प्रेस चौतारीको बैठकमा महासचिव लामाद्वारा १० बुँदे संकल्प प्रस्ताव प्रस्तुत

0Shares

काठमाडौं । मंलबार बिहानबाट दार्चुलाको सदरमुकाम खलङ्गामा सुरु भएको प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय समिति बैठकमा महासचिव हीरामान लामाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

बैठकमा महासचिव लामाले १० बुँदे संकल्प छलफलका लागि प्रस्तुत गर्नुभएको छ । जसमा प्रेस चौतारी नेपाललाई सञ्चार क्षेत्रका नेता संगठनको रूपमा स्थापित गर्ने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न चौतारीका सबै सदस्य लामबद्ध संकल्प गरिएको छ ।

त्यस्तै मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको आलोकमा समाजवादको आधार निर्माणका लागि सञ्चार क्षेत्रबाट भूमिका निर्वाह गर्ने, व्यवसायीक दक्षता र विचारमा स्पष्टता चौतारीका सदस्यहरूको पहिचान बनाउने, श्रमजीवी पत्रकारहरूको भरोसाको थलोका रूपमा चौतारीलाई स्थापित गर्ने, जनसंगठनहरू मध्ये पहिलो संगठनका रूपमा स्थापित संकल्प गरिएको छ ।

यसै गरी नेपाल पत्रकार महासंघमा चौतारीको नेतृत्व स्थापित गर्ने, सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता स्थापित गर्ने, दिगो विकासका लक्ष्यहरू प्राप्तिमा सारथि बन्ने र  प्रेस चौतारीलाई सूचना बैंकका रूपमा स्थापित गर्ने संकल्प प्रस्ताव गरिएको छ ।

संगठन निर्माणका सन्दर्भमा पनि महासचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न प्रस्ताव गरिएको छ । संगठन सुदृढीकरण, शुद्धीकरण र संगठनप्रति आकर्षण अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यसै गरी संगठनभित्रका समस्या पहिचान गर्ने, सबै प्रदेश र जिल्ला समितिको बैठकसहित प्रशिक्षणलाई निरन्तरता दिने, प्रदेश स्तरीय संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने, श्रमजीवीसँग प्रेस चौतारी अभियान सञ्चालन गर्ने, जिल्ला अध्यक्ष र सचिवहरूको प्रादेशिक भेला गर्ने, राजधानीभित्र रहेका अग्रज र अन्य संगठनका श्रमजीवी पत्रकारहरूबिच संवाद तथा विवरण संकलन गर्ने प्रस्ताव संगठन निर्माणका सन्दर्भमा गरिएको छ ।

त्यस्तै चौतारी मिडिया अवार्ड गर्ने, राष्ट्रिय भेला गर्ने, आसन्न नेपाल पत्रकार महासंघको चुनाव लक्षित योजना निर्माण गर्ने, श्रमजीवीको पेसागत सुरक्षाका निम्ति अभियान सञ्चालन गर्ने, एमाले सरकारको पालामा भएका उपलब्धि जनतालाई बुझाउने, संगठनको लोगो सहितको व्याज बनाउने, नेतृत्वमा प्रेस चौतारीका नेतालाई स्थापित गराउने प्रस्ताव पनि संगठन निर्माणको लागि गरिएको छ ।

यसै गरी पालिका स्तरमा कमिटी विस्तार गर्ने, जनसंगठनहरुसँग अन्तर्संवाद गर्ने, कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने, संगठनका सदस्य, समर्थक र शुभचिन्तकको समूह निर्माण गर्ने प्रस्ताव पनि संगठनको तर्फबाट अघि सारिएको छ ।

पेसागत पत्रकार निर्माण र वैचारिक योजनाका लागि पत्रकार महासंघ केन्द्रित देशभरका श्रमजीवी पत्रकारहरूबिच संवाद तथा विवरण संकलन गर्ने । प्रेस चौतारी नेपाल र पार्टी संगठनबीच अन्तरसम्बन्ध सुमधुर बनाउन सबै प्रदेश र जिल्ला तहमा बैठक गर्ने, पत्रकार महासंघ केन्द्रित काठमाडौं लगायत उपत्यकाका नयाँ पिँढी पत्रकार निर्माणका लागि देशभरि आधारभूत पत्रकारिता प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने तथा मार्क्सवादी शिविर सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ ।

प्रेस चौतारी नेपाललाई न्युज बैंकको रूपमा विकास गर्ने, पार्टी र संगठनको हितमा बोलौँ र लेखौँ अभियान सञ्चालन गर्ने प्रस्ताव पनि महासचिवको प्रतिवेदनका उल्लेख छ ।

गएको सात दशक यता नेपाल पत्रकार महासंघले अभ्यास गर्दै आएको मूल्य मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावली विपरीत वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठ्ने गरी कदम चालेको भन्दै प्रतिवेदनमा आपत्ति प्रकट गरिएको छ । नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै नेपाल पत्रकार महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरूको साझा र गौरवमय संगठनको रूपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको पनि स्पष्ट पारिएको छ ।

महासंघलाई सबैको साझा संस्था बनाउने हेतुले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नै सो विषय उठान गर्नुभएको प्रतिवेदनमा स्मरण गराइएको छ ।

शुद्धीकरण मापदण्ड अनुसार सदस्यता प्राप्ति र नवीकरणबाट वञ्चित क्रियाशील पत्रकारहरूलाई सूचीमा समावेश गर्न र मापदण्डमा नपरी राजनीतिक आस्थाका आधारमा राखिएका पत्रकारलाई हटाउन प्रेस चौतारी नेपालले दबाब सिर्जना गरिरहेको र गरिरहने प्रतिवेदनमा उल्लेख छ ।  प्रेस चौतारी नेपाल पत्रकार महासंघको गरिमा रक्षा, गौरवमय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरूको हित रक्षाका लागि निरन्तर लागि रहने प्रष्ट पारिएको छ ।

संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सुरु भएको बैठक भोलिसम्म चल्ने छ । खलङ्गा घोषणापत्र जारी गर्दै भोलि बिहान ११ बजे बैठक समापन गर्ने कार्यतालिका रहेको छ ।

भोलि बैठक सम्पन्न गरेपछि चौतारीको सिङ्गो केन्द्रीय समिति  एमालेले सञ्चालन गर्न लागेको ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा उद्घाटन कार्यक्रममा सहभागी हुन बैतडी प्रस्थान गर्ने छ । प्रेस चौतारी नेपालले सो अभियानको प्रचारलाई प्रभावकारी बनाउन पनि अभियान उद्घाटनको पूर्व सन्ध्यामा सुदूरपश्चिममा बैठक राखे राखिएको संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

0Shares
Advertisment