नागोयामा राजदूतावासको घुम्ती शिविर सम्पन्न, ५९७ जनाबाट ९६ लाख ८७ हजार राजश्व उठ्यो

144Shares

नागोया, जापान । जापानस्थित नेपाली राजदूतावासले आफ्नो सेवा प्रदान गर्ने उद्देश्यले नागोयामा गरेको घुम्ती शिविरमा ५९७ जना नेपालीले विभिन्न सेवा लिएका छन् । जसमा पासपोर्टसँग सम्बन्धित सेवा लिनेहरु अत्यधिक रहेका छन् ।
राजदूतावासले दिएको जानकारी अनुसार नागोयाको शिविरमा ५३१ जनाले पासपोर्टको सेवा लिएका छन् । जसमध्ये ४६६ जनाले पासपोर्ट नवीकरण गरेका छन् भने ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइएको छ । यसैगरी १० जनाले झुत्रा र खराब पासपोर्ट फालेर नयाँ बनाएका छन् ।
शिविरमा दिइएको जानकारी अनुसार बाँकी ६६ जनाले अन्य सेवाहरु लिएका थिए ।
जपानको दोश्रो ठूलो शहर नागोयाको ‘नागोया कुक्साइ सेण्टर’ मा सञ्चालित घुम्ती शिविर डिसेम्बर २ बाट शुरु भई चारदिनसम्म सञ्चालन भएको थियो । शिविर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहकार्य र नागोया क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा सञ्चालन भएको हो ।
अपेक्षा गरिएभन्दा बढि नेपालीले नागोयाको घुम्ती सेवाबाट सेवा लिएको क्षेत्रीय समिति संयोजक भेषनाथ गौतमले जानकारी दिए । ‘हामीले ४०० को हाराहारीमा सेवाग्राहीहरु आउने अपेक्षा गरेको थियौँ, तर अपेक्षा भन्दा बढी भयो । राहदानीसहित विभिन्न समस्या लिएर आउने नेपालीलाई दूतावासको समन्वयमा सेवा दिएरै पठाइयो । कोहि पनि सेवाबाट वञ्चित भएनन् ।’–संयोजक गौतमले भने ।
९६ लाख ८७ हजार राजश्व
नागोयाको घुम्ती शिविरमा यसपटक सेवाग्राहीबाट नेपाल सरकारको नाममा ९६ लाख ८७ हजार रुपियाँ राजश्व संकलन गर्न नेपाली राजदूतावास सफल भएको छ ।
दूतावासले राहदानी नवीकरणको १८ हजार यन तोकेको छ । यसैगरी हराएको, च्यातिएको वा अन्य कारणले प्रयोग गर्न नसकिने राहदानीको ३६ हजार यन र दश वर्षभन्दा कम उमेरका बच्चाको राहदानी नवीकरणका लागि ९ हजार यन राजश्व लिने गरेको छ । भने, जाापानमा जन्मेका बच्चाको पहिलो पटक राहदानी बनाउन १५ हजार राजश्व उठाउने गरिएको छ ।
यसरी उठाइएको सबै राजश्व नेपाल सरकारको नाममा जम्मा हुनेगर्छ । यद्दपि घुम्ती सेवाका लागि हुने अन्य व्यवस्थापकीय कामका लागि एनआरएनएले सहयोग गरेको नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले जानकारी दिए । पौडेलका अनुसार घुम्ती सेवामा आउने सेवाग्राहीबाट राजश्व बाहेक थप रकम उठाइएको छैन ।
‘यसपटक घुम्ती सेवाका लागि आठ लाख रुपियाँभन्दा बढि खर्च भएको । यसको व्यवस्थापन गर्न हामीले एनआरएन जापान, क्षेत्रीय समिति नागोया र केही व्यवसायीलाई रकम सहयोग गर्न अपिल गरेका छौँ ।’–उपसंयोजक पौडेलले भने । द्यूतावासका कर्मचारी र एनआरएनए पदाधिकारीहरुको आवास, आवतजावत, खानपानलगायत हलभाडा र मसलन्दबापतको सबै खर्च यसमा जोडिएको छ ।
घुम्ती शिविर सफल
नागोयामा भएको घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष सरोकारवालाहरुले निकालेका छन् ।
एनआरएनए आइसीसीका सचिव पारसमणि पोखरेलले नागोयाको घुम्ती शिविरले जापानमा रहेका नेपालीलाई राजदूतावाससँग प्रत्यक्ष संवादको वातावरण मिलाएको बताए । उनी भन्छन्–‘राजदूतावाससँग कतिपय सवालमा नेपालीका गुनासा रहेका थिए । फिल्डमै सेवाग्राही र सेवाप्रदायक भेट भएर काम सम्पन्न भएपछि कतिपय असमmदारी हटेको पाईयो । यस हिसाबले नागोयाको घुम्ती शिविर सफल भएको ठानेको छु ।’
नागोयामै बसोबास गर्दै आएका एनआरएनए एशिया प्यासिफक उपसंयोजक दिपक कार्कीले सबैको सक्रियताबाट यसपटक शिविरमा आएका सबै नेपालीलाई सेवा दिन पाइएको बताए । ‘यसका लागि एनआरएनए जापान, क्षेत्रीय समिति नागोया, दूतावासका कर्मचारी र स्वयमसेवक साथीहरुप्रति आभारी छु ।– कार्कीले भनेका छन् ।
सविच पोखरेल र एशिया प्यासिफक उपसयोजक कार्की शिविर अवधिभर कार्यक्षेत्रमै रहेर आवश्यक सहजीकरण गरिरहेका देखिन्थे ।
यसैबीच एनआरएनए जापानले शिविर पूर्णतः व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबैमा आभार र धन्यवाद व्यक्त गरेको छ । एनआरएनएको तर्फबाट जापानमा घुम्ती सेवा कार्यक्रमका संयोजक एवम् उपाध्यक्ष सुवास लामिछानेले यसको सफलतासँगै जापानवासी नेपालीको सेवामा सधैँ क्रियाशिल रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।्
शिविरमा दूतावासका तर्फबाट द्वितीय सचिव जितबहादुर कार्की, तृतीय सचिव ज्ञानहरि ज्ञवाली, फुकुओकाका वाणिज्य दूत दिपक देवकोटा र टेक्निसियन आबेसानको सहभागिता थियो ।

सेवा सञ्चालनका क्रममा राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरे, उपाध्यक्ष कृष्ण गैरे, कोषाध्यक्ष दिपक सुनार, सह कोषाध्यक्ष रामबहादुर थापा र प्रवक्ता खगराज गौतम, आइसीसी सदस्य विष्णुप्रसाद घिमिरे, पूर्व सचिव श्यामशित्तल श्रेष्ठ, लगायतले फिल्डमै आएर निरीक्षण गरेका थिए । यसबाहेक जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र एनआरएनएको विभिन्न पद र ओहदामा रहेकाहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
यसपछि फुकुओका, ओशाका, गुम्माकेन, ओकिनावा, फुकुसिमा, तोचिगी र हिरोसिमामा पनि घुम्ती शिविर राखिने दूतावासले जनाएको छ ।

 

 

144Shares
Advertisment