राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा

0Shares

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका क्रममा जापान पुगेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन्।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन्। उनी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापान सरकारद्वारा आयोजना गरिएको ७०औँ वार्षिकोत्सवको विशेष स्वागत समारोहमा सहभागी हुनेछन्। साथै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ।

त्यसै दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने कार्यक्रम छ। भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

यस भ्रमणले नेपाल–जापानबीचको आपसी मित्रता, कूटनीतिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

0Shares
Advertisment