सिक्टा सिंचाइको नहरमा सोलार पम्प जडान गरेर सिंचाइ सुविधा दिन शुरु

0Shares

सिक्टा सिंचाइ आयोजनाको मुख्य नहरको अग्लो स्थानमा सिचाइ सुविधा पु¥याउने उदेशयले सोलार पम्प जडान गरेर सो बाट पानी तानेर सिंचाइ सुविधा दिन थालिएको छ । सिक्टा सिंचाइ आयोजनाको मूल नहरसँगै जोडिएका कचनापुर, शम्सेरगञ्ज, बालापुर र ढकेरी क्षेत्रका करिब ४ सय हेक्टर खेतीयोग्य जग्गालाई लक्षित गरेर मूल नहरको किनारामा ३ लाख रुपियाँको लागतमा सौर्य उर्जाबाट चल्ने पम्प जडान गरेर आयोजनाले नहरको सतहभन्दा अग्लो स्थानमा भएका खेतबारीमा सिंचाइ सुविधा दिन शुरु गरेको हो ।

आयोजनाको मूल नहरभन्दा अग्लो स्थानमा भएका घर आँगन नजिकैबाटै बग्ने नहरको पानी नपाउँदा किसानले आकाशे पानीको भरमा खेती गर्दै आएकोले सिँचाइका लागि सोलार पम्प जडान गरेर पानी तानेर दिन थालिएको सिक्टा सिचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले बताउनुभयो । उहाँले नहर नजिकैको क्षेत्रहरु समेत सिंचाइबाट बञ्चित रहेको पाएपछि आयोजनाले नै सोलार पम्प जडान गरेर पानी तानेर बाँकेको कचनापुर, शम्सेरगञ्ज, बालापुर र ढकेरीमा सिंचाइ सुविधा दिन शुरु गरेको बताउनुभयो ।

नजिकबाटै नहर बगे पनि सिँचाइ सुविधा नपाउँदा निराश बनेका किसानको समस्यालाई ध्यानमा राखेर आयोजनाले सोलार पम्प जडान गरेको आयोजना प्रमुख थापाले बताउनुभयो । कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी गाउँका किसानलाई सहज रुपमा सिंचाइ सुविधा दिने आयोजनाले सोलार जडान गरेको हो । नहरबाट तानेको पानीलाई पुन सानो नहर निर्माण गरे पहिलो चरणमा शम्सेरगञ्ज क्षेत्रको करिब १५ हेक्टरमा सिंचाइ गरिएको छ ।

सिंचाइ आयोजनाले जडान गरेको यो सोलार दिउँसो सूर्यको प्रकाशबाट चार्ज हुन्छ र यसबाट स्वचालित रुपमा चल्ने पम्पले नहरको पानी तान्छ । उर्बरभूमि भए पनि भरपर्दो सिंचाइ सुविधा नहुँदा दुई बाली मात्रै खेती गर्दै आएका सो क्षेत्रका किसान अहिले अब सिंचाइ सुविधा पाएपछि उत्साही बनेका छन् । सोलार पम्पबाट तानिएको पानी खेतबारीमा पुगेपछि अहिले मकै, गहुँ, तोरी र आलुखेती पनि शुरु गरेको ढकेरीका किसान जीवन कुँवरले बताउनुभयो । उहाँले सिंचाइ सुविधा पुगेसँगै आफूहरुले तरकारी तथा हिउँदे मकै खेती शुरु गरेको बताउनुभयो ।
एउटा सोलार पम्मबाट शम्सेरगञ्ज क्षेत्रका सबै किसानको खेतबारीमा सिंचाइ गर्न कठिन हुने भएकाले थप सोलार पम्म जडान गर्न र धेरै पानी दिन शमसेरगञ्जका किसान नरेशबहादुर केसीले माग गर्नुभयो ।

आयोजनाले २०७७ बैशाख १ गतेदेखि नै मूल नहरमा पानी सञ्चालन गरेपछि डुडुवा, कोहलपुर र नेपालगञ्ज क्षेत्रको करिब २० हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको छ । बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले १४ वर्ष अघि सो सिंचाइ आयोजनाको निर्माण शुरु गरिएको थियो । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना निर्माणमा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको पूर्वी नहरको काम अहिले तीव्र गतिमा भैरहेको पनि आयोजनाले जनाएको छ । आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ

0Shares
Advertisment