बाराका ३२ वर्षीय दिनेश पण्डित कसरी बने आचार्य श्रीनिवास ?

0Shares

काठमाडौं । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक अभिव्यक्ति दिए ।

हिंसा फैलाउन उक्साउने अभिव्यक्ति सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि नेपाल प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीस्थित आश्रमबाट पक्राउ गर्‍यो ।

जिल्ला प्रशासन कार्यालय, धनुषामा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको कसूरमा प्रहरीले अभियोग दर्ता गरायो । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई माफी मगाएर आइन्दा हिंसा भड्काउने अभिव्यक्ति नदिने सर्तमा ५ सय रुपैयाँ जरिवाना गराउँदै छाड्न आदेश दिएका छन् ।

सामाजिक सद्भाव विथोल्न खोज्ने समूहहरु सक्रिय रहेको विश्लेषण सुरक्षा संयन्त्रले गरिरहेका बेला भएको आचार्यको गिरफ्तारीपछि उनको पक्षमा समेत प्रदर्शन हुन थालेको थियो । हिन्दुवादी संघसंगठनले यही विषयलाई लिएर समेत आन्दोलन थप चर्काउने संकेत देखिएपछि प्रशासनले उनलाई कागज गराएर छाडेको अधिकृतहरु बताउँछन् ।

तर श्रीनिवासले हिंसा भड्काउने अभिव्यक्ति दिएको यो पहिलो पटक भने थिएन । सुनसरीको धरान–१५, श्यामचोकमा १० साउनमा चर्किएको आन्दोलनका बेला पनि श्रीनिवासले हिंसा भड्काउने खाल्को अभिव्यक्ति दिएका थिए ।

धरान–१४, सिंहदेवी चोक नजिकै बालगोपाल मन्दिर अगाडि चर्च बनाएको विषयमा भएको विवादमा उनले धरानका मेयर हर्कराज साम्पाङलाई गम्भीर आक्षेप लगाए । अरु साम्प्रदायका व्यक्तिलाई लाञ्छित गर्दै विवादास्पद अभिव्यक्ति दिए ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार, त्यसबेलादेखि नै श्रीनिवास प्रहरीको र्‍याडरमा थिए । राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बलले समेत उनको गतिविधिमाथि निगरानी गरिरहेको थियो ।

‘जब नेपालगञ्जमा पनि धार्मिक विवाद चर्कियो, त्यसपछि यस्ता उत्तेजक गतिविधिमा संलग्नलाई कानूनी दायरामा नल्याए स्थिति झन् जटिल बन्दै जान्छ भन्ने निष्कर्ष रह्यो’, उच्च सरकारी स्रोत भन्छ ।

बुधबार मात्र मधेश प्रदेशको प्रादेशिक सुरक्षा समीक्षा गोष्ठीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि देशमा धार्मिक द्वन्द्व चर्काउने प्रयास भइरहेको संकेत देखा पर्न थालेको विश्लेषण सुनाएका थिए ।

यही निष्कर्षसहित सरकारले सुरक्षा संयन्त्रलाई सामाजिक सद्भाव भड्काउन खोज्नेलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको थियो । त्यसपछि पक्राउ परेका श्रीनिवास तत्काललाई छुटेपनि अझै सुरक्षा संयन्त्रको निगरानीमै रहने सरकारी स्रोतले बतायो ।

धार्मिक अतिवादका पर्याय

नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले हालै सरकारलाई बुझाएको छुट्टाछुट्टै प्रतिवेदनमा मुलुकमा धार्मिक, सामाजिक, सांस्कृतिक र जातीय मुद्दा उठाएर १४ वटा संगठनले गतिविधि गरिरहेको औंल्याइएको छ ।

त्यसमा जोडिएका मुख्य नेतृत्वकर्ताहरुको विवरण पनि उल्लेख छ, जसमा श्रीनिवासलाई धर्मका नाममा विवादास्पद अभिव्यक्ति दिएर अस्तित्व देखाउन खोज्ने व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ ।

‘यस्ता कार्यहरुका पछाडि विभिन्न अतिवादी समूहहरुको साथ सहयोग पनि देखिन्छ’, सुरक्षा संयन्त्रको विश्लेषण छ, ‘नेपालमा धार्मिक र जातीय द्वन्द्वको सुरुवात गरी समाजलाई विभाजित गर्न विभिन्न व्यक्ति परिचालित हुन थालेका छन्, त्यो खतरनाक विषय हो ।’

चार वटै सुरक्षा संयन्त्र रहने राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारी पनि श्रीनिवासको पछिल्लो १० वर्षका गतिविधि हेर्ने हो भने त्यसले उनको असली चरित्र देखाउने विश्लेषण सुनाउँछन् ।

‘धार्मिक अवतार लिँदाको पृष्ठभूमि र विगत १० वर्षदेखिको उनको गतिविधि हेर्ने हो भने उनी धर्मगुरु कम, धार्मिक अतिवादी ज्यादा भएजस्तो देखिन्छन्’, उनको विश्लेषण छ, ‘किनभने, कुनै पनि धर्मले हिंसा मच्चाउ भन्दैन, एकअर्कालाई मार्न लगाउ भन्दैन ।’

हुन पनि श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ ।

त्यो बेला उनले आफैंलाई गोली हान्न लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, मोरङमा त्यसबेला खटिएका एक अधिकृतका अनुसार, त्यसदिन आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किएका थिए । त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएका थिए ।

घटनापछि अनिता ढकालले जिल्ला प्रहरी कार्यालय, मोरङमा दिएको जाहेरीमा भने अपरित व्यक्तिले अपशब्द बोल्दै गोली प्रहार गरेको उल्लेख थियो । ‘बचाउबचाउ भनेको सुनेकाले त्यहाँ पुग्दा अज्ञात व्यक्ति भागेर बाहिर गएर मोटरसाइकलमा भागेका थिए’, जाहेरीमा भनिएको छ, ‘त्यहाँ मंगोल नेश्नल अर्गनाइजेसन नामको पर्चा समेत भेटिएको थियो ।’ पर्चामा इसाई धर्मबाहेक अरुलाई समाप्त पार्ने उल्लेख रहेको समेत जाहेरीमा भनिएको थियो ।

तर जिल्ला प्रहरी कार्यालयसँगै क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) ले गरेको अनुसन्धानका क्रममा श्रीनिवासले आफैंलाई गोली हान्न लगाएको खुलासा भयो । रिटले जब घटनामा संलग्न माधव चौधरीलाई पक्राउ गर्‍यो, त्यसपछि यस प्रकरणमा श्रीनिवास स्वयम् संलग्न रहेको खुलेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

लागूऔषध मुद्दामा ६ वर्ष जेल बसेर निस्किएका चौधरी छुटेर नवलपरासीको गैंडाकोटमा रहेको परिवर्तन नेपाल नामक सुधार गृहमा राखिएका थिए । त्यहीँ उनको धर्मगुरु श्रीनिवासका सहयोगी लक्ष्मीराज अधिकारीसँग चिनजान भएको थियो । अधिकारी पूर्वराजा निकट व्यक्ति हुन् ।

२०७४ सालको फागुनमा नवलपरासीमा कुम्भ मेलामा लाग्दा चौधरी पनि गएका थिए, जहाँ अधिकारीले आचार्य श्रीनिवाससँग उनको परिचय गराएका थिए ।

‘पछि नारायणघाटको पुल्चोकस्थित ब्रिज क्याफेको छेउमा रहेको क्याफेमा भेट भएर गफ हुँदा उनले मलाई के काम गर्छौं भन्दै सोधका थिए’, अभियोग पत्रमा समावेश उनको बयानमा भनिएको छ, ‘मैले खासै काम छैन भन्दा उनले मलाई एक जना मानिसलाई गोली हान्ने काम छ, गर्छौं भन्दै सोधेका थिए ।’

सुरुमा आफूले नमानेको, तर ‘हिन्दु धर्म मासिन लाग्यो, हामीले धर्म बचायौं भने मात्र बाँचेको अस्तित्व रहन्छ’ भन्दै आफूलाई फकाएको उनले बताएका छन् ।

श्रीनिवासको फोटो समेत देखाएर उनलाई गोली हान्नुपर्ने भनेको चौधरीले खुलाएका छन् । ‘उसको हातमा छुवाएर हान्ने मात्र हो, टेन्सन लिनुपर्दैन भनेपछि मैले देश र धर्मका लागि हो भने गर्छु भनेको थिएँ’, उनले भनेका छन्, ‘त्यसपछि मलाई अधिकारीले फोन गरेर एक जनालाई भेट्न भनेका थिए, उनले ६० हजार दिएर वीरगञ्ज हुँदै रक्सौल गएर हतियार लिएर आउनुस् भनेको थियो ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, हतियार कारोबारीसँग सम्पर्क भएको कल डिटेल रेकर्ड (सीडीआर) मा देखिएको थियो । तर अनुसन्धानका क्रममा उनले हतियार नदिएको पाइयो । बरु लक्ष्मी अधिकारीले नै कटुवा पेस्तोल व्यवस्थापन गरेको भेटियो ।

प्रहरीका अनुसार श्रीनिवासले चितवनमै आफूले आफैंलाई गोली हान्ने योजना बनाएका थिए । पूर्वराजासँग निकट अधिकारीले पनि बयानमा २०७१ सालमा चितवनको नारायणघाटमा ९ दिने प्रवचनका लागि श्रीनिवास आउँदा आफूलाई उनले ‘जति आन्दोलन गरेपनि केही हुनेवाला छैन, अन्य कुनै उपाय निकाल्नुपर्छ’ भनेको बताएका छन् ।

‘गुरुले म आफैंले आफुलाई गोली हान्छु र सो काम अन्य अज्ञात मानिसहरुले गरेको हो भन्ने बताएपछि सबै जनता र गुरुहरु पनि एकजुट हुन्छन्, हिन्दुराष्ट्रका लागि हामीलाई सहयोग गर्छन् भन्नुभएको थियो’, अधिकारीको बयान छ, ‘हतियार चाहियो भने तिमीले उपलब्ध गराउनुपर्छ भन्नुभएको थियो । त्यतिबेला मैले एउटा पुरानो पेस्तोलको दुई वटा गोली समेत छ, काम हुने बेला ल्याउँला भनेको थिए ।’

चितवनमा गोली हान्ने प्रयास सफल नभएपछि आफूलाई इटहरी जान भनिएको चौधरीले स्वीकारेका छन् । ‘घटना भएको दिन राति मलाई गुरुले कोठामा बोलाएर देश र धर्मका लागि हो, टेन्सन लिनुपर्दैन । तिमीलाई केही भयो भने म छु भन्नुभएको थियो’, उनले भनेका छन्, ‘गुरुले ५ सय रुपैयाँ दिएर पेस्तोल चलाउँदा पञ्जा लगाउनु पर्छ, नभए हातको डाम आउँछ भन्दै किन्न पनि लगाउनु भएको थियो ।’

गोली चलाउन समेत गुरुले नै सिकाएको उनले बताएका छन् । ‘सुत्नुअघि उहाँले नै उपयुक्त हुने ठाउँको एकिन गरेर मलाई ट्वालेटको छेउ ठिक होला भन्नुभएको थियो’, उनले भनेका छन्, ‘त्यसपछि उहाँको निर्देशन बमोजिम इटहरीमा किनेको पञ्जा लगाएर पेस्तोलले प्रहार गरेँ ।’ घटनापछि आफूलाई भित्र जान समेत श्रीनिवास स्वयम्ले भनेको चौधरीले खुलाएका थिए ।

यो बयानपछि २४ वैशाख २०७५ मा श्रीनिवास पक्राउ परे । प्रहरीसँग बयान दिँदै श्रीनिवास स्वयम्ले पनि राष्ट्रवाद र हिन्दु धर्मका लागि आफूले आफैंलाई गोली हान्न लगाएको स्वीकारेका थिए । हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा उनी केही समय जेल पनि बसेका थिए ।

पूर्वराजादेखि योगी आदित्यनाथसँग सम्बन्ध

यसरी धार्मिक हिंसा भड्काउने किसिमको गतिविधिमा संलग्न आचार्य श्रीनिवासको सम्बन्ध पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार, आफैंले आफूलाई गोली हान्न लगाएको घटनाको एक महिना अघि पनि उनले पूर्वराजा शाहलाई भेटेका थिए ।

‘केही वर्षअघि पूर्वराजालाई आश्रममै भेट्नुभएको हो, साधुको देशमा राष्ट्रपति वा राजासँग भेट्नु के ठूलो कुरा भयो र !’, श्रीनिवाससँगै कुनै बेला अभियानमा जोडिएका पण्डित नारायण अर्याल भन्छन्, ‘उहाँ लगभग २०६५ सालदेखि नै हिन्दु राष्ट्र र धर्म परिवर्तनविरुद्ध आन्दोलन गर्दै आउनु भएको छ ।’

उमेरले अहिले ३२ वर्ष मात्रै पुगेका उनी २०६८ सालदेखि सुनसरीको चक्रघट्टीमा बस्दै आएका छन् । श्रीनिवासका अनुयायी एवं राप्रपा कार्यकर्ता इटहरीका रामु पोखरेल युवा उमेरका श्रीनिवासको मन्त्रमुग्ध बनाउने खाल्को पुराण वाचन शैलीका कारण धेरै प्रभावित छन् ।

‘त्यही भएर सुनसरीमा स्थानीयले आश्रम बनाउन सहयोग गर्नुभयो, ७ वर्षयता त्यहीँ बस्दै आउनु भएको छ’, उनी भन्छन्, ‘युवा जोश, जाँगर भएका व्यक्तित्व देशमा हिन्दुराष्ट्र हुनुपर्छ भनेर आउनु स्वभाविक हो ।’

स्रोतका अनुसार, उनी हिन्दुराष्ट्र कायम गर्नका लागि भन्दै भएका विभिन्न अभियानमा सहभागी हुँदै पूर्वराजा शाह निकट हुन पुगेका थिए । काठमाडौंको शान्तिवाटिका र टुँडिखेलमा उनी झण्डै एक वर्ष हिन्दुराष्ट्र कायम गर्न माग गर्दै अनशन बसेको उनका सहकर्मी अर्याल बताउँछन् । पछि उनले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग समेत सम्बन्ध विस्तार गरेका थिए ।

अर्यालका अनुसार, श्रीनिवासको स्थायी घर बाराको जितपुरसिमरा उपमहानगर–२ हो । उनको जन्म भनेको नुवाकोटस्थित मामाघरमा २०४८ साल भदौमा भएको अर्याल बताउँछन् ।

उनले कक्षा ५ सम्म सिमरास्थित एक निजी विद्यालयमा अध्ययन गरेका थिए भने त्यसपछि सामुदायिक विद्यालय भर्ना भएर एसएलसी उत्तीर्ण गरेका थिए । कक्षा ११ भर्ना भएर उनले पढाइ छाडेका थिए भने धार्मिक अभियानमा जोडिएका थिए । भागेर सर्लाहीका एक पण्डितको घरमा गएर पूजापाठ गर्न सिकेको उनी निकटस्थहरु बताउँछन् ।

पछि १६ वर्षको उमेरबाटै श्रीमद्भागवत पुराण वाचन गर्न थालेर उनको धार्मिक रुपान्तरण सुरु भएको थियो । अर्यालले बताएअनुसार, यससम्बन्धी दिनेशले औपचारिक अध्ययन भने गरेका थिएनन् ।

पछि नेपाल वेदविद्याश्रम, वनकालीमा गएर उनले छोटो समय संस्कृत अध्ययन गरेको अर्याल बताउँछन् । त्यसपछि काठमाडौंमै रहेर धार्मिक अभियानमा लागि रहेका बेला बाराका शंकर पण्डित ‘आचार्य श्रीनिवास’का रुपमा रुपान्तरित भए ।

राज्यले उनको गतिविधिलाई हिंसा फैलाउने भने पनि आफूहरुलाई त्यस्तो नलाग्ने पण्डित अर्याल सुनाउँछन् । ‘राज्य वा व्यक्तिले जे सोचेपनि धर्म र राष्ट्रप्रति गलत भइरहेको सहेर बस्नु भनेको कायरता हो भन्ने उहाँको स्वभाव हो’, अर्याल दाबी गर्छन्, ‘म उहाँले भन्ने कुरामा कुनै गल्ती देख्दिनँ ।’

गृह मन्त्रालय भने सामाजिक र धार्मिक सद्भाव भड्काउने गतिविधिमा संलग्न जोकोही कानूनी दायरामा आउने बताउँछ ।

‘धार्मिक, जातीय र सांस्कृति द्वेष फैलाउने, एकअर्कामा घृणा फैलाउने जस्ता गतिविधिमा संलग्न जोसुकै भएपनि तत्काल कारबाही गर्न मन्त्रालयको स्पष्ट निर्देशन छ’, मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर उत्तेजित बनाउने अभिव्यक्ति दिने जुनसकै घटना जोसुकैबाट भएपनि प्रशासन कडाइपूर्वक जान्छ ।’

Source:Onlinekhabar

0Shares
Advertisment