काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएका हुन् । ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’

उनले परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्दै सबै सांसदहरु जनताको निरन्तर निगरानीमा रहेको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन् । उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए ।



