देवघाट सु–स्वास्थ्य केन्द्रलाई अमेरिकाबाट १५ लाख रुपियाँ बराबरको औषधी सहयोग

0Shares

चितवन / चितवनको देवघाटधाममा निःशुल्क स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको देवघाट सु–स्वास्थ्य केन्द्रलाई अमेरिकाको युनिभर्सिटी अफ टेक्सास, अष्टिनमा कार्यरत फार्मासिष्ठ डा.सम्राट श्रेष्ठको पहलमा निःशुल्क औषधि उपलब्ध भएको छ । विभिन्न रोगको निदान गर्ने उद्देश्यले प्राप्त औषधिको मूल्य करिब १५ लाख रुपियाँ रहेको केन्द्रले जानकारी दिएको छ । ती सबै औषधिहरु अमेरिकाबाटै नेपालमा आएको हो । यी औषधीहरू देवघाटमा सो केन्द्रमार्फत उपचार गराइरहेकालाई निः शुल्क वितरण गरिनेछ । यस कार्यमा नेपालको भन्सार कार्यालय र स्वास्थ्य मन्त्रालयमार्फत औषधी स्वास्थ्य केन्द्रसम्म पुर्याउन नेपालमा सुधीर श्रेष्ठले समन्वय गरेका थिए ।
औषधि सहयोग गर्ने डा. सम्राट श्रेष्ठ नेपालमा जन्मिएर आफू ५ वर्षको हुँदा आफ्ना मातापितासँगै अमेरिका पुगेका थिए र सोही युनिभर्सिटीबाट फार्मेसीमा डक्टरेट डिग्री हासिल गरेका हुन् । हाल उनीँ अमेरिकी सरकारको भेट्रान मन्त्रालयमा वरिष्ठ फार्मासिष्ठका रूपमा कार्यरत छन् ।
नेपालमा औषधी निःशुल्क वितरणका लागि भएपनि भन्सार शुल्क बुझाउनुपर्ने लगायतका प्रशासनिक झमेलाले थप सहयोग गर्न कठिन भइरहेको दाताहरुले बताइरहेका छन् । यो समस्या निराकरणमा सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगबाट स्थापित यस केन्द्रलाई स्थानीय स्तरमा गुणनिधि खनाल मेमोरियल ट्रष्टले गर्दै आइरहेको छ । जहाँ आवश्यक परे इण्टरनेटको माध्यमबाट अमेरिकामा रहेका चिकित्सकहरुले समेत सेवा दिइरहेका छन् । स्वास्थ्य केन्द्रले सबै सेवाग्राहीको स्वास्थ्य विवरण विद्युतीय डाटा बनाएर रेकर्ड राखेको छ ।
यस मानवीय कार्यलाई थप निरन्तरता दिनका लागी आगामी वर्ष अमेरिकामा कार्यरत डाक्टर, नर्स र फार्मासिष्टको सहयोगमा देवघाट क्षेत्रमा वृहत् स्वास्थ्य शिविर राख्न लागिएको देवघाट सुस्वास्थ्य केन्द्रका सल्लाहकार हरिप्रसाद पोखरेलले जानकारी दिए ।

0Shares
Advertisment