जिल्ला समन्वय समिति कपिलवस्तुको शुक्रबार भएको निर्वाचनमा दुबै उम्मेदवारको मत बराबर आएपछि गोला थुतेर निर्वाचित गरिएको छ।
१० वटा स्थानीय तह रहेको कपिलवस्तुमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका ज्ञान बहादुर कार्की र एमालेका बाबुराम आचार्यले प्रमुखमा उम्मेदवारी दिएका थिए। मतदानमा दुबै जनाको १०/१० मत आएपछि गोला तान्दा एमालेका आचार्य निर्वाचित भएका हुन्। एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपाको समर्थन रहेको थियो ।

त्यस्तै, उपप्रमुखमा पनि एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन्। कुर्मी लोसपाका हुन्। कुर्मीले ११ मत ल्याएका छन्। सत्तारूढ गठबन्धनबाट जसपाका वीरेन्द्र प्रताप गडेरियाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए।
समितिका ७ जना सदस्य पनि गोला तानेर निर्वाचित भएका छन्। जसअनुसार नेपाली कांग्रेसका सुनिता चमार, मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन्।
यसैगरी, एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खाँ पनि सदस्यमा निर्वाचित भएका हुन्। सदस्यहरूमा पनि सबैको १०/१० मत आएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको हो।
कपिलवस्तुमा सत्तारूढ गठबन्धनसँग ११ मत र एमाले गठबन्धनमा ९ मत रहेको थियो।



