जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा

0Shares

सात वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका ३५ वर्षीय युवाका लागि सिड्नीमा आफ्नै व्यवसाय गर्नु कल्पनाको कुरा मात्र थियो।

गुल्मीका विनोद कुँवरले त्यो कल्पना साकार गरेका छन्। आज उनी सिड्नीमा बसोबास गर्ने नेपाली समुदायमाझ एक सफल व्यवसायीका रूपमा चिनिन्छन्।

उनी अस्ट्रेलिया आउँदा १८ लाख रूपैयाँभन्दा बढी ऋणको भार थियो। आमाबुवाले पनि छोरा अस्ट्रेलिया पुगेपछि पैसा पठाउँछ अनि ऋण तिर्छ भन्ने आशा राखेका थिए। त्यही भएर अस्ट्रेलिया आएको केही समयमै विनोदले हाउस-किपिङ तालिम लिए। तालिम सकेपछि काम खोजिदिन साथीहरूसँग आग्रह गरे। उनी साथीहरूलाई भन्थे, ‘तिमीहरू मलाई काम खोजिदेऊ, म कलेजको असाइनमेन्टमा मद्दत गर्छु।’

‘म पढाइमा भन्दा कामतिर बढ्ता फोकस भएँ,’ विनोद भन्छन्, ‘जतिसक्दो छिटो घरको ऋण चुक्ता गर्नुपर्छ भन्ने ध्याउन्न थियो। त्यसैले पढाइ भनेको जाँच दिने र पास हुने मात्र भयो। अधिकांश समय काम नै गरेँ। साथीहरूको मद्दतले तीन ठाउँमा काम गर्न थालेँ। बिहान, दिउँसो र बेलुका गरी दिनको १७-१८ घन्टा काम गरेँ।’

दिनरातको मिहिनेतबाट उनको कमाइ पनि राम्रो भयो। अस्ट्रेलिया आएको डेढ वर्षमै उनले ऋण चुक्ता गरे। यसबीच स्नातकोत्तर पढाइ पनि सकियो।

त्यसपछि करिअर बनाउनुपर्छ भनेर तीनवटा काममध्ये दुइटा छाडेर एउटा मात्र गर्न थालेको उनी बताउँछन्।

‘दुइटा काम छाडेपछि मसँग समय धेरै भयो। आइटी पढाउने नेपाली कोही छ कि भनेर खोजेँ। कतै पाइनँ,’ उनले भने।

उनले अस्ट्रेलियामा आइटी काम नपाइने ठानेर संयुक्त अरब इमिरेट्स (युएई) जाने तयारी पनि गरे। युएईमा आइटी क्षेत्रमा राम्रो तलब छ भन्ने उनले सुनेका थिए। यसबीच उनले जागिरका लागि अस्ट्रेलियाका विभिन्न ठाउँमा आवेदन पनि दिए। तीन-चार सय ठाउँबाट अस्वीकृत भएपछि एकदिन एमआइटीबाट बोलावट आयो।

‘त्यो मेरो पहिलो व्यावसायिक काम थियो। अस्ट्रेलिया आएको चार वर्षसम्म हाउस-किपिङ र हाउस-क्लिनिङ गरेपछि २०१८ देखि एमआइटीमा जागिर सुरू गरेँ,’ उनले भने, ‘मैले एमआइटीमा जागिर पाउँदा धेरै जना चकित भएका थिए।’

यसरी आइटी पढेर पनि नेपाली विद्यार्थीहरूलाई त्यही क्षेत्रमा काम पाउन गाह्रो पर्ने गरेको आफैंले भोगेपछि विनोदले एउटा तालिम केन्द्र खोल्ने निधो गरे। त्यतिञ्जेल कमाएको र पढाइ खर्चबाट जोहो गरेको केही रकम उनले त्यही तालिम केन्द्रमा लगाए।

‘धेरैलाई काम जाने पनि आत्मविश्वासको कमीले जागिर पाउन गाह्रो पर्दो रहेछ भन्ने मैले बुझिसकेको थिएँ। आत्मविश्वास मात्र बढाउन पाए धेरै नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा जागिर खोज्न सजिलो हुन्छ भन्ने मैले बुझेँ,’ उनले भने।

तर विनोदलाई यो काममा कसैले साथ दिएनन्। तालिम लिन कोही विद्यार्थी पनि आएनन्।

आफ्नै लगानीमा सुरू गरेको पहिलो व्यवसायमा लागेको धक्काले विनोद थोरै धरमराए तर हिम्मत हारेनन्। तीन जना चिनजानका मान्छे जम्मा गरेर उनले पढाउन सुरू गरे। उनको तालिम केन्द्रमा पढेका तीनमध्ये एक जनाले तत्कालै काम पाए। फेसबुकमा यो कुरा सेयर गरेपछि दोस्रो समूहमा ११ जना पढ्न आए। तीमध्ये सात जनाले काम पाए।

त्यसपछि उनको तालिम केन्द्रको चर्चा फैलिँदै गयो। विद्यार्थीहरू बढ्दै गए। अरूलाई आत्मविश्वास सिकाउने विनोदलाई आफ्नो कामप्रति आत्मविश्वास बढ्यो।

सन् २०२० जुलाईमा उनले ‘बिजनेस प्रपोजल’ का लागि भनेर आफ्नो व्यवसाय औपचारिक दर्ता गरे र विद्यार्थी पढाउन थाले। त्यसपछि विद्यार्थी संख्या झन् बढ्दै गयो। सुरूमा उनले एक जना साथीको अफिस मासिक ४०० डलर भाडा तिरेर चलाएका थिए, त्यो पनि उनीहरूले प्रयोग नगर्ने समयमा। अहिले उनको संस्था कलेजजत्रै भइसकेको छ। भाडा नै मासिक ७५ हजार डलरभन्दा बढी तिर्ने गरेको उनी बताउँछन्।

विनोदको संस्था ‘एक्स्ट्राटेक’ मा करिब ५० जना कर्मचारी छन्। अधिकांश उनकै विद्यार्थी हुन्। सिड्नी मात्र नभएर मेलबर्न, ब्रिजबेन, क्यानबेरा र नेपालमा पनि शाखा कार्यालय खोलिसकेका छन्। नेपाल कार्यालयले कल सेन्टर र अस्ट्रेलियासँग सम्बन्धित कामहरू गर्दै आएको छ। डिजिटल मार्केटिङ, वेबसाइट डेभलभमेन्ट, एप्सहरू बनाउने लगायत काम पनि हुन्छ। यसबाहेक चाँडै पर्थ र एडिलेडमा नयाँ कार्यालय खोल्ने तयारी भइरहेको उनी बताउँछन्।

यसका लागि उनलाई अहिले श्रीमती सुदिक्षा गौतम र साथी सन्तोस श्रेष्ठले बलियो साथ दिएका छन्।

‘विद्यार्थीहरूलाई पढाइसँगै अनुभव, सिकाइ र कमाइसम्मको बाटो देखाउने योजनामा हामी सफल छौं,’ उनले भने, ‘सुरूमा आइटीका विद्यार्थीलाई तीन महिनाको तालिम दिएर कामसँग जोड्ने र बिस्तारै रोजगार बनाउने लक्ष्य राखेका हौं।’

उनी सुरू सुरूमा एमआइटीमा काम गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्थे। यता चाप बढ्दै गएपछि केही समयअघि मात्र उनले एमआइटीको जागिर छाडिसके।

एक्स्ट्राटेकले दुई वर्षयता १३ सय विद्यार्थीमध्ये हजारभन्दा बढीलाई अस्थायी, अल्पकालीन र पूर्णकालीन गरी विभिन्न प्रकृतिका जागिरमा जोड्ने काम गरेको छ। एकाउन्टिङ र इञ्जिनियरिङका विद्यार्थीलाई रोजगार दिलाउने काम पनि गर्दै आएको छ। अब उनले विभिन्न कम्पनीका निम्ति विभिन्न दक्षताका कर्मचारी खोजिदिने ‘रिक्रुमेन्ट कम्पनी’ चलाउने योजना अघि बढाएका छन्।

‘हामीले जसरी हिजो व्यावसायिक क्षेत्रमा लाग्न दुःख पायौं, अब आउने पुस्तालाई त्यस्तो दु:ख नहोस् र उनीहरूले अध्ययन गरेकै विषयमा जागिर पाऊन् भन्ने हाम्रो मूल उद्देश्य हो,’ विनोद भन्छन्।

शून्यबाट सुरू गरेर अहिले पाएको सफलतालाई ठूलो उपलब्धि मान्ने विनोद कुँवर आफ्नो जिन्दगीलाई फर्केर हेर्दा एउटा ‘टर्निङ प्वाइन्ट’ कहिल्यै भुल्दैनन्।

उनी खासमा अस्ट्रेलिया होइन, अमेरिका जान चाहन्थे। तीनपटक प्रयास गर्दा पनि अमेरिकाले भिसा दिएन। त्यसपछि हार खाएर उनी अस्ट्रेलियाको तयारीमा लागे। यसका लागि काठमाडौंका अधिकांश कन्सल्टेन्सी धाए। सन् २०१४ मा बल्ल बल्ल उनलाई अस्ट्रेलियाको एउटा कलेजले भर्ना लिने भयो।

कन्सल्टेन्सीले सबै कागजपत्र बनाएर भिसाका लागि आवेदन दियो। उनले सयकडा ३ रूपैयाँ ब्याजमा १८ लाख ऋण खोजे।

यसपालि उनको प्रयास सफल भयो।

अस्ट्रेलिया पुगेपछि पनि उनले अमेरिका जाने कोसिस भने छाडेनन्।

‘एक अमेरिकी विश्वविद्यालयबाट ८० प्रतिशत छात्रवृत्ति पनि पाएँ तर अस्ट्रेलिया आएको डेढ महिना मात्र भएकाले अमेरिकाले तत्काल भिसा दिन मानेन,’ उनले भने, ‘अमेरिका आउने भए कि नेपालबाटै ट्राई गर्नू, नभए एक वर्षपछि मात्र ट्राई गर्नू भन्यो। त्यसपछि चाहिँ मैले अमेरिका माया मार्दिएँ।’

त्यतिखेर अमेरिका माया मारेर अस्ट्रेलियालाई अपनाउनु विनोद कुँवरको निम्ति उपयुक्त निर्णय साबित भयो। र, आफ्नो त्यो निर्णयमा उनी आज निकै खुसी महसुस गर्छन्।

‘कसैगरी पनि अमेरिका जान नपाएपछि म अब जे गर्छु अस्ट्रेलियामै गर्छु भन्ने टुंगोमा पुगेँ। यसले मेरो आत्मविश्वास हलक्कै बढ्यो। म अमेरिका जान नपाएको असफलता भुल्न यहाँ दिनरात मिहिनेत गर्न थालेँ। अमेरिका गएर जे हासिल गर्छु भन्ने मेरो सपना थियो, म त्यो सपना यहीँ पूरा गर्न चाहन्थेँ,’ उनले भने।

उनको त्यो सपना पूरा भएको पनि छ। अब उनी अर्को सपना देख्न थालेका छन्।

उनको अबको सबभन्दा ठूलो सपना बुटवलमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने हो।

‘म आफ्नो सबै सम्पत्ति सकेर भए पनि क्रिकेट रंगशाला बनाउँछु। अहिले जग्गा किनेर सम्याउने काम भइसकेको छ। दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट एकेडेमी तयार हुनेछ,’ उनले भने।

त्यसपछि काठमाडौंबाहिर कुनै जिल्लामा स्तरीय अस्पताल खोल्ने उनको अर्को सपना छ।

‘मैले आफ्नै आमाबुवा बिरामी हुँदा स्तरीय अस्पतालमा उपचार गराउन पाएको थिइनँ। त्यो अभाव पूरा गर्न म स्वास्थ्य सेवा राम्रो नभएको कुनै जिल्लामा सुविधासम्पन्न अस्पताल खोल्ने विचारमा छु,’ उनले भने।

यति मात्र होइन, नेपाललाई आइटी हब बनाउने र अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्ने उनको धोको छ।

‘नेपालमा एउटा स्तरीय आइटी कलेज छैन। नेपाली विद्यार्थी आइटी पढ्न बाहिर जान्छन्। अब विदेशी विद्यार्थी आइटी पढ्न यहाँ आऊन् भन्ने म चाहन्छु,’ उनले भने।

0Shares
Advertisment