अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

0Shares

गत वर्षको असार र अहिलेको असार बीचमा खासै केही फरक छैन । मौसम उस्तै छ, बेलाबेला झरी परिरहेको छ । गत वर्षको जस्तो बाढीले वितण्डा मच्चाएको खबर भने आएको छैन । जब गम्भीर भएर सोच्छु, मजस्तो आम मानिसका लागि त्यो असार र यो असारबीचमा यति धेरै फरक छ कि जसको कुनै हिसाबकिताब छैन ।

मजस्तो सामान्य जागिर गरेर जीविकोपार्जन गर्ने मानिसका लागि १२ महिनापछि आएको असार त्यति सहज छैन, जति सहज १२ महिनाअघिको असारमा थियो । यो असारमा मेरो चुल्होमा बल्ने एलपी ग्यासलाई १८ सय तिर्नुपर्छ । अघिल्लो असारमा १४५० मात्रै पर्थ्यो ।

यही असारमा ६० रुपैयाँ किलो पर्ने चामलको पिठो १३० पुग्यो । यही असारले ९० रुपैयाँ पर्ने ताइचिन चामललाई १५० पुर्‍याइदियो । २३० पर्ने सनफ्लावर तेललाई ३५० पुर्‍याइदियो । १४० पर्ने मुसुरो दाललाई १७५ पुर्‍याइदियो । २१० पर्ने डाल्डाको घिउ ३३० पुर्‍याइदियो ।

२४० पर्ने काँचो तोरीको तेल ३८० पुर्‍याइदियो यही असारले । अघिल्लो असारमा यति बेला केपी शर्मा ओली प्रधानमन्त्री थिए,अहिले शेरबहादुर देउवा हुनुसँग मलाई कनै सम्बन्ध छैन । तर ओलीले छाडेर गएको बजार मूल्य एक वर्षमै यति सारो किन आकासियो ? मजस्ता नागरिकले देउवासँग प्रश्न गर्न पाउने कि नपाउने ? कि प्रश्न गर्दा प्रतिगमनको पक्षधर भइन्छ ?

जो पहुँचमा छ, जोसँग खर्च गर्न प्रशस्त पैसा छ, उनीहरूका लागि यी मैले माथि उल्लेख गरेका मसिना सामानहरूको दर रेटले खासै फरक नपार्ला । लाखौँ, करोडौँको व्यापार व्यवसाय गर्नेहरूलाई यस्ता झिना मसिना दर रेटको उतारचढावले खास अर्थ नराख्ला । जो शक्ति र सत्ताको पहुँचमा छन्, उनीहरूलाई पनि फरक नपार्ला । तर, हामीजस्ता मजदुरका लागि ? पक्कै पनि आकासिएको खाद्यान्नको यो रेटले जरुर फरक पार्छ ।

तरकारीहरू छुनै सकिन्न । फलफूललाई किन्नै सकिन्न । हरियो धनियाँको पत्ती मात्रै १००० रुपैयाँ किलोभन्दा महँगो पर्छ । काउली, च्याउहरूलाई छुनै सकिन्न । पसलमा गएर रेट सोधेर मात्रै फर्कनुपर्ने स्थिति छ ।

मैतीदेवीमा तनहुँका एक मगर दाइको परिवार बस्छन् । उनी रिक्सा चलाउँछन् । परिवारको आयस्रोत नै त्यही तीन पाङ्ग्रे रिक्सा हो । जसमा दैनिक पाइडल नचलाए उनको परिवार भोकै पर्छ । पाइडल चलाउन पाउनका लागि पनि उसले काम पाउनुपर्‍यो ! म कोठा सर्दा तिनै दाइले सामानहरू रिक्सामा हालेर नयाँ कोठामा पुर्‍याइदिएका थिए ।

दुई जना छोरीहरूलाई मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी स्कुलमा पढाइरहेका ती दाइ केही दिनअघिको एक साँझ किराना पसलमा भेटिए । पसलमा साहुजीसित बार्गेनिङ गरिरहेका थिए, ‘दाइ, अहिले काम भइरहेको छैन । भागेर कतै जाने होइन । चामल चाहिँ दिइराख्नु न । अर्को सातासम्म आधा पैसा तिर्छु ।’

तेल र मसला किन्न पुगेको मलाई ती मगर दाइको साहुजीसँगको याचनाले तीतो महसुस गरायो । म पनि ती दाइभन्दा फरक कहाँ छु र ! भलै साहुजीले ती दाइलाई भन्दा मलाई अलि बढी विश्वास गर्छन् । मलाई उधारो दिन हिचकिचाउँदैनन् । सहरमा कतै जागिरे छ भन्ने बुझाइ छ उनको । ती साहुजीलाई मेरो तलब आउने दिन पनि थाहा छ । उक्त दिन कटेको तीनचार दिनसम्म पनि पसल छिरिनँ भने मलाई घुरेर हेर्न थाल्छन् ।

सानो सपना, साना रहर र साधारण जीवन जिउन रुचाउने हामीजस्ताका लागि यो महँगीले नराम्रोसँग ढाड सेकाइरहेको छ । उकुसमुकुस बनाइरहेको छ । तर, यसको जिम्मा कसले लिन्छ ? कसका कारण आमनागरिककोे जीवन दिनप्रतिदिन यसरी जटिल बनेर गइरहेको छ । कसका कारण एउटा सामान्य नागरिकलाई किराना पसलेले पत्याइरहेको छैन ? किराना पसलको उधारो तिर्न सकिरहेका छैनन् ।

उत्तर सहज छैन । तर, त्यति जटिल पनि छैन कि जसको ठोस उत्तर पाउनका लागि रिसर्च नै गर्न परोस् । गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । उक्त विघटन गैर संवैधानिक भयो भनेर उनको चर्को विरोध भयो । वृहत् नागरिक आन्दोलनले सडक सङ्घर्ष सुरु गर्‍यो ।

यही बीचमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वमा पार्टीका आधा नेताहरू सडकमा आए । ‘हामी यहाँ छौँ’ भनेर सडकमा आएका नेताहरूको मूल उद्देश्य प्रतिनिधिसभा विघटन भन्दा पनि विघटनलाई कारण देखाएर सडकमा छरपस्ट पारिएको पार्टीको आन्तरिक अन्तरसंघर्ष थियो ।

जसको परिणति पाँच वर्षका लागि जनताको मत पाएको नेकपा तीन टुक्रामा विभाजित मात्रै बनेन, बहुमतको जनमत पाएको सरकार ढल्यो । ओली पदबाट पदच्युत भए । इतिहासकै विशाल पार्टी एकता गरेका नेताहरू एमाले, माओवादीमै फर्किए । एमालेभित्रकै नेपाल, झलनाथ खनाल लगायतले २३ जना प्रतिनिधसभा सांसद लिएर नेकपा समाजवादी पार्टी गठन गरे ।

पाँच वर्षसम्म सरकारमा जाने कल्पना पनि नगरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । मधेस प्रदेशमा बाहेक सबै प्रदेशहरूमा सरकार बदलिए । यसपछि बदलिएको राजनीतिक कोर्सले आम नागरिकको जीवनमा कति प्रभाव पार्दै गयो, जम्मा किराना पसलमा एक घण्टा उभिएर हेरे पुग्छ । उधारोका लागि याचना गरिरहेका निमुखा नागरिकको सुकेको ओठलाई हेरे पुग्छ । उनीहरूको निन्याउरो अनुहारलाई हेरे पुग्छ ।

मेरो अफिसको गेटैमा एक जना काभ्रे तेमालका ६६ वर्षीय वृद्ध तामाङ गाडामा काठ, आगो र हरियो मकै लिएर बस्छन् । उसको साथमा श्रीमती पनि सँगै हुन्छिन्, सधैं । दुवैको काम बिहादेखि साँझसम्म मकै पोलेर बेच्नु छ । त्यसपछि कोठामा फर्किनु छ । र भोलिपल्ट त्यही दैनिकी सुरु गर्नु छ ।

अफिस ओहोरदोहोर गर्दा र बेलाबेला पोलेको मकै खान जाँदा ती तामाङ जोडीसित बातचित हुन थाल्यो । ती वृद्ध तामाङ बेलाबेला भन्छन्, ‘महँगीले साह्रै गाह्रो बनायो । कहिलेकाहीँ त हामी बूढाबूढी मकै नै खाएर सुतिदिन्छौ । चामलभन्दा मकै नै अलि सस्तो पर्छ । तरकारी पनि चाहिँदैन, नुन खुर्सानी भए हुन्छ ।’

ती तामाङ बूढाबूढीको नियति अहिलेको महँगीको सग्लो उदाहरण न हो । जो ३० रुपैयाँ घोगा मकै बेचेर कठिन जीवन निर्वाह गरिरहेका छन् । उनीलाई त थाहा पनि छैन कि उनीहरूले बाँचिरहेको त्यो कठिन जीवनको कारक हो को ? राज्य सञ्चालन गरिरहेकाहरूको रवैया नै आफूहरूले पाइरहेको सास्तीको प्रमुख कारक हो भनेर यी आम नागरिकलाई थाहा भएको दिन के होला ?

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । सरकारी सूचना चुहाएको कथित आरोपमा गभर्नरलाई बर्खास्त गर्ने प्रयत्न गरेर नेपाललाई श्रीलंका बनाउन अर्थमन्त्री प्रयासरत छन् । कर्मचारीलाई कुटपिट र अश्लील गाली गलाैजबाट फुर्सदै नपाएका पर्यटनमन्त्री छन् । गृहमन्त्रीले प्रहरी प्रशासनमा आफ्नालाई काखी च्याप्नबाट फुर्सद पाएका छैनन् । मनलाग्दी बढुवा, घटुवा, सरुवा गरिरहेका छन् । उनलाई रात्रिकालीन व्यवसाय सञ्चालन गरिरहेका दरबारमार्ग र ठमेलका व्यवसायीले प्रहरी प्रशासनलाई कति रकम बुझाउँछन् भनेर निगरानी गर्ने फुर्सद छैन ।

आफ्नो पदको ओज र महत्त्वको लेस सम्म ज्ञान नभएको प्रदेश मन्त्री विवाहेत्तर सम्बन्धमा रहेको प्रेमीको घरमा बडी गार्डसहित गएर निर्दोष श्रीमती र छोरीमाथि कुटपिटमा उत्रिन्छिन् । उनको चोलो च्यातेर दुर्व्यवहार गर्छिन् ।

माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् । ११० पर्ने डिजेललाई १९२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १२७ प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।

श्रीलंका टाट पल्टिएको अवस्था छ । विदेशी मुद्रास्फीति शून्यमा छ । महँगीले त्यहाँ जनता आकुल व्याकुल मात्रै छैनन्, भोक भोकै मर्ने अवस्थामा पुगेका छन् । हाम्रो मुलुक पनि यही अवस्था निरन्तर रहिरहेमा श्रीलंका हुन बेर छैन भनेर अर्थशास्त्रीहरूले भनिरहेका छन् । तर, सत्तामा रहेका राजनीतिक पार्टी र नेताहरूलाई सत्ता संघर्षको किचालोबाट मुक्ति मिलिरहेको छैन । नेकपा एसमा मन्त्री सहितका १० सांसदले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । साथै पार्टीमा विद्रोह गर्ने संकेत गरेका छन् । यसको आन्तर्य भनेकै जम्माजम्मी पदको लोलुपता मात्रै हो भनेर बुझ्न गाह्रो छैन ।

दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

०००

0Shares
Advertisment