दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने ब्रोकर कम्पनी घाटामा जान थालेका छन्। शेयर बजारमा कारोबार र कारोबार रकम सेलाउँदै जान थालेपछि ब्रोकर कम्पनी घाटामा जान थालेका हुन्।
दोस्रो बजारमा मध्यस्थता गर्ने ब्रोकर कम्पनीको सङ्ख्या ५१ छ। नागरिक स्टक डिलरलाई समेत जोड्दा शेयर किनबेच गर्ने कम्पनी ५१ पुगेका हुन्। चालु आर्थिक वर्ष लागे यता ५१ कम्पनी मध्ये २० ब्रोकर कम्पनी मात्रै नाफामा छन्। बाँकी रहेका ३० कम्पनीलाई भने अपरेसन कष्ट उठाउन समेत हम्मे हम्मे पर्न थालेको छ। “धेरै लगानीकर्ता घाटामा रहेको सुनिरहनु भएको होला तर यति बेला लगानीकर्ता मात्रै होइन हामी पनि घाटामा छौ। मलाई लाग्छ अहिले काम गरिरहेका ५० ब्रोकर कम्पनी मध्ये अधिकांश घाटामा चलिरहेका छन्” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

उनका अनुसार कारोबार रकम सुस्ताउँदै गएपछि ब्रोकर कम्पनी घाटामा जान थालेका हुन्। सबै ब्रोकरले एक नासले कारोबार गर्न सक्दैनन्। ५० मध्ये १५/२० ब्रोकरले नै कुल कारोबारको ५० प्रतिशत हिस्सा ओगट्ने गरेका छन्। बाँकी रहेको ५० प्रतिशत कारोबारमा अरू ब्रोकरले चित्त बुझाउनु पर्छ। जसले गर्दा केही ब्रोकर कम्पनी थोरै नाफामा रहे पनि अरू सबैले घाटामा काम गर्नु परिरहेको हो।
चालु आर्थिक वर्ष लागे यता बिहीबारसम्म कुल एक खर्ब ६२ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भए। जसमा दुई ब्रोकर कम्पनीको हिस्सा १२ प्रतिशत छ। सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा नासा सेक्युरुरुटिज छ। उसले मात्रै ११ अर्ब ५५ करोड रुपैयाँको शेयर किनबेच गरायो। दोस्रोमा रहेको अनलाइन सेक्युरुटिजले ८ अर्ब ३२ करोडको शेयर किनबेच गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्यो। सबैभन्दा पुछारमा रहेको नागरिक स्टक डिलरले २५ करोड २७ लाखको कारोबार गर्दा सगरमाथा सेक्युरुटिजले ८४ करोडको कारोबार गर्यो। गएको पाँच महिनामा कुल दुई अर्बको समेत कारोबार गर्न नसक्ने कम्पनी १३ छन्।
दोस्रो बजारमा शेयर किनबेचमा मध्यस्थकर्ताको भूमिका नै ब्रोकर कम्पनीको एक मात्र आम्दानीको स्रोत हो। त्यो बाहेक ब्रोकर कम्पनीले अन्य कुनै पनि कामबाट आम्दानी गर्न सक्दैनन्। शेयर किनबेच गराएकै कमिसनबाट मात्रै ब्रोकर कम्पनीहरूलाई खर्च धान्न मुस्किल हुन थालेको देखिन्छ।
ब्रोकर कम्पनीले शेयर किनबेच गराए बापत न्युनतम् ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशत सम्म कमिसन लिन पाउने व्यवस्था छ। ब्रोकर कम्पनीले लिन पाउने कमिसनलाई औसतमा निकाल्दा ०.३४ प्रतिशत हुन्छ। उक्त कमिसनमा पनि सबै ब्रोकर कम्पनीले आफै राख्न पाउँदैनन्। उनीहरूले प्राप्त गरेको कमिसनबाट नेप्सेले २० र ०.०६ प्रतिशत नेपाल धितोपत्र बोर्डले लैजाने गरेको छ।
सबै ब्रोकर कम्पनीले कमिसन समान पाउने भएपनि खर्च भने सबै कम्पनीको एकै खाले छैन। ठुला ब्रोकर कम्पनीको अपरेसन खर्च धेरै हुने गर्छ भने तुलनात्मक रुपमा साना ब्रोकर कम्पनीको थोरै। ठुला ब्रोकर कम्पनीले वार्षिक पाँच करोड र सानाले एक करोड खर्च गर्ने गरेको बताइएको छ। “ब्रोकर कम्पनी अनुसार अपरेसन खर्च फरक हुन्छ। ठुलाको शाखा समेत हुने भएकोले उनीहरूको अलि बढी नै खर्च हुन्छ भने सानाको त्यस असार अलि कम। मरो अनुभवमा ठुलाले वार्षिक पाँच करोड खर्च गर्छन् भने सानाले थोरैमा पनि एक करोड खर्च नगरे ब्रोकर कम्पनी चलाउन सकिँदैन” भिजन सेक्युरुटिजका सञ्चालक राजकुमार तिम्सिनाले मेरो लगानीसँग भने।

सानाको खर्च एक करोड र ठुलाको पाँच करोड राखेर मेरो लगानीले हिसाब गर्दा २० कम्पनी मात्रै नाफामा देखिएका छन्। हिसाब गरिएका ५१ कम्पनीमा २६ ठुला ब्रोकर कम्पनीको खर्च पाँच करोड राखिएको छ भने २५ कम्पनीको खर्च एक करोडका दरले हिसाब गरिएको छ। मेरो लगानीले गत साउनदेखि बिहीबारसम्म भएको कारोबार रकमलाई आधार मानेर हिसाब गरेको हो। जसमा ब्रोकर कमिसनलाई औसतमा राखेर हिसाब गरिएको छ। सोही हिसाबमा धेरै जसो ब्रोकर कम्पनी घाटामा देखिएका छन्। यसैगरी कारोबार रकम घट्दै जाने हो भने वर्षको अन्तमा घाटामा जाने ब्रोकर कम्पनीको सङ्ख्या थप बढ्न सक्ने छ।




