शेयर बजारमा उच्च गिरावट

26Shares

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो ।

१२ करोडको सीमाले बजार प्रभावित भएको भन्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका सेयर लगानीकता उक्त सीमा बढाउँदा समेत खासै सकारात्मक मनोविज्ञान बनाउन नसकेको बताउँछन् । राष्ट्र बैंकले १२ करोडको सीमा बढाउने बहानामा खर्बौंको सेयर बजारमाथि खेलाँची गरेको आरोप लगानीकताले लगाएका छन् ।

जसले गर्दा १२ करोडको सीमा बढे पनि सेयर बजार भने बढ्न सकेन । आइतबार बजार परिसूचक नेप्से ३५.६७ अंकले गिरावट आउँदा १९२१.२४ को बिन्दुमा बन्द भएको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.७२ प्रतिशतको गिरावट भएको छ । अन्य उपसूचकहरु होटल तथा पर्यटनमा २.३५ प्रतिशत, जीवन बीमामा २.२८ प्रतिशत, लगानीमा २.०१ प्रतिशत गिरावट भएको छ ।

नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकममा भने बढेको छ । गत बिहीबार १ अर्ब १० करोड र बुधबार १ अर्ब १९ करोडमा सीमित भएको कारोबार रकम आइतबार भने बढेर १ अर्ब ८० करोड १७ लाख ६६ हजार पुगेको छ ।

आइतबार कुल ५९ हजार १७१ वटा कारोबारमा ५८ लाख १५ हजार १८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक ६ करोड ७३ लाख ८१ हजार रुपैयाँको कारोबार हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ कारोबार भएको छ ।

आइतबार बजारमा कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेर बन्द हुँदा २१३ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले वृद्धि, सिद्धार्थ इन्भेष्टमेन्ट स्किम २ कम्पनीको सेयरमूल्य ९.४० प्रतिशत र सयपत्री हाइड्रोपाव कम्पनीको सेयरमूल्य २.७८ प्रतिशतले बढेको छ ।

हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चरको सेयरमूल्य समान १०/१० प्रतिशतले गिरावट भएर बन्द भएको हो ।

26Shares
Advertisment