नेपालसँगको खेलपछि आफ्नै खेलाडीमाथि खनिए भारतीय कप्तान रोहित शर्मा

0Shares

काठमाडौँ । एसिया कप क्रिकेटमा सोमबार नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हरायो । उक्त जितसँगै भारत प्रतियोगिताको ‘सुपर फोर’ पुग्यो भने नेपाल घर फर्कन बाध्य भयो । समूह ‘ए’ बाट आयोजक पाकिस्तान पहिलो र भारत दोस्रो हुँदै ‘सुपर फोर’ चरणमा पुगेका हुन् ।

तर, सात पटक एसिया कप जितिसकेको राष्ट्र भारतलाई पहिलो पटक एसिया कप खेलिरहेको नेपालले अन्तिम समयसम्म गतिलो चुनौती दियो । खेल सुरु हुनुअघि भारतले नेपाललाई सामान्य प्रतिद्वन्द्वीको रूपमा लिएको थियो । तर, नेपालले अविश्वासीलो ब्याटिङ गर्दै दुई सय ३१ रनको लक्ष्य अगाडि सारेपछि भारत गम्भीर बनेको थियो ।

पटक—पटक वर्षाका कारण रोकिँदै पुनः सुरु भएको खेल त भारतले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा जित्यो तर, खेलपछि भारतीय खेलाडी नै नेपाली खेलाडीको प्रदर्शनको कायल बन्न पुगे । वास्तवमा नेपाली खेलाडीले भारतलाई उसले सोचेजस्तो सजिलो तरिकाले खेल जित्न दिएनन् ।

त्यसैको प्रतिफल हो खेल जितेपछि पनि भारतीय टोलीका अनुभवी कप्तान रोहित शर्मा आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिएनन् । खास गरी नेपालविरुद्वको खेलमा आफ्ना बलर र फिल्डरको प्रदर्शनबाट निकै रुष्ट बने ।

‘सायद यो खेललाई हामी सुखद अनुभूतिका रूपमा लामो समयसम्म सम्झिरहन चाहँदैनौ । हाम्रा लागि यो नमिठो अनुभव हो । हामीले नेपालविरुद्काे खेलमा न राम्रो बलिङ गर्न सक्यौँ न त सुधारिएको फिल्डिङ नै । समग्रमा हाम्रो प्रदर्शन सन्तोषजनक रहेन,’ भारतीय कप्तानले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनेका छन् ।

खास गरी बलर र फिल्डरको प्रदर्शनबाट आफू निराश भएको उनले बताएका छन् । खेलको प्रारम्भमै भारतीय फिल्डरहरुले नेपाली टोलीका दुबै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेखको तीनवटा क्याच छाडेका थिए ।

सुरुको पाँच ओभरभित्रै भारतका श्रेयस ऐयर, विराट कोहली र विकेटकिपर इशान किसनले कुशल भुर्तेल र आसिफ शेखको क्याच छाडेका थिए । त्यसपछि आसिफले ५८ र कुशलले ३८ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको नेपालले भारतलाई दुई सय ३१ रनको सम्मानजनक लक्ष्य दिएको थियो ।

खेलका क्रममा आफ्ना फिल्डरले पनि गतिलो प्रदर्शन गर्न नसकेको भारतीय कप्तानको गुनासो छ । उनले आगामी खेलमा यस्तो प्रदर्शनले टोलीलाई अगाडि बढाउन अप्ठ्यारो पर्ने पनि उनले बताएका छन् ।

‘हामी प्रतियोगिताको सुपर फोर चरणमा पुगिसकेका छौँ । अबको खेलमा पनि यस्तै प्रदर्शन दोहोरियो भने हाम्रा लागि समस्या हुनसक्छ । त्यसैले हामीसँग आफ्नो प्रदर्शनमा सुधार ल्याउनुको विकल्प छैन,’ कप्तान रोहित शर्माले भनेका छन् ।

 

0Shares
Advertisment