१६ हप्ताको गर्भपतन गराउँदा गर्भवतीको ज्यान गएको घटना साढे २७ लाखमा मिल्यो

0Shares

चितवन । चितवनको मनकामना अस्पतालले १६ हप्ताको गर्भपतन गराउने क्रममा मृत्यु भएकी नवीना महतोको घटना मेलमिलाप गरी टुङ्ग्याएको छ ।

गर्भपतनको क्रममा गए राती मृत्यु भएको महतोको पाँच वर्षीया छोरीको पालन पोषणको लागि साढे २७ लाख रुपैयाँ रकम दिने लिखित सहमतिपछि महतोका आफन्तले आज शव बुझेका छन् ।

बिहीबार घरबाट सामान्य अवस्थामा स्वास्थ्य जाँच गर्न आएकी महतोलाई अस्पतालका डाक्टरले सल्लाह दिएर नै गर्भपतन गरेको खुल्न आएको छ ।

भरतपुर महानगरपालिका २६ घर भएकी मृतक महतोका श्रीमान् मणिक महतोले भिडियो कुराकानीकै क्रममा सामान्य अवस्थामा अस्पताल आएको बताए ।

उनका अनुसार नवीना ३५ वर्षकी थिइन् । उनीहरूको पाँच वर्षकी एक छोरी समेत छन् । दोस्रो गर्भ रहेको १६ हप्ता पुरा भएपछि नवीनाका दम्पत्ती बिहीबार साँझ ६ बजे मनकामना अस्पताल गर्भ जाँचको लागि आएका थिए ।

‘हामी बुढाबुढी जँचाउन अस्पताल आएका थियौँ । १६ हप्ता भएको थियो गर्भ बसेको, नवीनाका श्रीमान् मणिकले भने, ‘जाँच गरिसकेपछि डाक्टरकै सल्लाहमा हामीले गर्भपतन गराउने निर्णय गरेको हो ।’

अस्पतालका डाक्टरले गर्भपतन गराउनको लागि नवीनालाई औषधि दिएको थियो । बिहीबार साँझ औषधि दिएर सुरु गरेको गर्भपतन प्रक्रियाका क्रममा जटिलता आएको जानकारी दिएपनि अस्पतालले अरू केही भनेको थिएन ।

तर, अस्पतालले यसबारेमा आधिकारिक धारणा बाहिर ल्याएको छैन । नवीनाको मृत्युपछि अस्पतालको लापरबाही भएको भन्दै आन्दोलन गर्ने परिवार र आफन्तलाई भने आजै साढे २७ लाख रुपैयाँको चेक हस्तान्तरण गरी आन्दोलन टुंगाएको छ ।

कानूनले वर्जित गरेको १६ हप्ताको गर्भपतन गर्न किन अस्पताल तयार भयो भन्नेबारे भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अस्पतालका अध्यक्ष ध्रुव काफ्ले, व्यवस्थापन प्रमुख दिलीप घिमिरे लगायत अस्पताल सम्बद्ध व्यक्तिहरू अहिलेसम्म सञ्चारमाध्यमको सम्पर्कमा छैन । सञ्चारमाध्यमले पटक पटक अस्पतालले कानूनले वर्जित गरेको गर्भपतन गराउन किन तयार भयो भन्ने विषयमा धारण लिन प्रयास गरे पनि सम्पर्क भएन ।

छलफलका क्रममा महिलाको गर्भ परीक्षण गरेको कागजात माग्दा मृतकका आफन्त तथा परिवारलाई पैसामा मिलेपछि तपाइँहरुलाई किन कागजात चाहियो भन्दै अस्पताल प्रशासनले नदिएको छलफलमा सहभागी एक आफन्तले बताए ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १८९ ले गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन सक्ने व्यवस्था गरेको छ ।

यदि १२ हप्ताभन्दा बढीको गर्भपतन गराउनुपर्ने भएमा गर्भवती महिलाको ज्यान जान सक्ने जोखिम, बच्चा विकलाङ्ग जन्मिन सक्ने खतरा वा जबरजस्ती करणी भएको अवस्थामा लाइसेन्स प्राप्त चिकित्सकबाट प्रमाणित हुनुपर्ने व्यवस्था छ ।

तर, मनकामना अस्पताल भरतपुरले अहिलेसम्म नवीना महतोको १६ हप्ता कटेको गर्भपतन गराउनुपर्ने अवस्था के कारणले आयो भन्ने स्पष्टसँग सार्वजनिक गरेको छैन ।

0Shares
Advertisment