मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा सबै भन्दा धेरै तलब पाइने पेशा सार्वजनिक भएको छ। कर तिर्नेहरूको रेकर्डबाट सबै भन्दा धेरै तलब पाइने पेशाहरू याहू फाइनान्सले सार्वजनिक गरेको हो।
याहू फाइनान्सले सार्वजनिक गरेको रेकर्ड अनुसार अष्ट्रेलियामा सर्जनहरूले सबैभन्दा धेरै तलब पाउने देखिएको छ। त्यस्तै, सबैभन्दा धेरै तलब पाउने पेशाहरूमा मेडिकल क्षेत्रकै दबदबा रहेको छ।

सर्जनहरूले एक वर्षमा औसतमा ४ लाख ६ हजार ६८ डलर कमाउने गरेका छन्। पछिल्लो वर्ष सर्जनहरूको वार्षिक तलब ३ लाख ९४ हजार रहेको थियो।
अष्ट्रेलियन ट्याक्सेसन अफिसका अनुसार अष्ट्रेलियामा सन् २०१० देखि नै सर्जनहरूले सबैभन्दा धेरै वार्षिक तलब बुझिरहेका छन्। तुलनात्मक रूपमा औसतमा अष्ट्रेलिनको कर योग्य आम्दानीमा एक वर्ष लगभग ६९ हजार ४०० डलर रहेको पाइएको छ।
यी हुन् अष्ट्रेलियामा सबैभन्दा धेरै तलब पाइने १० पेशा…
१. सर्जनः ४ लाख ६ हजार ६८
२. एनेस्थेटिस्टः ३ लाख ८८ हजार ८१४
३. इन्टरनल मेडिकल स्पेसलिस्टः ३ लाख १० हजार ८४८
४. फाइनान्सियल डिलरः २ लाख ७९ हजार ७९०
५. साइकियाट्रिस्टः २ लाख ५२ हजार ६९१
६. मेडिकल प्राक्टिसनर्सः २ लाख ३२ हजार
७. कानुन व्यवसायीः १ लाख ८९ हजार ५३८
८. माइनिंग इन्जिनियरः १ लाख ८८ हजार ८३
९. इन्जिनियरिङ म्यानेजरः १ लाख ६१ हजार ५१४
१०. फाइनान्सियल इन्भेस्टमेन्ट एड्भाइजरः १ लाख ५५ हजार ८८२
अष्ट्रेलियन ट्याक्सेसन अफिसका अनुसार अष्ट्रेलियामा कम व्यक्ति संलग्न भएका पेशाहरूमा धेरै तलब भएको पाइएको छ। अष्ट्रेलियामा ४ हजार १५९ जना सर्जन र ३ हजार ५०९ जना एनेस्थेटिस्ट रहेका छन्। उनीहरू नै क्रमशः सबैभन्दा धेरै तलब लिने व्यक्तिहरू हुन्।
न्यून बेरोजगारी दरका कारण अष्ट्रेलिया अहिले राष्ट्रिय सीपको अभावमा परेको छ। फलस्वरूप, कम्पनीहरूले पदहरू भर्नका लागि कामदारहरू खोज्न संघर्ष गरिरहेका छन्।
जुन महिनामा ८८ हजार रोजगारी थपिएपछि अष्ट्रेलियाको आधिकारिक बेरोजगारी दर ३.५ प्रतिशतमा झरेको छ। यो दर ४८ वर्षमा सबैभन्दा कम बेरोजगारी दर हो। यसभन्दा अघि अगस्ट १९७४ मा अष्ट्रेलियाको बेरोजगार दर २.७ प्रतिशत थियो।



