असोज १ देखि चोरीका मोबाइल नचल्ने, विदेशबाट ल्याएको दर्ता गर्नुपर्ने

0Shares

विदेशबाट आफन्तलाई ल्याइदिएको मोबाइल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नुपर्ने भएको छ।

भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वत: दर्ता हुने र त्यसपछिका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गर्न एमडीएमएस लागू गरेको जनाएको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको हो।

‘भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेट लगायत मोबाइल एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, ‘भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए÷नभएको एकीन गरी मात्र खरिद गर्न अनुरोध छ।’

 

प्राधिकरणले मोबाइल आयातकर्ता तथा बिक्रेताहरुलाई मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्रीवितरण गर्न सूचित गरेको छ। २ वर्षअघि नै प्राधिकरणले एमडीएमएस लागू गर्ने तयारी गरेको थियो। तर ठेक्का पाएको कम्पनीले यसका लागि आवश्यक उपकरणको व्यवस्था गर्न नसक्दा लागू हुनसकेको थिएन।

सरकारले चालू आवको बजेटमा मोबाइलमा कर बढाउने भएपछि व्यवसायीहरुले पहिले एमडीएमएस लागू गर्न माग गरेका थिए। मोबाइल आयातकर्ताहरुका अनुसार नेपालमा ४० प्रतिशतसम्म चोरी तथा अवैध मोबाइल आउने गरेका छन्। एमडीएमएस लागू भएसँगै यो रोकिने विश्वास गरिएको छ।

दर्ता भए नभएका मोबाइल यसरी पत्ता लगाउने
नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस.एनटीए.जीओभी.एनपी वेबसाइटमार्फत दर्ता भए/नभएको चेक गर्न सकिन्छ। मोबाइलको किप्याडमा गई स्टारह्यास०६ह्यास (*#०६#) डायल गरेपछि उक्त उपकरणको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ।

 

 

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागू गरेको छ। अवैध रुपमा राज्यमा भित्रिने मोबाइलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन एमडीएमएसको भूमिका रहन्छ।

हराएका तथा चोरी भएका मोबाइलहरुको खोजी कार्यमा सहयोग गर्छ। साथै त्यस्ता मोबाइलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले विदेशबाट आफन्तको लागि ल्याएका मोबाइल एमडीएमएस प्रणालीमै दर्ता गर्न सकिने जानकारी दिए।

0Shares
Advertisment