इन्भेस्टमेन्ट मेगा बैंकको साढे ३ सय शाखाबाट कारोबार सुरु

0Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज भएर ३ सय ५६ शाखाबाट एकैपटक वित्तीय कारोबार सुरु भएको हो। त्यसमध्ये २ सय ९६ पूर्णकालिक शाखा हुन भने ५९ वटा एक्सटेन्सन काउन्टर छन् । त्यस्तै एनआईएमबीले १ सय ९ वटा शाखारहित बैंकिङ सेवा पनि दिइरहेको छ ।

७७ जिल्लामै शाखा पुगेको एनआईएमबीका २ सय ७९ वटा एटिएम काउन्टर छन् । नेपालको निजी क्षेत्रको पहिलो बैंकको रूपमा साढे ३ दशकअघि कारोबार सुरु गरेको इन्भेष्टमेन्ट र १२ वर्षअघि कारोबार सुरु गरेको मेगा एकीकृत भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका रूपमा अघि आएको हो ।

३४ अर्ब १२ करोड रुपैयाँ कुल चुक्ता पुँजी रहेको बैंकको ५८ अर्बभन्दा बढी कुल पुँजी छ । पुँजीका हिसावले एनआईएमबी देशकै दोस्रो ठूलो बैंक हो । नेपाल इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे छन्  । त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकको रूपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक हुन् ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवैको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै सेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।

यस रूपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, दुवै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारीलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुवै बैंकका अध्यक्षहरुले संयुक्त रूपमा आभार व्यक्त गरे ।

0Shares
Advertisment