बैंकहरू सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न होडमा उत्रिन सक्ने

0Shares

काठमाडौं । यही असार अन्त्यमा वाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एशोसिएसनको बैठकले लामो समयदेखि लागू हुँदै आएको व्याजदरको भद्र सहमति तोड्ने निर्णय गरे । बैठकमा व्याजदर नबढाउने गरी आ-आफ्नै तरिकाले तोक्ने निर्णयका साथ गरिएको सहमतिविपरीत केहीले निकै अगाडि बढेर व्याजदर बढाए । अहिले तिनै व्याजदर बढाउने बैंकहरूले व्याजदर नबढाएको बैंकको निक्षेप खोसिरहेको आरोप बैंकहरूले लगाएका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफूहरूले व्याजदर नबढाएकै कारण एक महिनामा ८ अर्ब निक्षेप गुमाउनु परेको बताउँछन् ।

खालिङ भन्छन्, ‘व्याजदर धेरै नबढाउने गरी सहमति भएको थियो तर केही बैंकले बढाए । हामीले बढाएनौं । व्याजदर कम भएकै कारण एकै महिनामा ८ अर्ब निक्षेप गुम्यो । त्यो रकम ल्याउन लामो समय लागेको थियो तर एक महिनामै गुमायौ ।’

अहिले बैंकको डिपोजिट सेक्सनबाट व्याज कम भएकै कारण भएको निक्षेप अर्को बैंकमा गएको भन्दै व्याज कम हुने बैंकलाई प्रेसर दिन थालेको अर्का बैंकका सीईओ बताउँछन् ।

‘व्याजदर घटाउँन अर्थमन्त्रीदेखि लिएर मिडियासम्मले प्रेसर दिए । आफै विस्तारै व्याजदर घट्नेवाला थियो । एकचोटि भद्र सहमति तोडेपछि केही बैंकले अभद्र जस्तो व्यवहार गरे’, ती सिईओले भने, ‘एक पटक व्याजदर परिवर्तन गरेपछि त्यसलाई एक महिनासम्म चलाउन पाइँदैन तर त्यो बीचमा धेरै कुरा भइसक्छ , अब व्याजदर पनि जतिबेला मन लाग्यो चलाउन दिने व्यवस्था हुनुपर्छ ।’

कम व्याज भएका बैंकका सीईओहरूले पुरानै भद्र सहमतिअनुसार व्याजदर निर्धारण हुनुपर्ने आवाज उठाउन थालेका छन् । सहमति नबन्ने अवस्थामा आफूहरू पनि व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रनुपर्ने अवस्था आउने उनीहरू बताउँछन् ।

असार २८ गते बसेको बैंकर्स संघको बैठकले साउन १ देखि लागू हुनेगरी व्याजदर खुला छाड्ने निर्णय गरेपछि साउनमा ४ वाणिज्य बैंकले व्याजदर बढाएका थिए । अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकको मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत छ । एनएमबीका सीईओ सुनिल केसी बैंकर्स एसोसिएसनका अध्यक्षसमेत हुन् ।

यता प्राइम कमर्सियल बैंकको पनि १०.९३ प्रतिशत व्याजदर छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत छ । एभरेष्ट बैंकले पनि मुद्दतीमा १० प्रतिशत दिइरहेको छ ।
हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत छ । माछापुच्छ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि विकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशत माथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ ।

अब भदौ महिनाका लागि बैंकहरूले आज र भोलिमा बैठक बसेर आ-आफ्नै व्याजदर निर्धारणको तयारी गरिरहेका छन् । अहिले तरलता (लगानीयोग्य रकम) को खासै समस्या नभएपनि अब केही मुद्दती निक्षेप परिपक्क (म्याचुअर्ड) हुने अवस्थामा छन् । कम व्याजदर भएका बैंकहरूबाट उक्त निक्षेप बढी व्याजदर भएको बैंकमा नजाओस् भनेर व्याजदर बढाउने तयारी भएको केही बैंकर्स बताउँछन् ।

सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न होडमा फेरि पनि बैंकहरू उत्रने देखिन्छ । निक्षेपको व्याजदर बढ्ने वित्तिकै कर्जाको व्याजदरसमेत बढ्न जान्छ । बैंकहरूले निक्षेपकर्ताकै रकम ऋण लगानी गर्ने भएकोले निक्षेपको लागत बढ्ने बित्तिकै स्वाभाविक रूपमा ऋणीहरू मारमा पर्छन् । ऋणको व्याज बढी भएको भन्दै लगानी गर्न नसकेको बताइरअ
मन उद्योगीलाई बैंकहरूको व्याजदर बढाउने प्रतिस्पर्धाले झड्का लाग्ने देखिन्छ ।

0Shares
Advertisment