भारतबाट ल्याइएका मुर्रा राँगा पोखरा आइपुगे, फूलमालाले स्वागत

18Shares

पोखरा ।  भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पठाइएको हो ।

पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा फूलमालाले स्वागत गरिएको छ ।

सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै वीर्य सङ्कलनमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले बताए ।  उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य सङ्कलन हुन्छ । १ वर्षमा १५ देखि २० हजार डोज सङ्कलन हुने पाण्डेको भनाई छ ।

‘यो निकै नै उन्नत जातको राँगो हो । नेपालमा अहिले भइरहेका भन्दा निकै उन्नत,’ उनले भने, ‘नेपालमा भएका मुर्राबाट क्रस गराउँदा जन्मिने भैँसीले एक बेतमा एभरेज १५ सय केजी दूध उत्पादन हुन्छ । यो राँगाबाट क्रस गराउँदा ३ हजार केजी भन्दा बढी दूध उत्पादन दिन्छ ।’

नश्ल सुधारमा कार्यालयले उल्लेख्य काम गरेको छ । हाल बर्सेनि ७ लाख पशु वस्तुमा कृत्रिम गर्भाधान यही फार्मबाट सङ्कलन गरिएको वीर्यबाट हुन्छ । कृत्रिम गर्भाधान गराइएका पशु वस्तुको गर्भ रहने सम्भावना ६० प्रतिशत भन्दा बढी हुन्छ । यहाँ सङ्कलन गरिएका वीर्य देशैभर सप्लाई हुन्छ ।

पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ । प्राप्त भएका १५ राँगा मध्ये ७ वटा पोखरा आएको छ भने ५ वटा लहान र ३ वटा नेपालगन्जमा राखिएको छ ।

‘केही समय क्वारेन्टिनमा राख्छौँ । त्यो हावापानीमा जस्तो दाना र घाँसपात खाएका थिए, त्यो टिपेर ल्याएका छौँ । हामी सोही अनुसार खानपान मिलाउँछौँ,’ उनले भने, ‘बुल म्यानेजमेण्ट प्रोटोकल अनुसार व्यवस्थापन गर्छौं । विगतमा विदेशबाट आएका र स्वदेशमै हुर्किएका राँगोसाँढे व्यवस्थापन गर्न प्राविधिक र कर्मचारीको पर्याप्तता छ । हामी व्यवस्थापन गर्न सक्षम छौँ ।’

18Shares
Advertisment