कमलाको दोहोरीले समीक्षालाई चोट

0Shares

काठमाडौं । कलिलै उमेरमा लोकदोहोरीमा जमेकी बाल कलाकार हुन् कमला घिमिरे । ७ वर्षकै उमेरदेखि लोकदोहोरीका हस्तिहरूसँग टक्कर गरेर नाम कमाइन् उनले । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ ।

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए । छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् ।

उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा यो दोहोरी गाएका छन् ।

सुमनले कमलालाई यसरी जिस्काउँछन्:

ती गाला देखेसी कस्तो कस्तो भो

मुस्ताङको स्याउजस्तै टोकुँ जस्तो भो

कमलाले यसमा जवाफ दिन्छिन्

न कोहीलाई भेट्न भनी आकी छ

होस गर अठार कट्नै बाँकी छ

यहाँबाट आउँछ दोहोरीमा ट्विस्ट । त्यसपछिका टुक्काहरू यस्ता छन् ः

सुमन

मन मिले अहिले नै नजिक सरम्ला

अठार कटेसी बिहे गरे गरम्ला

कमला

जानु है बेलुकी पानी पिएर

घुम्न जाऊँ तल्तिर १० लाख लिएर

सुमन

नानीको कुराले सातो गयो नि

दश लाखको माया त महँगो भयो नि

कमला

यस्तै हो छोडिदेऊ अब संसार

चल्न त परिगो कोही कोही अन्सार

सुमन

यो तालले मायामा कहाँ फस्छु म

द–दस लाख तिर्दिन एक्लै बस्छु म

कमला

ढिला भो अब त घर जानलाई

जाम हिँन होटल कफी खानलाई

सुमन

म फस्न चाहन्न होटल धाएर

यतै गफ गरम्ला पानी खाएर

कमला

भेट्नेछु फेरि नि अब आउने दिन

क्यामरा अन गर्छु पख एकैछिन

सुमन

चिया नि कफी नि उतै खान्छु है

पेट काट्ला जस्तो भो घर जान्छु

कमला

हेर त एकचोटि मेरो आँखामा

नदाजौं मायालाई दस–बीस लाखमा

०००

यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगर १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन् । तर, आलोचनाका स्वरहरू पनि सुनिन थालेका छन् ।

हालैको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रहेकी कलाकार जमुना सुमनले फेसबुकमा कमलाको आलोचना गरेकी छन् ।

उनको स्टाटस छ, ‘कमला बैनी कति छिटो ठूली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।

लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् । पल शाह त्यति माथि पुगेको मान्छेले कानून नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।

ढकालले अर्को स्टाटसमा समीक्षालाई यस विषयमा कानूनी उपचार खोज्न समेत सुझाव दिएका छन् ।

टिकटकमा भने अधिकांश प्रतिक्रिया कमलाको समर्थनमा छन् । टिनएजर केटीहरूले कानूनको आडमा केटाहरूलाई फसाएर जेल पुर्‍याउने विकृति बढेको भन्दै सत्य उजागर गरेकोमा धेरैले कमलालाई धन्यवाद समेत दिएका छन् ।

संयोग हो वा के हो यो गीत सार्वजनिक भएको दुई दिनपछि गायिका समीक्षा अधिकारीले मध्यरातमा हताश स्टाटस लेखेकी थिइन् । केही बेरमा उनले सो स्टाटस हटाइन् । स्रोतका अनुसार केही दिनदेखि समीक्षाको मानसिक स्वास्थ्य राम्रो छैन । यो गीत र यसमा आएका प्रतिक्रियाहरूले उनलाई फेरि चोट थपेको निकट स्रोतको भनाइ छ ।

0Shares
Advertisment