केही महिनाअघि भरतपुरका स्थानीय दोहोरी साँझमा काम गर्ने महिलाहरुको अवस्थाबारे विस्तृत रिपोर्टिङका क्रममा थिएँ । त्यस बेला एक महिलासँग सम्पर्क भयो । उनले दोहोरीमा हप्ता दिनमात्रै काम गएर छोडेकी थिइन् ।
छोरा जन्मिन्छ र माया पाउँछु कि भन्ने उनको आशा थियो । दोस्रो गर्भ पनि रह्यो, तर रक्सीले मातेका श्रीमानले सुत्केरी अवस्थामै रगतको आहालमा डुबाएर बेहोस भइ अस्पताल ल्याउँदाको घटनासमेत उनले सुनाएकी थिइन् ।
दैनदिनको यातना सहन नसक्ने अवस्था भएपछि छरछिमेक र गाउँलेले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न सुझाएको उनको भनाइ छ । त्यसपछि एक्लै संघर्ष गरेर भए पनि यातनाविहीन जीवन बिताउन थालेको उनले सुनाइन् ।
चितवन माडीकी अर्की एक अधवैंशे महिलालाई त श्रीमानले यतिसम्म यातना दिएका थिए कि उनको यौनाङ्गमै पन्युँको डाँठ घुसाइदिएका थिए । जिल्ला अदालत चितवनमा दुई वर्षअघि ती महिलाले दर्ता गरेको मुद्दामै उनले उल्लेख गरेकी थिइन्, ‘रक्सीले मातेर आएका श्रीमानले कुट्दाकुट्दै यौनाङ्गमा नै पन्युँ घुसाइदिए ।’
यी र यस्तै लोग्नेले दिएका अनगिन्ती यातनाले प्रताडित महिला धेरै छन् । यद्यपि सबै पुरुष खत्तम हुन्छन् भन्ने होइन ।
मानिस आदिम युगदेखि समूहमा बस्दै आयो । विस्तारै आधुनिक मानवको विकासक्रमसँगै कृषि, पशुपालन हुँदै औद्योगिक समाजतिर विकास हुँदै गयो । सँगै परिवार संस्थाको पनि उदय भयो । परिवारका सदस्यहरु श्रमशक्तिका रुपमा उदय हुँदै गए । सम्पत्तिको अवधारणा आयो र सँगै आयो सम्पत्तिमाथि नियन्त्रण गर्दै शक्ति प्राप्त गर्ने सामाजिक अवस्था । तिनै समयदेखि समाजमा वर्गको पनि उदय हुँदै आएको धेरै अध्येताले पटकपटक अध्ययनबाट पुष्टि गर्दै आएका छन् ।
शक्तिको उदयअघि नै मानिसहरु अदृश्य शक्तिमा पनि विश्वास गर्थे । ती शक्तिको प्रभाव प्रकृतिमा हुने प्रकोपहरुदेखि मानिसको दुर्घटना, मृत्युसम्ममा हुने उनीहरुको विश्वास थियो । विस्तारै तिनै विश्वास सभ्यताको रुपमा विकास हुँदै आयो । पूर्वीय र पाश्चात्य सभ्यताको रुपमा मानव समाज र विश्व भूगोलको खण्डका आधारमा समाजशास्त्रीहरुले सभ्यताको उद्भवका विवरण उल्लेख गर्दै आएका छन् ।
सभ्यताको विकासका क्रममा विकास भएको पूर्वीय सभ्यताको आधारभूमि विभिन्न धर्ममध्ये एउटा हिन्दू हो । जसले मोक्ष प्राप्तिलाई अन्तिम लक्ष्य मानेको छ । हिन्दू धर्म मान्नेहरु वेदलाई आफ्नो मूल ग्रन्थ मान्छन्, वेदको अध्ययन गर्नेहरु ज्ञानी मानिन्छन् । उनीहरु अध्येताको रुपमा गनिँदै आए । यो प्रक्रिया ज्ञानका आधारमा आजपर्यन्त छ ।
समाजको मान्यताअनुसार पशुपतिमा चलेको कोटीहोम, यहाँ आफ्ना प्रवचन दिएका दुई विदुषी पनि अध्येता नै हुन्। उनीहरूमध्यकी एक देवी प्रतिभा उपमाकी भागवत वाचकले आफ्नो धारा प्रवाह वाचनमा महिलाहरुलाई ‘पति जस्तो भए पनि विवाह गरेपछि डिभोर्स गर्न नहुने’ बताइन् र एकै स्वरमा हात उठाएर महिलाहरुले उनको समर्थन गरे ।
उनले उमेरमा बुढो, जतिसुकै खराब भए पनि पति धर्म छोड्नुहुन्न र सम्बन्ध विच्छेद गर्नुहुन्न भन्दै तर्क दिइन्, ‘हिन्दू धर्ममा सम्बन्ध विच्छेद शब्द नै छैन ।’ उनको तर्कमा महिलाहरुले परर्र ताली पिटे । मानौं पशुपतिमा जम्मा भएका उनीहरु आज होइन सयौं वर्षअघिको समाजमा छन्, जहाँ महिलाको स्वतन्त्र अस्तित्व शून्य छ ।
नेपालको अदालतमा सबैभन्दा पहिलो सूचीमा सम्बन्ध विच्छेदको मुद्दा छन् । आर्थिक वर्ष २०८०/०८१ को देशभरका अदालत पुगेका घटनाहरुको अन्तिम विवरण सर्वोच्च अदालतले प्रकाशित गरेको छैन । यसअघिको आर्थिक वर्ष सर्वोच्च अदालतको तथ्याङ्कले अदालतमा पुगेका मुद्दाहरुमध्ये पहिलो नम्बरमा सम्बन्ध विच्छेद रहेको देखाएको छ ।
४० हजार १८३ वटा सम्बन्ध विच्छेदका मुद्दा देशभरका अदालतमा दर्ता रहेको देखाएको छ । जसको आधार मानिने हिंसामा देशभरका तथ्याङ्कमा ८० प्रतिशत घरेलु हिंसाका घटना प्रहरीमा पुगेको नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क छ ।
अदालतमा सबैभन्दा पहिलो सूचीमा रहेको सम्बन्ध विच्छेदको घटनाले पनि समाजमा पछिल्ला दिनमा बढ्दै गएको पतिपत्नीको सम्बन्धमा बेमेलको कारण मिहिन रुपमा खोज्नुपर्ने ठाउँमा हामी उभिएका छौं । यद्यपि सम्बन्धमा टिक्नै नसक्ने अवस्थामा पूरै महिलाको जमातलाई आफ्नो मृदुभाषी प्रवचनले लठ्ठ बनाएर जतिसुकै खराब भए पनि छोड्नहुँदैन भन्ने सन्देश समय र समाज अनुकूल छ त ?
समाज समयसँगै परिवर्तन हुन्छ । मानव विकासको नियमसँगै परिवर्तित समाजमा धर्म मूल कानून थियो । पछि परिवर्तन भएर जनताले स्वीकार गरेका प्रतिनिधिले आफूलाई नियमन गर्ने कानून आफैंले बनाए । त्यही कानून अहिले आधुनिक सभ्यताको समाज अघि बढाउने दायरा, सीमाहरु हुन्, वर्तमान सुहाउँदो व्यवहार गर्ने आधारहरु हुन् । छोरीहरु चौघेरा नाघेर अघि बढ्ने अवस्थामा लोग्नेले चरित्रमा शंका गरेको कारण देहत्याग गरेका सीता माताका जस्ता कथाहरु स्वीकार गर्ने समय आज छैन ।
सामाजिक आर्थिक दायरा फराकिलो हुँदै गएका छन् । न छोरा न त छोरी समाजमा मानिस एक्लो पहिचानमा स्थापित भइसकेका छन् । आत्मनिर्भर बाँचिरहेका छन् । समतामूलक राज्य निर्माण गर्ने मूल मर्म रहेको संविधान कार्यान्वयनमा रहेको देशमा गरिने प्रवचन जति नै ठूलो मानिसबाट दिइएको किन नहोस्, हिन्दू वा अरु कुनै धर्मका नाममा असमानता स्वीकार गर भन्नु संविधानविपरीतको अभिव्यक्ति हो ।
असमानतालाई आत्मसात गर वा हिंसा सहेर विवाहको जीवन चुपचाप स्वीकार गर भन्ने समाजका एक वर्गलाई खुलमखुला अन्याय सहन प्रेरित गर्ने प्रवचनहरु सामान्य लाग्छ भने सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न सकिने कानून किन बन्यो ? राज्यले किन स्वीकार गर्यो ?
यो विषय प्रवचन दिने व्यक्तिले हवाला दिएको हिन्दू धर्मको पक्ष विपक्षमा उभिएर बहस गर्ने विषय नै होइन । कानूनी शासन भएको राज्यमा असमानताको पक्षपोषणको सार्वजनिक अभिव्यक्ति स्वतः कानूनविपरीत हो । कानूनले अस्वीकार गरेको धार्मिक, लैंगिक, जातीयलगायतका आधारमा असमान व्यवहार नगरिने मूल मर्मलाई आँच आउनेगरी ठूलो समूहलाई प्रभावित गर्ने अनि त्यही विषयमा टिप्पणी हुँदा जतिसुकै धार्मिक अभियन्ता भए पनि ‘विधर्मी’ घोषणा गरेर समानता र धार्मिक सहिष्णुताको सद्भाव उछाल्ने अधिकार कसैलाई छैन ।