

0Shares
Advertisment