बानेश्वरबाट समातिए रञ्जन कोइराला

0Shares

प्रहरीले काठमाडौंबाट श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइरालालाई पक्राउ गरेको छ ।

श्रीमतीको हत्यामा संलग्न कोइरालालाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनी सशस्त्र प्रहरी बलका पूर्वडिआइजी समेत हुन् ।

श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले बिहीबार उल्ट्याइदिएको थियो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो ।

कोइरालाले पत्नीको हत्या गर्ने समयमा मुलुकी ऐन अनुसार जन्मकैदको फैसला २० वर्षको हुन्थ्यो। प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासले साढे ११ वर्ष घटाएर  उनी साढे ८ वर्ष कैद बसे पुग्ने भनेको थियो ।

कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकन गरेको थियो ।

सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला कैदमुक्त थिए ।

कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै २०७७ असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो ।

कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए ।

गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद जायज भएपनि सजाय भने घटाइदिएको हो ।

कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन् ।

कोइराला लामो समयपछि घर जाँदा उनकी श्रीमती गीताले व्यापार गर्ने पैसा मागेका कारण विवाद उठेको र रिसको आवेगमा आई धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएको हो ।

उनलाई ‘सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्ने हो कि भन्ने चित्तमा परेको’ भन्दै सजाय घटाइएको फैसलाको पूर्णपाठमा उल्लेख छ। नयाँ मुलुकी संहितामा सर्वस्व (व्यक्तिको नाममा भएको सम्पत्ति) लिने व्यवस्था नभएकाले तल्ला अदालतले रोक्का राखेको अंश, जायजेथा फुकाइदिन पनि सर्वोच्चले भनेको छ ।

‘वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थिति हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखियो। निजको मृत्युपश्चात नबालक छोराहरूको संरक्षण एवं शिक्षादीक्षा अभिभावक विहीनताका कारण अनिश्चय हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले,’ फैसलामा भनिएको छ, ‘उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा मुलुकी ऐनको १८८ नं बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’

मुलुकी ऐनको १८८ नम्बरमा प्रमाणले कर्तव्य गरी मारेको देखिए पनि भवितव्यले त्यस्तो हुन गएको न्यायाधीशको चित्तलाई लागेमा सजाय घटाइदिन सक्ने उल्लेख छ ।

सर्वोच्च अदालतले रिसको आवेगमा मारेको भन्ने व्याख्या गरे पनि ढकालका बुवा हरेरामले दिएको जाहेरीमा भने कोइरालाले छोरीलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको उल्लेख छ। जाहेरीका अनुसार कोइरालाले पहिले पनि श्रीमतीलाई कुटपिट गर्थे ।

कोइराला श्रीमती मारेको अभियोगमा जेल परेको २०६८ माघ ८ गते हो ।

दुई छोरा जन्मिसकेपछि कोइराला र ढकालको वैवाहिक सम्बन्ध बिग्रिन थालेको सर्वोच्चको फैसलामा उल्लेख थियो। उनीहरूको बिहे २०५० सालमा भएको थियो ।

घटनापछि मृतक ढकालका बुवाले दिएको जाहेरीमा कोइरालाले पटकपटक गीतालाई मार्ने धम्की दिएको, सम्बन्ध विच्छेद र अंश चलनको मुद्दा हालेको पनि जाहेरीमा उल्लेख छ। ढकालले पनि मानाचामलको मुद्दा हालेकी थिइन्। तारा रेग्मी नाम गरेकी महिलासँग कोइरालाले सम्बन्ध राख्न थालेपछि उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए ।

रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रेग्मीले पनि रञ्जनको षड्यन्त्रमा साथ दिएको भन्दै उनलाई १ वर्ष सजाय भएको थियो ।

घटना हुनुअघि कोइराला लामो समय चीनमा भएको एक तालिमबाट फर्केका थिए। २०६८ पुस २१ गते फर्केका उनी पुस २७ गते गीता बस्ने बुढानिलकण्ठस्थित घरमा गएर कान्छो छोरालाई लिएर निस्केका थिए। यसको जानकारी आफूहरूलाई छोरीले फोनमा दिएको उनका बुवाको जाहेरीमा उल्लेख छ ।

त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो। त्यसको पनि भोलिपल्ट उनीहरू छोरीको घर गए। त्यहाँ उनी थिइनन्। त्यसपछि उनले आफ्नी छोरीलाई बेहोस बनाएर कोइरालाले बन्धक बनाएको भन्दै माघ ६ गते प्रहरीमा जाहेरी दिए ।

त्यसको दुई दिनपछि उनीहरूले छोरी गीता ढकालको शव महाराजगन्जस्थित अस्पतालमा छ भन्ने थाहा पाए। अनि रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। त्यही दिन कोइरालालाई प्रहरीले पक्राउ गर्‍यो ।

पुस २८ गते नै मकवानपुरको टिष्टुङ जंगलमा आधा जलेको ढकालको अस्थिपञ्जर भेटिएको थियो। रञ्जनले ढकाललाई मारी प्लाष्टिकमा पोको पारेर जंगलमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो ।

घटनामा भेटिएका प्रमाण र तथ्यहरू विश्लेषण गरी सरकारी वकिलले सर्वस्वसहित जन्मकैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला र पुनरावेदनले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गरेको यसअघिको फैसला पुनरावलोकन भएसँगै उनलाई फेरि पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

0Shares
Advertisment