काठमाडौं। किन्ने ग्राहक नै नभेटिएपछि काठमाडौं उपत्यकामा मूल्य घटाएर घर बिक्रीमा राख्न थालिएको छ। नाम चलेका रियल इस्टेट ब्रोकरहरुको वेबसाइटदेखि सामाजिक संजालमा चल्तीको भाउ र बिक्री गर्न राखिएको भाउमा अन्तर देखिएको छ।
घरजग्गा कारोबारमा देखिएको मन्दीका कारण अहिले अर्बौं मूल्यांकनका ठूला बंगलादेखि साना ३ आनासम्मका घरहरुको बिक्री चाप एजेन्टहरुको पोर्टफोलियोमा देखिन्छ। एकातर्फ तरलता अभावका कारण घर किन्न चाहनेले सहजै ऋण पाइरहेका छैनन्, पाएपनि ब्याजदर उच्च छ। जसका कारण उनीहरु घर किन्न आँट्नै सकेका छैनन्।

अर्को तर्फ पैसा आवश्यक परेका व्यक्तिहरु धमाधम आफ्नो प्रोपर्टी बिक्रीमा चढाइरहेका छन्। बैंकहरुको चर्को ब्याजदर तिर्न धौधौ परेर बैंकिङ ट्र्यापमा परेकाहरु पनि घरजग्गा बिक्री गरिरहेका छन्। तर, आफूले भनेको मोलमा ग्राहक पाउन नसकेपछि दबाबमा मूल्य घटाउन बाध्य बनेका छन्।
करिब ६ महिना अघिदेखि भने सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक हुँदै केही समययता ट्वीटरसम्म घरजग्गा बिक्रीको विज्ञापन अधिक देखिन थालिएको छ। यसको कारण मन्दीसँग जोडिएको छ।
एक वर्ष अघिसम्म पनि काठमाडौंको बुढानीलकण्ठ, इमाडोल, धापाखेल, काँडाघारी, सीतापाइलालगायतका नयाँ आवासीय गन्तव्यमा पाइने घर (४ आना, साढे दुई तलामा बाटो पुगेको घर, साढे २ करोडदेखि) को दाम हेरिहेरी सुरु हुन्थे। तर, अहिले घरजग्गा एजेन्टहरुले आक्रामक रुपमा घरजग्गा बेच्ने प्लाटफर्म बनेको टिकटकमा सस्तो लाग्ने दरमा घरहरु बिक्रीका लागि राखिएका छन्। चौतर्फी संकटमा फसेको घरजग्गा कारोबारमा प्यानिक सेलको प्रभाव अहिले देखिरहेको छ।
बुढानीलकण्ठको भंगाल हाइटमा यसअघि ३ करोड ६५ लाख रुपैयाँ तोकिएको घरको मूल्य अफर भन्दै घरजग्गा एजेन्ट लालपूर्जा नेपालले करिब २० फिट बाटोले छोएको सो घर ३ करोड ४५ लाख रुपैयाँमा बेच्न राखेको छ। अझै त्यसमा पनि ‘नेगोसियबल’ गर्न सक्ने सुविधा खरिदकर्तालाई दिइएको छ। ४ बेडरुमको यो घर ६ आना जग्गामा बनेको छ।
यो अवस्था इमाडोल क्षेत्रमा पनि देखिन्छ। इमाडोलको शितल हाइटमा ३ आना २ पैसामा निर्माणाधीन घर १ करोड ९५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ। साढे २ तलाको यो घर निर्माण सकेर अझै केही महँगोमा बिक्री गर्ने अवस्था हुँदा हुँदै पनि घरधनी आर्थिक मारमा परेसँगै सस्तोमा बिक्री गर्न बाध्य बनेको एक रियल इस्टेट कम्पनीले जानकारी दिएको छ।
‘यो घरको निर्माण पूरा हुन पाएको भए २ करोड २० लाख रुपैयाँ वा त्योभन्दा केही बढी दिने ग्राहक भेटिन्थ्यो। तर, बैंकको ऋण तिर्नै हम्मेहम्मे परेपछि घरधनीले बिक्रीमा राख्नु भएको छ। १.९० मा पनि केही घटाएर बेच्न सकिन्छ,’ कम्पनीका एजेन्टले भने।
यस्तै, सामाखुसी रिङरोडबाट ३ किलोमिटर भित्र टोखामा १० फुट बाटोले छोएको घरको मूल्य ४ करोड २० लाख तोकिएको छ। करिब आठ आना क्षेत्रफलमा बनेको त्यो घरलाई रियल इस्टेट एजेन्ट लालपूर्जा नेपालले बिक्रीमा राखेको छ।
घरसहित सो प्रोपर्टीको दाम प्रति आना ५२ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यो क्षेत्रका घरजग्गाहरु प्रतिआना ५५ लाख रुपैयाँसम्मको रेञ्जमा कारोबार हुने गर्थ्यो। तर अहिले घरजग्गामा आएको मन्दीका कारण मूल्य केही घटाएर बिक्रीमा राखिएको देखिन्छ।
अर्को भनेको ललितपुरको इमाडोलमा ३ आना बढीमा १२ फिट बाटोले छोएको घरको बिक्रीमा राखिएको छ। २६ सय वर्गफिटको सो घरको बिक्री मूल्य २ करोड ८५ लाख रुपैयाँ राखिएको छ। एक महिना अघिसम्म त्यही घरको मूल्य ३ करोड हाराहारी थियो। ग्राहक नभेटिएपछि आफ्नो क्लाइन्टले मूल्य घटाएर भएपनि बिक्री गर्न खोजेको नाम नबताउने सर्तमा एक घरजग्गा एजेन्ट कम्पनीका सञ्चालक बताउँछन्।
‘हाम्रो क्लाइन्टले बैंकबाट ऋण लिएर घर बनाउनु भएको थियो। ऋण लिएर घर बनाउने र बेच्ने गर्दै आउनु भएको छ। एकातिर ब्याजदर बढ्दै जाने अर्को तर्फ घर बिक्रीमा ह्रास आएपछि अहिले प्यानिक भएर मूल्य घटाएर घर बेच्न खोज्नु भएको देखिन्छ। समस्यामा पर्नु भएका अरु क्लाइन्टहरु पनि अब मूल्य घटाएरै बेच्नु पर्ला भन्ने सल्लाहमा हुनुन्छ,’ ती सञ्चालकले भने।



