एक वर्षमा झण्डै ७१ हजार नेपाली विदेशमा स्थायी बसोबासका लागि प्रस्थान

0Shares

काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेश जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताउनु भयो । तामाङका अनुसार यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएका छन् ।

पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्नेगरी गएको उनले आँकडा प्रस्तुत गरे । महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको संख्या समावेश नभएको बताए ।
सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएको सुनाउँदै उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको जानकारी गराए । भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको छ ।

सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको पनि बैठकमा जानकारी गराइयो । सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निष्कासन गरिएको भन्दै तामाङले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए ।

0Shares
Advertisment