भरतपुर विमानस्थल विस्तारका लागि आजदेखि सर्भे गरिने

0Shares

चितवन । चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रकि्रया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ ।

सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो ।

समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ ।

विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस -अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए ।

सर्भेको रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ ।

नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ ।

गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले विमानस्थलको रनवे विस्तारका लागि हाल रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय गरेको हो ।

विमानस्थलको पूर्वतर्फ नीजि जमिन भएकोले विस्तार गर्न सक्ने अवस्था छैन । ती जग्गामा प्राधिकरणले भवन निर्माणको काम र तला थप गर्न रोक लागएको छ ।

विमानस्थलको पश्चिमतर्फ रहेको पश्चिम चितवन जाने सडकलाई पनि विस्तारित विमानस्थलको छेउमा सार्नुपर्दछ ।

संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलगायत संरचना छन् ।

हाल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ ।

पूर्वतर्फका मानवीय संरचनाका कारणले विमानहरुले १२ सय सय मिटर रनवे पनि प्रयोग गर्न सक्दैनन् । विस्तार गरेपछि विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटर बन्नेछ ।

विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान-अवतरण गर्न सक्दैनन् ।

विमानस्थल विस्तार भएपछि ठूला क्षमताका जहाज आउने, महँगो भाडा घट्ने, रात्रिकालीन उडान हुने अपेक्षा गरिएको छ । विमानस्थल विस्तार पछि जहाजको ˆयुल पम्प यहीँ निर्माण हुनेछ ।

अहिले भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँको लागतमा विमानस्थलको नयाँ टर्मिनल भवन पनि बनिरहेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, अन्तर्राष्ट्रिय सिटी हल, देशकै तेस्रो पर्यटकीय गन्तब्य, आर्थिक राजधानी, मेडिकल सिटी भएको कारणले विमानस्थलको विस्तार अति आवश्यक भएको बताइन् ।

0Shares
Advertisment