महोत्तरीमा बलात्कारपछि महिलाको हत्या, २४ वर्षीय युवक पक्राउ

0Shares

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्। ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।

घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपितको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो। अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो।

साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजु र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ। प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो। अभियुक्तविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छ/छैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको जनाइएको छ। रासस

0Shares
Advertisment