कन्सर्ट हेरेर फर्किने क्रममा युनिसको रहस्यमय मृत्यू

1Shares

टोकियो – जापानको फुकुओकामा जापानीज भाषा अध्ययनका लागि विद्यार्थी भिसामा रहेका एक विद्यार्थीको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २५ वर्षीय युनेष अधिकारीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

यो घटनाबारे एनआरएनए जापानको क्षेत्रीय समिति क्युस्युले जानकारी गराएको छ । ‘गत डिसेम्बर ३१ तारिख जापानको फुकुओकामा भएको दुःखद घटनाले हामीलाई दुखित तुल्याएको छ,’ जारी सूचनामा भनिएको छ, ‘फुकुओका शहरमा जापानीज भाषा अध्ययनका लागि विद्यार्थी भिसामा रहेका युनेष अधिकारीकोबारे सामाजिक सञ्जाल एवं समाचारहरूमा प्रकाशित सूचनाले गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिको ध्यानाकर्षण भएको छ ।’

साथीहरूसँगै कन्सर्ट हेरेर फर्कने क्रममा अधिकारी तेञ्जिङ्ग स्टेसनमा रहेको शौचालय जाने भनेर गएका थिए । तर उनी फर्केनन् । १० मिनेटभन्दा बढी समयमा पनि नफर्केपछि उनका साथी छोडेर आएको सूचनामा उल्लेख छ । ‘अहिलेसम्म प्रहरीले दिएको जानकारी अनुसार ३१ डिसेम्बर २०२३ दिन कन्सर्टबाट फर्कने क्रममा तेञ्जिङ्ग स्टेसनमा रहेको शौचालय जाने भनेर गएको र १० मिनेट जतिको समयमा पनि नफर्किए पछि सँगै गएको साथीहरूले छोडेर गएको भन्ने जानकारी प्राप्त भयो,’ सूचनामा अगाडि भनिएको छ, ‘सोही भवनमा रहेको सिसिटिभी फुटेजको आधारमा निज अधिकारी वरिपरि घुम्दै गरेको र बाटो पत्ता लगाउन नसकिएको जस्तो देखिएको र उक्त भवनको तेस्रो तल्लाको आकस्मिक झ्याल खोली पहिले पन्जा फाली त्यसपछि आफू तल खसेको प्रत्यक्षदर्शी जापानी नागरिकले बताएको प्रहरीले बताएको छ ।’

त्यसपछि प्रहरीलाई घटनास्थलबाट प्रत्यक्षदर्शी जापानी नागरिकले प्रहरीलाई फोन गरी घटनाको जानकारी गराइएको थियो । प्रहरीले उद्धारगरी उपचार गर्न लागिएको थियो । एनआरएनएकाअनुसार टाउकोमा गम्भीर चोट लागेको थियो । ‘घटनामा प्रहरीलाई पनि थप अनुसन्धान गर्नका लागि अनुरोध गरिनु साथै एनआरएनए जापानको क्षेत्रीय समिति क्युस्युको तर्फबाट आवश्यक प्रयास जारिरहने र सरोकारवाला निकायसँग समन्वय गरी घटनाको विस्तृत थप जानकारी गराउँदै जानेछौँ,’ सूचनामा भनिएको छ, ‘विदेशमा हुने यस्ता दुखद घटनाले हामीलाई मर्माहत तुल्याएको छ । आगामी दिनमा यस्ता घटनाहरू नहोस् भनी प्रार्थना गर्दछौ र सबैमा सचेत रहनको लागि हार्दिक अनुरोध गर्दछौँ ।’

1Shares
Advertisment