सम्झनामा पेले : मलाई देख्नासाथ ‘हेल्लो नेपाल’ भन्थे

0Shares

म सानैदेखि फुटबल लभर । सायद ६-७ वर्षकै उमेरमा पेलेको नाम सुन्न थालेको थिएँ । त्यसवेला अहिले जस्तो मिडिया र सोसल मिडियाको बिगबिगी थिएन । त्यसैले हामीले सुन्ने भनेको सिनियर दाइहरु र स्कुलका शिक्षकहरुबाट हो । उनीहरुले पेलेलाई ‘फुटबलको राजा’ भन्ने गर्थे । त्यसैले मेरो मनमा पनि पेलेको एउटा बेग्लै छाप थियो ।

पेलेको विषयमा विभिन्न किस्साहरु सुनिन्थे । उनी एउटा गरिब परिवारबाट आएको र सानोमा फुटबल किन्ने पनि पैसा नहुँदा झुम्राको बल खेल्ने गर्थे भनेर दाइहरुले भन्नुहुन्थ्यो । पेलेले पेनाल्टी हान्दा बलले लागेर गोलकिपर ठाउँको ठाउँ भुँडी फुटेर मरेको जस्ता कुराहरु पनि सुनिन्थे । यस्ता किस्साहरुको आधिकारिकता पुष्टि गर्नसक्ने अवस्था थिएन ।

पछि म पनि फुटबलमै समर्पित भएँ । नेपालको राष्ट्रिय टीममा पुगें र कप्तान पनि भएँ । त्यस कालखण्डदेखि भने म म्याराडोना र अर्जेन्टिनाको फ्यान बने । पेलेले सन् १९७० को विश्वकपपछि सन्न्यास लिइसकेका थिए । त्यसैले मैले उनको खेल हेर्न पाउने कुरा भएन । पहिलोपटक हामी नेपालीले हेरेको भनेको १९७८ को वर्ल्डकप हो । त्यस वर्ल्डकपको फाइनलमा अर्जेन्टिना पुगेको थियो । त्यहीबाट मैले अर्जेन्टिनालाई समर्थन गर्न थालेको हुँ र त्यो समर्थन अहिले पनि यथावत छ ।

मैले वास्तवमा कहिल्यै कल्पना पनि गरेको थिएनँ कुनै दिन फुटबलका राजा पेलेलाई प्रत्यक्ष भेट्न पाउनेछु भनेर । राष्ट्रिय टीममा रहेर खेलिरहँदा पनि यो सम्भावना मेरो दिमागमा कहिल्यै आएन । तर, पछि मैले त्यो सौभाग्य प्राप्त गरें । त्यो पनि एकपटक होइन पटक-पटक ।

पेलेसँग मेरो पहिलो साक्षात्कार भएको सन् १९९८ को वर्ल्डकपमा हो । फ्रान्समा आयोजना भएको त्यो वर्ल्डकपमा म फिफा डेलिगेट्सका रुपमा सहभागी थिएँ । त्यसवेला पेले फिफा गेस्टका रुपमा वर्ल्डकप हेर्न आएका थिए । उनी र म बस्ने होटल एउटै थियो भने रंगशालामा पनि हाम्रो सीट नजिकै थियो ।

पहिलो दिन नै भीभीआईपी बक्समा पेलेलाई देखेपछि मेरो मन रोमाञ्चित बन्यो । म सरासर उनीतिर गएँ र अभिवादन गरें । आफ्नो परिचय दिँदै भनें, ‘म गणेश थापा, नेपालको पूर्वफुटबल कप्तान र अहिले फुटबल संघको अध्यक्ष हुँ । फिफा डेलिगेट्सका रुपमा आएको छु । तपाईंको ठूलो फ्यान हुँ । के म तपाईंसँग एउटा तस्वीर लिन सक्छु ?’

पेले निकै सहजतापूर्वक मेरो अनुरोधलाई स्वीकारे । उनले हात मिलाउँदै आफूसँग बस्न आग्रह गरे । त्यसपछि मैले उनीसँग फोटो खिचें । यो मेरो जीवनकै एक अविस्मरणीय क्षण हो ।

त्यसपछिका दिनहरुमा पेलेसँग मेरो बारम्बार भेटघाट र हाई-हेल्लो भइरह्यो । उनी अरु प्रख्यात फुटबलरभन्दा निकै फरक स्वभावका थिए । मैले विश्वका थुप्रै नामी फुटबलरहरुलाई भेटेको छु । म्याराडोनासँग त सँगै बसेर फुटबल हेरेको छु । उनमा एकप्रकारको ‘एरोगेन्स’ थियो । तर, पेले विल्कुलै सरल र अनुशासित थिए । म संसारको सर्वोत्कृष्ट फुटबलर हुँ भन्ने घमण्डीपनको छनक कतै थिएन । यसले गर्दा उनीप्रति मेरो सम्मान निकै बढ्यो ।

मैले पछिल्लोपटक सन् २००२ र २००६ को वर्ल्डकपमा फिफाको अनुशासन समितिमा रहेर काम गरें । त्यस दौरान पनि पेलेसँग मेरो नियमित जस्तो भेट हुन्थ्यो । फिफाको कंग्रेसमा पनि भेट हुन्थ्यो । यसरी बारम्बार भेट्दा उनले मलाई चिन्न थाले । यद्यपि, मेरो नाम सम्झिन सकेनन् । उनी मलाई देख्नासाथ ‘हेल्लो नेपाल’ भनेर सम्मोधन गर्थे ।

मलाई एउटा सम्झना के छ भने एकपटक होटलको लविमा बस्दैगर्दा त्यसवेलाका सर्वाधिक प्रख्यात तीन फुटबलर ब्राजिलका पेले, पोर्चुगलका युसेबियो डा सिल्भा र ब्राजिलकै गारिन्चा एकसाथ गफिँदै गरेको मैले देखें । त्यसवेला गारिन्चा पनि पेलेजस्तै नाम चलेका थिए । पेले र गारिन्चाले सँगै खेलेको एउटा पनि म्याच ब्राजिलले हारेको छैन । पोर्चुगलका युसुफ पनि उस्तै प्रख्यात थिए ।

उनीहरु तीनजनालाई एकै ठाउँमा देख्नु पनि ठूलो कुरा थियो मेरो लागि । उनीहरुले बोलिरहेको भाषा त मैले बुझिनँ । तर, हाउभाउ र एक-अर्काप्रतिको आत्मीयता देखेरै मलाई बडो आनन्द मिल्यो । मैले त्यस क्षणको फोटो पनि खिचेको थिएँ ।

पेलेसँग मेरो त्यस्तो अन्तरंग कुराकानी भएन । भेटघाटहरु प्रायः छोटा नै हुन्थे । एकपटकको भेटमा चाहिँ मैले पेलेलाई नेपाल भ्रमणका लागि आग्रह गरेको थिएँ । उनले ‘ओके ओके, ह्वाई नट’ भन्दै अनुकूल मिले आउने बताए । तर, पेलेलाई नेपालमा ल्याउने सपना भने मेरो अधुरै रह्यो ।

लामो समयदेखि पेले र म्याराडोनामा को ठूलो हुन् भन्ने बहस चल्ने गरेको छ । अहिले अर्जेन्टिनाका लियोनल मेस्सीको पनि नाम थपिएको छ । म यसमा झूटो बोल्न चाहन्न कि म व्यक्तिगत रुपमा पेलेभन्दा म्याराडोना र मेस्सीको ठूलो फ्यान हुँ । म्याराडोना र मेस्सीमा को उत्कृष्ट भन्नेमा चाहिँ दोधारमै छु । तर, पेलेभन्दा उनीहरुलाई माथि राख्छु । म्याराडोना र मेस्सीप्रति व्यक्तिगत झुकाव अत्यधिक भएकाले पेलेप्रति अलिकति पूर्वाग्रही भएको पनि हुन सक्छु ।

पेले एउटा ‘आउटस्ट्यान्डिङ प्लेयर’ हुन् भन्नेमा कुनै शंका छैन । तर, उनको जमानामा फुटबल केही सहज थियो जस्तो लाग्छ । अहिलेको मोर्डन फुटबल निकै टफ छ । पेलेको पालामा खुलेर खेल्न स्पेस हुन्थ्यो । म्याराडोना र मेस्सीको खेल हेर्दा उनीहरु एकदमै साँघुरा घेराभित्र पनि बललाई नियन्त्रणमा राखेर गोलको अवसर सिर्जना गर्न सक्छन् । यही कौशलले गर्दा म उनीहरुप्रति फिदा भएको हुँ ।

त्यसो त म अरु देशको भन्दा आफ्नै देशको फुटबलमा रमाउने मान्छे हुँ । विश्वकपबाहेक अरु अन्तर्राष्ट्रिय फुटबल खासै हेर्दिनँ । तर, नेपालको फुटबल चाहिँ एकदमै घोरिएर हेर्छु । नेपालको जुनसुकै म्याच हेर्दा अत्यधिक दबाब र बेचैनी महसुस हुन्छ ।

यसपालि मलाई विश्वकपमा अर्जेन्टिनाको खेल हेर्दा त्यस्तै खालको महसुस भयो । मेस्सीका कारण यो विश्वकप मैले औधी लगावका साथ हेरें । अर्जेन्टिनाको पहिलो म्याच परिवारसँग बसेर हेरेको थिएँ । तर, अरु सबैजना रोनाल्डोको फ्यान, ममात्र मेस्सीको । साउदी अरबले अर्जेन्टिनालाई स्तब्ध बनाउँदा अरु सबैजना रमाएँ, म ममात्र दुःखी भएँ । त्यसपछिका म्याचहरु चाहिँ मैले एक्लै हेरें । अर्जेन्टिनाले गोल गर्दा स्वतः मेरो हातबाट ताली बज्थ्यो ।

फाइनल खेलको त के कुरा गर्नु । सोच्दै नसोचेको खेल भयो । फ्रान्सले अर्जेन्टिनालाई दबाबमा राख्ला भन्ने अनुमान गरेको थिएँ । तर, अर्जेन्टिनाले पूर्ण रूपमा खेललाई नियन्त्रणमा राख्यो । ल अब जित्यो भनेर ढुक्क हुँदै गर्दा खेलमा नसोचेको ट्वीस्ट आयो । अन्तिम मिनेटहरूमा त यति धेरै प्रेसर फिल भयो कि वर्णन गरेरै साध्य छैन । अतिरिक्त समयमा मेस्सीले गोल गर्दा एकदमै खुशी लाग्यो । तर, फेरि फ्रान्सले पेनाल्टी गोल गरेपछि भगवान भरोसाजस्तो भयो । जे होस्, ट्राइब्रेकरमा अर्जेन्टिनाले जित्यो र मेस्सीले विश्वकप उचाले ।

मेस्सी जत्तिको खेलाडीले जिन्दगीमा एकपटक विश्वकप जित्नैपर्छ भन्ने गढेको थियो मेरो मनमा । त्यसले गर्दा म यो विश्वकपमा बढी नै ‘सेन्सिटिभ’ भएँ । सायद अबको विश्वकपहरुमा यस्तो रोचकता नरहला कि ?

मेस्सी सर्वकालीन महान खेलाडीको सूचीमा उक्लिसकेका छन् । उनलाई पेले वा म्याराडोनाभन्दा तल राख्ने वा माथि भन्नेमा चाहिँ सबैका आ-आफ्ना दृष्टिकोण हुन सक्छन् । उनी अझै पनि मैदानमै छन् । अरु पनि थुप्रै रेकर्ड राखेर आफूलाई सर्वोत्कृष्ट सावित गर्ने विश्वास छ ।

अहिले चाहिँ पेलेको निधनले मलाई दुःखी बनाएको छ । उनले विश्व फुटबलमा जे योगदान दिए, त्यो सदैव अविस्मरणीय रहनेछ । उनीसँगका पलहरु मेरा निम्ति अति मूल्यवान छन् ।

(अखिल नेपाल फुटबल संघका भूतपूर्व अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टीमका भूतपूर्व कप्तान थापासँग गरिएको कुराकानीमा आधारित ।)

0Shares
Advertisment