गठबन्धनमा इमानदारिता देखिएन- नेपाल

0Shares

नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा इमानदारिता नदेखिएको बताएका छन् ।

मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो प्रतिवेदन पेस गर्दै नेकपा एसका अध्यक्ष नेपालले गठबन्धनमा कांग्रेस र माओवादीले अनौठो व्यवहार देखाएको उल्लेख गरेका थिए ।

उनले स्थानीय निर्वाचनबाट पाठ सिक्दै परिपक्व गठबन्धन बनाउनुपर्ने बताएका छन् ।

गठबन्धन नभए पनि निर्वाचन लड्नेगरी अघि बढ्नुपर्ने उनको धारणा छ ।

‘स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले दुई दल मिले अरू किन चाहियो ? भन्ने व्यवहार समेत देखाएका छन्। हामीले चाहेर मात्रै गठबन्धन हुँदैन। तर अब गठबन्धन हुँदा आत्मसम्मान जोगाउने गरी इज्जतिलो गठबन्धन हुनुपर्छ भनेर उहाँले भन्नुभएको छ,’नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने,’अब गृहकार्यविहीन अपरिक्वतालाई अन्त्य गरी गृहकार्य गरेर व्यवस्थित गठबन्धन हुनुपर्छ ।’

बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरूले नेकपा एसलाई आवश्यक परेको ठाउँमा मात्रै प्रयोग गर्न खोजिएको गुनासो गरेका थिए ।

हाम्रो सबभन्दा बढी भिलेन माओवादी केन्द्र बन्यो। कांग्रेसलाई उकास्ने र हामीलाई ताछेर ठूलो हुन्छु भन्नेमा माओवादी देखियो,’बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने,’हामीलाई कमजोर देखाएर आफू बलियो हुन खोज्यो। देशैभरि माओवादीले हामीलाई धोका दियो भन्ने रिपोर्ट आएको छ ।’

माओवादीले एकातिर पार्टी एकता गर्ने हो भन्ने भ्रम पैदा गरेको र अर्कोतिर चुनावको बेलामा आफ्नो पक्षमा मात्रै परिणाम निकाल्न खोजेको आरोप स्थायी कमिटी सदस्यहरूको थियो ।

0Shares
Advertisment