अवसरको खोजीमा भारत पस्ने र लाहुरे बन्ने परम्परासँगै विदेशिन थालेको नेपाली समाज पछिल्लो समय प्रगति र उन्नतिका लागि अवसर खोज्दै विदेशिने क्रम ह्वात्तै बढेको छ। तर रहर र बाध्यताबीच विदेशिएको प्रवासी जीवन सोचेजस्तो सरल र खोजेजस्तो खास हुँदैन र छैन पनि।
प्रवासी जीवन घडीको सुइँसँगै दौडिन्छ। अर्लाम र घडीको सुइँसँगै चल्न नसक्दा धेरैले प्रवासलाई सरापेका छन्। विश्वका बलिया अर्थतन्त्र भएका मुलुक अमेरिका, अस्ट्रेलिया लगायतमा त झन् समयको महत्व बेग्लै हुन्छ।
आयआर्जनका लागि स्वप्नलोक मानिने अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीको जीवनशैली अपवादबाहेक घडीको सुइँभन्दा कम छैन।
स्रोतमा प्रचुरता र अलौकिक भूगोल अनि भौतिक विकासले अस्ट्रेलिया सबैको आँखाको तारो बन्दै गएको छ। यहाँ अहिले करिब दुई लाख नेपालीहरू बसोबास गर्दै आएका छन्।
विविध भौतिक सुख सुविधा भए पनि प्रवासमा सबैको जीवनशैली सोचेजस्तो सहज छैन। समुन्द्र किनारमा खिचेका सुन्दर तस्वीर अनि गगनचुम्बी भवनमुनि कलेजी ओठलाई फोटोसपले लुकाएर फेसबुकमा पोष्ट गरिएका तस्वीरले स्वदेशमा फूर्ति बढाए पनि मनैदेखि खुसी भएकाहरू आधाउधी मात्र होलान्।
विद्यार्थी भएर छिरेका प्रायः अस्ट्रेलियाजस्तो विकसित देशको यस्तो मायाजालमा फस्छन् कि, उनीहरू न निस्कन सक्छन् न त उम्कन नै। त्यसैले यता आएकाहरू प्राय:को लक्ष्य यतै घरजम गर्ने हुन्छ।
सुरूमा कठिन विद्यार्थी जीवनपछि आवासीय भिसाको चक्करमा उनीहरूको लामो समय गुज्रिसकेको हुन्छ। केही बचाएर केही गरौं भन्ने बेलामा कलेजको फि तिर्दै सकिन्छ। आवासीय भिसा पाउँदा उनीहरू घर, परिवार र किस्तामा फसिसकेका हुन्छन्।
स्वदेश फर्किऊँ भने, कसरी फर्कने, नफर्कौं मातृभूमिको न्यास्रो लाग्ने। यसै बीचको त्यान्द्रोले छोएपछि प्रवासको जीवन एनआरएनको नाममा टिकट काटिन्छ।
पैसा कमाएर स्वदेश फिर्छु भन्ने कयौं नेपाली यस्तै यस्तै चक्करमा रूमल्लिएर प्रवासी भएको कैयन् उदाहरण भेटिन्छन्। तर, प्रवासी जीवनमा रमाउने र धिकार्नेको संख्या उत्तिकै छ।
व्यक्तिगत र आर्थिक सुरक्षा, स्वास्थ्य सुविधा अनि काम गर्ने वातावरणले अधिकांश मानिस स्वदेश फर्कन डराउँछन्। नेपालमा बस्नेभन्दा प्रवासमा बस्नेलाई आफ्नो मुलुक बढी प्यारो हुन्छ। स्वदेशको डाँडाकाँडा, पाखापखेरा अनि संस्कार र संस्कृतिमा लालायीत उनीहरू नेपाल फर्कन भने हिच्किचाउँछन्।
मानिसहरू यहाँ एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन् जहाँ केही महिनाको पूर्णविरामले उठिबास नै लाग्नसक्छ, अस्ट्रेलिया बसाइको भोगाइ नै यस्तै छ।
उमेर र शरीरले यहाँको जीवनशैली जित्न सक्नुपर्छ अनि मात्र केही पैसा बन्छ। जुन दिन कामलाई जितिँदैन त्यो दिन हारेको सिपाहीझैं मुन्टो निहुराउनुबाहेक केही हुँदैन। हुनसक्छ, यी कुराहरू केही प्रतिशतमा लागू नहुनसक्छ। तर लगभग सबैको भोगाइ यहीँ हो प्रवासमा।
यहाँ नागरिकलाई सुविधा थुप्रै छन्। नगद तिरेर घर किन्न पर्दैन, किस्तामा सहजै पाइन्छ। घर, गाडी, फर्निचर अनि आवश्यक सबै वस्तु किस्तामा सहजै पाइन्छ। तर किस्तामा बितेको जीवनले स्वतन्त्रता गुमाउँदोरहेछ।
जीवन किस्तामा चलेपछि त्यही अनुरूप कमाउनुपर्यो, तिर्नुपर्यो, त्यसका लागि सोही अनुरूप काम गर्नुपर्यो। अनि जुरूक्क उठेर कहीँ जाऊँ, स्वदेश फर्किऊँ भन्ने सोचको अवसान त्यहीँ हुँदोरहेछ।
करिअरको खोजीमा विदेशिनु रहर नभएर बाध्यता भन्नेको कमी छैन। पेशागत दृष्टिले सफल भए पनि जीवनमा केही चिज खट्किएको यहाँका नेपाली स्वीर्काछन्।
अस्ट्रेलियामा करिअर र व्यावसायिक दक्षताका आधारमा सन्तुष्ट हुनेको संख्या कमै रहेको देखिन्छ। जसले अध्ययन र दक्षताका आधारमा जागिर पाएको छ, उनीहरू भने सन्तुष्ट र सबल देखिन्छन्।
पछिल्ला दिनमा व्यवसायमा फड्को मार्नेहरूको पनि संख्या बढेकै छ। नेपालीहरूले कलेजदेखि रियलस्टेट अनि अतिथि सत्कारसम्म आफ्नो पहुँच देखाइसकेका छन्। तर पढेकै विषयमा काम पाउन भने हम्मेहम्मे नै छ!