झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनको विषयलाई लिएर एक महिनाअघिबाटै राष्ट्रिय चर्चाको केन्द्रमा छ ।
यसको कारण हो; यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय निर्वाचनका लागि काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आमनेसामने हुनु ।

दुवै नेताले आफूलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेका कारण पनि झापा ५ को माहोल निकै तातिएको छ । जुन मंगलबार भएको उम्मेदवारी मनोनयन दर्तामा पनि देखियो ।
तर, एउटा दु:खद् पक्ष; विशेषगरी बालेनको उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको अव्यवस्थाले टेलिभिजनको चर्चित हाँस्य शृङ्खला ‘भद्रगोल’लाई नै बिर्साउने काम गर्यो ।
बालेनको मनोनयन दर्ताको नेतृत्व हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले गरिरहेका थिए । पाँडे तिनै पात्र हुन् जो टेलिश्रृंखला ‘भद्रगोल’बाट उदाए र उनले उक्त चरित्र पछिल्लो टेलिशृंखला ‘सक्किगोनि’मा पनि निभाए । र, आज उनै पाँडेले नेतृत्व गरेको कार्यक्रम पूर्ण ‘भद्रगोल’ बन्न पुग्यो ।
बिहान ११ बजेको समय पाएका बालेन झण्डै एक घण्टा ढिलो गरी नौमती बाजासहित दमक चोकबाट जुलुस लिएर निर्वाचन अधिकृतको कार्यालय पुगे । उनी सनरूफ कारबाट हात हल्लाउँदै, समर्थकको हुटिङकाबीच निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
तर, जब उनी कार्यालयभित्र छिरे, त्यहाँको दृश्य बाहिरको भन्दा विल्कुलै फरक देखियो । मनोनयन दर्ताका लागि आवश्यक पर्ने आधारभूत तयारीसमेत नगरी बालेनको टोली कार्यालय पुगेको पाइएपछि निर्वाचन कर्मचारीहरू नै चकित परेका थिए ।
मनोनयन फारम नभरी र अन्य आवश्यक कागजातको प्रक्रिया समेत पूरा नगरी पुगेका बालेनको टोलीले शुरूमा कर्मचारीलाई नै फारम भरिदिन आग्रह गरेको थियो ।
‘पाँडे’लगायत काठमाडौंबाट आएको टोलीले कर्मचारीसँग आग्रह गरे पनि कर्मचारीले ‘यो नियमविपरीत हुन्छ, उम्मेदवारले आफैं फारम भर्नुपर्छ’ भनेपछि बालेनको टोलीमा खैलाबैला मच्चिएको थियो ।
त्यहाँ फारम भर्न जान्ने मान्छेसमेत नभएपछि हतार–हतार मोरङ क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार एवं अधिवक्ता यज्ञमणि न्यौपानेलाई गुहार्नुपरेको थियो ।
न्यौपाने आएर कागजात मिलाउन थाल्दा बालेन भने कार्यालयको एउटा कुनामा राखिएको प्लास्टिकको कुर्सीमा बसेका थिए । पत्रकारहरूले उनको तस्वीर खिच्न खोज्दा ‘अहिले बाहिर जानुहोस्’ भने । पत्रकार बाहिर ननिस्किएपछि उनी पछाडिको कुर्सीमा गएर बसेका थिए ।
व्यवस्थापनको कमजोरी त्यतिमा मात्र सीमित रहेन । उम्मेदवारी दर्ताका लागि लाग्ने १० हजार रूपैयाँ धरौटी रकमसमेत बालेनको टोलीले बोकेको थिएन । धरौटी नबुझाइ दर्ता नहुने भएपछि अन्तिममा प्रहरीमार्फत् बाहिरबाट पैसा मगाइएको थियो ।
बाहिर ‘भावी प्रधानमन्त्री’ भन्दै नारा लागिरहँदा भित्र १० हजार रूपैयाँका लागि भएको त्यो दौडधूपले रास्वपाको स्थानीय कार्यकर्तालाई समेत लज्जित बनाएको थियो । एउटा सामान्य फारम भर्न र सामान्य धरौटी रकमको व्यवस्थापन समयमै गर्न नसक्ने टोलीले देशको नेतृत्व कसरी गर्ला भन्दै त्यहाँ उपस्थित केहीले कानेखुसीसमेत गरिरहेका थिए ।
एक कर्मचारीका अनुसार अघिल्लो दिन नै फारम लगिएको भए पनि दर्ताका क्रममा उनीहरू पूर्ण रूपमा अलमलमा देखिएका थिए ।
बालेनको यो भद्रगोल चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने निकै व्यवस्थित र तामझामका साथ कार्यालय पुगेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेताहरूको दलबलसहित आएका ओलीले बाहिरै रहेका कुर्सीमा बसेर पत्रकारहरूसँग केहीबेर कुराकानी पनि गरे ।



