‘दोषी जो कोही भए पनि उन्मुक्ति दिन मिल्दैन’

0Shares

काठमाडौँ — नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पार्टीका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवाले बुधबार साँझ पार्टीका शीर्ष पदाधिकारीसँगको छलफलमा त्यसबारे प्रश्न उठेपछि बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीहरू समेतको बैठक बोलाएका थिए ।

बैठकमा त्यसबारे छलफल भए पनि नेता खाँणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा भने निष्कर्षमा पुग्न सकेन । सहमहामन्त्री जीवन परियारले बैठकमा पूर्वगृहमन्त्री खाँणका सम्बन्धमा छलफल भए पनि त्यसबारे पार्टीले अहिले कुनै पनि निष्कर्ष ननिकालेको बताए ।

‘कुनै पनि मुद्दामा अनुसन्धानको क्रममा कोही पनि व्यक्ति पक्राउ पर्नेबित्तिकै ऊ दोषी ठहर भएको भन्ने हुँदैन, ऊ आरोपितमात्रै हो । त्यसैले बालकृष्ण खाँणको हकमा पनि त्यही कुरा हो,’ बैठकपछि सहमहामन्त्री परियारले भने, ‘उहाँले अनुसन्धानका लागि सहयोग पुर्‍याउनुभएको छ । अनुसन्धान हुन्छ । त्यसपछि मुद्दा अदालतमा पुग्छ । अदालतले दिएको निर्णय सबैले मान्ने हो । हामी जोकोही पनि दोषीलाई उन्मुक्ति दिन मिल्दैन भन्ने निष्कर्षमा छौँ ।’

सहमहामन्त्री परियारले कांग्रेस कहिल्यै पनि दोषीलाई उन्मुक्ति दिने पक्षमा नरहेको दाबी गरे । ‘कांग्रेस अहिले होइन, कहिल्यै पनि दोषीलाई उन्मुक्ति दिने पक्षमा उभिदैन, त्यो इतिहासले देखाएको कुरा हो,’ उनले भने, ‘हामी अदालतको फैसलालाई मान्छौँ । कोही व्यक्ति, नेतामाथिको अनुसन्धानमा दख्खल पुर्‍याउँदैनौँ । हामी अनुसन्धानमा सहयोग गर्छौँ ।’

बैठकमा पार्टीको नीति महाधिवेशन गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिने र केन्द्रीय कार्यसमितिको बैठक बोलाउने लगायत विषयमा समेत छलफल भएको छ । त्यस्तै, नागरिकतासम्बन्धी विधेयकका विषयमा समेत बैठकमा छलफल भएको नेता परियारले बताए ।

‘नागरिकता विधेयकका बारेमा हामीले गम्भीररुपले छलफल गर्‍यौँ । यसबारे प्रधानमन्त्री र राष्ट्रपतिले पनि कानुनविद्हरूसँग समेत छलफल गरिरहनुभएको छ । संविधानबमोजिम संसद्‌बाट पारित भएर गएको विधेयक राष्ट्रपतिले रोकेर राख्नुभयो । अब त्यो विधेयकलाई कसरी जारी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘हामीले अब थप कानुनविद्हरूसँग गरेर एउटा निष्कर्षमा पुग्ने सहमति गरेका छौँ ।’

0Shares
Advertisment