ग्लोबल आइएमई बैंक सञ्चालकमा तीन पूर्वसिइओ

0Shares

काठमाडौं। ग्लोबल आइएमई बैंकको सञ्चालकमा तीनजना पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे प्रवेश भएको छ।

ग्लोबल आइएमईले बैंक अफ काठमाडाैं (बिओके) लाई समाहित गरेपछि बैंक सञ्चालकमा पूर्वसिइओ राधेश पन्त, कृष्णप्रसाद शर्मा र देवेन्द्रप्रताप शाहको प्रवेश भएकाे हाे।

पन्त बिओकेको प्रबन्ध सञ्चालक, कुमारी बैंक र लगानी बोर्डको सिइओ भइसकेका छन्। यस्तै शाह कृषि विकास बैंक र नेपाल बैंकको सिइओका साथै बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण) को अध्यक्षसमेत भएका छन्। शर्मा राष्ट्रिय वाणिज्य बैंकको सिइओ भएका थिए। एउटै बैंकमा तीन पूर्वसिइओ सञ्चालकका रूपमा भित्रिएको याे पहिलो घटना हो।

अनुभवी पूर्व बैंकरहरूको ‘इन्ट्री’ ले ग्लोबल आइएमई बैंक थप सबल बन्ने देखिन्छ। सञ्चालकका रूपमा पूर्वबैंकर भित्रिएसँगै बैंक व्यवस्थापकीय र वित्तीयरूपमा अब्बल बन्ने देखिएको छ।

बिओके गाभेर ग्लोबल आइएमई मुलुककै ठूलो वाणिज्य बैंक बनेको छ। पुस २५ मा ग्लोबलले बिओकेलाई समान अनुपातमा गाभेर ठूलो बैंक बनेको हो। बैंककाे चुक्ता पुँजी, निक्षेप परिचालन, कर्जा लगानी, नाफा, ग्राहक संख्या र कूल पुँजीका आधारमा ग्लोबल आइएमई नेपालकै ठूलो बैंक बनेको हाे।

बिओके गाभेपछि ग्लोबलको कूल सम्पत्ति बढेर ५ खर्ब ५ अर्ब, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड, कूल पुँजी ५७ अर्ब, निक्षेप परिचालन ४ खर्ब १२ अर्ब, कूल ऋण लगानी ३ खर्ब ७७ अर्ब, ग्राहक संख्या ४० लाखभन्दा बढी र मुलुकभित्र र बाहिर गरी कूल सेवाग्राही केन्द्र १ हजार १ सयभन्दा बढी छन्। बिओकेलाई मर्ज गरेपछि बैंकको बजार हिस्सा पनि बढेको छ।

0Shares
Advertisment